प्रदीप भट्टराई
आज फागुन १२ गते, २०८२ साल । