राधाकृष्ण देउजा
०४६ सालमा पुनर्स्थापित भएको बहुदलीय प्रजातन्त्र अनि ०५९ असोज १८ हुँदै ०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले त्यसको अपहरण गरे पश्चात ०६२/६३ सालमा भएको आन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्र नेपालमा अधिकांश समय सत्तामा रहेका दलहरूका कतिपय नेताहरूबाट निरन्तर हुँदै आएको अनैतिक, भ्रष्ट र पक्षपातपूर्ण कामहरूले गर्दा आम जनतामा असन्तुष्टि बढदै गएर त्यसले २०८२ सम्म आइपुग्दा आक्रोशको रुप धारण गरेको सत्यलाई इन्कार कोहि कसैले गर्नै सक्दैन, गर्न नै मिल्दैन र गर्न नै हुदैन।
दलीय नेताहरूलाई सच्चिन सुध्रिन अनेकन मौका दिंदा पनि नेताहरू सच्चिने छाँट नदेखेका जनताहरू व्यवस्थाको त हैन नेताहरूको विकल्प खोज्न व्यग्र थिए। यही नै सत्य हो र त्यही सत्यकै जगमा हो भाद्र २३ गते जेनजी पुस्ताका नव युवाहरूले भ्रष्टचार नियन्त्रण गर्दै सुशासन स्थापनाको माग राख्दै आयोजना गरेको प्रदर्शन प्रति आम मानिसहरूको साथ समर्थन र ऐक्यवद्धता थियो।
त्यो जति सत्य थियो त्यत्तिकै सत्य अर्को पनि थियो। त्यो के भने दलीय नेताहरूको कमजोरी र त्यसले जनतामा सृजना गरेको असन्तुष्टिको जगमा रहेर नेपालमा केहि हुँदै भएन भन्दै चरम नकारात्मकताको भावना फैल्याउने काममा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू निरन्तर लागेकै थिए। उनीहरूको नियोजित र निरन्तरको प्रयासमा कहिले राजावादी उर्लने त कहिले अरु कोहि अनेकन नाममा कुर्लने क्रम चलिआएकै थियो।
ठिक त्यसै बेला असल कुशल युवाहरूले सफा मनले देशमा व्याप्त भ्रष्टचार नियन्त्रण गर्दै सुशासन स्थापनाको माग राखेर भाद्र २३ गते शान्तिपूर्ण प्रदर्शनको आयोजना गरे तब तत्कालिन सरकारको असावधानी, आन्दोलनमा भएको योजनावद्ध घुसपैठ र फिल्डमा सुरक्षा संयन्त्रले गुमाएको संयमताले भाद्र २३ मा अनपेक्षित रुपमा एउटा हृदयविदारक दुःखद् घटना हुन पुग्यो।
भाद्र २३ गते भएको त्यही घटनाको जगमा टेकेर नेपाली अनुहारकै केहि आतंककारीहरूले भाद्र २४ गते जे जस्तो विडम्वनापूर्ण काम गरे त्यसले नेपालको इतिहासमा कालो धब्बा मात्रै लगाएको नभइ नेपाललाई आगामी कैयौं वर्षसम्म पुनर्निर्माणमै व्यस्त रहन वाध्य पार्दै यसको उन्नती प्रगतिको गतिमा ब्रेक लगाई दिएको छ।
त्यही भाद्र २३ मा युवाहरूले गरेको प्रदर्शन, त्यसमा भएको घुसपैठ र त्यसले निम्त्याएको कोहोराम अनि भाद्र २४ गते भएको आतंककारी हमला पश्चात सृजित अन्योल र अनिश्चिताको निकास स्वरुप यही फाल्गुन २१ मा गर्न खोजिएको चुनाव नजिकिएको यो अवस्थामा भाद्र २३ र २४ गतेको यथार्थ विश्लेषण नगर्ने हो र त्यसमा दण्डित हुनुपर्नेलाई दण्डित गर्नुको अलावा पुरष्कृत गरिने हो भने चुनावपछि नेपाल झन ठुलो समस्यामा पर्ने निश्चित छ। त्यसैले भाद्र २३ र भाद्र २४ र त्यसपछिका केही दिनहरूलाई सुक्ष्म रुपमा बुझ्नु नै पर्ने हुन्छ।
त्यसको लागि पहिला भाद्र २३ लाई ठिक ढंगले बुझ्ने कोशिस गरौँ। माथि नै उल्लेख गरिए झैँ त्यस दिन युवाहरूले राखेको मागप्रति सिंगो देशको साथ र समर्थन थियो। प्रदर्शनमा सहभागी भएका मानिसहरू त थोरै थिए होलान तर सिंगो नेपालको भावना उनीहरूसंग थियो। झन त्यस दिनको प्रदर्शनको सुरुवात गर्दै जेनजी अगुवा रक्षा बमले प्रदर्शनमा सहभागीहरूले के गर्ने के नगर्ने भनेर जसरी उत्कृष्ट शान्तिपूर्ण प्रदर्शनको मार्गचित्र प्रस्तुत गरेकी थिइन् त्यसले सुनमा सुगन्ध थपेको थियो। शान्तिपूर्ण प्रदर्शन गर्ने ती युवा-युवतीहरूको घोषणालाई आम जनताले मात्रै हैन तत्कालिन सरकार र सुरक्षा निकायले पनि ढुक्कले पत्याएको थिए। हो त्यहीं त्रुटी भएको थियो।
त्रुटी युवा युवतीले शान्तिपूर्ण प्रदर्शन गर्छु भनेको पत्याएर भएको थिएन तर, त्यस शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्दै अपराधिक तत्व र अराजकतावादीहरूले दुर्घटना निम्त्याउन सक्ने सम्भावनातर्फ ध्यान नदिएर त्रुटी भएको थियो। जेनजी आन्दोलनकी अगुवा रक्षा बमले पत्रकार सुधीर शर्मालाई दिएको अन्तर्वार्तामै त्यस दिन सडकमा प्रदर्शनकारीको अनुपातमा सुरक्षाकर्मीहरू न्यून देखेर आफू अचम्मित रहँदै बानेश्वर पुगेको भनेर भनेकी छन्।
हो त्यस दिन जेनजी युवाहरूको प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्ने ज्यादा भरोसा गर्दै सुरक्षा निकायले जसरी आफ्नो उपस्थिती न्यून बनाएका थिए त्यसलाई अपराधी, अराजकतावादी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिलाई आफ्नो योजना सार्थक पार्ने मौकाको रुपमा लिए।
त्यसपछि शान्तिपूर्ण प्रदर्शनमा उत्रेका केटा-केटीहरूको भिडमा अनेकन अपराधीहरू छिरेर जब संसद भवनमा आक्रमण गर्न खोजे तब प्रदर्शन आयोजकले आफू पनि फर्कने र सहभागीलाई पनि फर्काउने काम गर्दै गर्दा अवस्थालाई भडकाउने र भिडन्त निम्त्याउने कामहरू गरिएका थिए भन्ने प्रमाणित गर्नको निम्ति अहिले सर्वत्र उपलब्ध भिडियोहरू नै काफी छन्। जब अवस्था भड्कियो तब अनपेक्षित परिस्थितिले स्थानीयस्तरमा रहेको सुरक्षा निकायलाई संयमता गुमाउन बाध्य पर्यो जसको परिणामस्वरूप ठुलो संख्यामा युवायुवतीको हताहती हुने स्थिती बन्यो। त्यो नियोजित नभइ भवितव्य थियो
अहिले आएर जसले जसलाई दोष लगाए पनि सत्य के हो भने भाद्र २३ गते जे जसरी युवा युवतीहरूको मृत्यु हुने स्थिति बन्यो त्यो तत्कालिन सरकार र जेनजी समूह दुवैको लागि अप्रत्याशित थियो। थाहा छैन किन आज जेनजी अगुवाहरू आन्दोलनमा घुसपैठ भइसकेपछि मात्रै प्रहरीले गोली चलाएको तथ्य उल्लेख नगरिकन सरकारले योजना बनाएर शान्तिपूर्ण जुलुसमा गोली हानेको जस्तो दाबी गर्दै हुनुहुन्छ? तर सत्य फेरि पनि के हो भने वहाँहरूले आफू पनि फकने र अरुलाई पनि फर्कन अनुरोध गर्दै वक्तव्य निकाल्नु पर्ने तहमा घुसपैठ भइसकेपछि गोली चलेको हो।
हो, त्यस दिन जीवन गुमाउने तमाम युवायुवतीहरूको मृत्यु दुःखद् थियो, वहाँहरूको बलिदान देशमा भ्रष्टचार नियन्त्रणका लागि भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आउँदा नै भएकोले वहाँहरू शहिद हुनुहुन्छ र वहाँहरूलाई सदैव सम्मानसहित सम्झना गरिनुपर्छ। त्यसो गर्दै गर्दा वहाँहरूको सम्मान कै खातिर पनि हामीले वहाँहरूको मृत्यु राज्यको योजनाले नभइ राज्य संयन्त्रको असावधानीले भएको सत्य भुल्नु हुदैन।
त्यसो हुँदा भाद्र २३ गते भएको हत्याको लागि तत्कालिन राज्य संचालकहरू नैतिक रुपमा जरुर जिम्मेवार हुन तर उनीहरूले योजना बनाएर त्यसो नगरेको हुँदा त्यसको लागि कानुनी दण्डको भागेदार चाहीं उनीहरू हैनन् बरु शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्दै अराजकता मच्चाउँदै रक्तपातको अवस्था बनाउनेहरू हत्याकाण्डका अभियुक्त हुन्।
भाद्र २३ गते मध्यदिनसम्म शान्तिपूर्ण रहेको प्रदर्शनमा घुसपैठ गर्दै अराजकता मच्चाएर कोहोराम गर्ने तिनै अभियुक्तहरूको योजना र सहभागितामा भाद्र २४ गतेको आतंककारी हमला भएको हो। यदी भाद्र २३ गते आन्दोलनकारीहरू अलिक चनाखो र सरकार अलिक ज्यादा गम्भीर हुन सकेको भए न युवा युवतीको ज्यान जान्थ्यो न त भाद्र २४ को आतंककारी हमलाको निम्ति बहाना मिल्थ्यो।
हुन त आज आएर भाद्र २४ मा आतंककारी हमला गर्ने आतंककारीहरूदेखि त्यस दिन जेनजी युवाहरूको आलो रगतमाथि गाडी चलाएर जेलबाट भाग्ने कैदीहरू एकै स्वरमा भाद्र २३ गते सरकारले मान्छे नमारेको भए भाद्र २४ गते देश जलाइने थिएन भन्दैछन्। तर उनीहरूले जे भने पनि सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनदेखि राष्ट्रपती कार्यालयसम्म जलाउने काम नेपाली जनताले आक्रोशमा पनि गर्न सक्ने कुरा नै हैन।
देश जलाउने आफ्ना कर्तुत लुकाउन आफूबाहेक सबैलाई दोषारोपण गर्ने षड्यन्त्रलाई जनताले चिन्न मात्रै हैन चिनाउन पनि पर्छ। जनताले मिलेर भन्नुपर्छ– आफ्ना असन्तुष्टि र आक्रोश प्रकट गर्न देशकै पहिचान मेटाउने सच्चा नेपालीले गर्न सक्ने काम हुँदै हैन।
त्यसैले निर्वाचन नजिकै आइसकेको यो समयमा नेपाली जनताले भाद्र २३ गतेको त्यो कोहोराम र भाद्र २४ गतेको आतंकमा आफ्नो भूमिका लुकाउँदै अरुलाई दोष दिंदै आफू चाहीं दण्डित हुनुको साटो चुनावमार्फत सत्तामा पुग्न ताल्लिनहरूको पहिचान गर्दै तिनलाई दण्डित गर्नु जरुरी छ। नेपाली जनता विवेकी छन् त्यसो हुँदा नव युवायुवतीको भावनामा खेलेर आफ्नो अराजक आतंककारी सोच अनुसारको योजनालाई अन्जाम दिंदै अगाडी बढेकाहरूलाई पक्कै दण्डित गर्ने नै छन्।
आन्दोलनमा आउन आव्हान गर्ने, आन्दोलनमा युवाहरूको बलिदानपछिको अवस्थामा जननिर्वाचित संसद विगठनदेखि संविधान खारेजसम्मको खेल लुकेर खेल्ने, जनताले निर्वाचित सरकारसंग भन्दा सेनासंग वार्ता गर्न वाध्य पार्ने, आन्दोलनमा युवायुवती शहिद भएको समयमा शहिदको रगत समेत सुक्न नपाउँदै त्यही आलो रगत लतपतिएको बाटोमा गाडी गुडाउँदै जेलबाट भाग्ने, युवाहरूको आन्दोलनको जगमा बनेको सरकारलाई आफ्नो स्वार्थ अनुसार चुनावको लागि गठित नागरिक सरकार भन्दिने र आफू मन्त्री बन्ने अनि चुनावको सरकार छोडेर चुनावमा दलीय टिकटमा प्रतिष्पर्धा गर्न हाम्फाल्नेदेखि आन्दोलन पश्चात सत्तादेखि शक्तिकेन्द्र सम्म आफ्नो मानिसहरू राख्ने तर कहीं केहि कुरामा जवाफदेही र जिम्मेवारी नलिनेसम्मका काम गर्ने नौटंकीहरू र तिनको हर्कतलाई जनताले चिन्नैपर्छ।
ती कुपात्रहरूलाई फागुन २१ गतेको चुनावमार्फत तिनको असली हैसियत देखाइदिनुपर्छ र चुनावपछि बन्ने सरकारले युवायुवतीको हत्या र देश जलाउने अपराधमा उनीहरूको संलग्नता अनुसार कानुनी कारबाही गर्नुपर्छ।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया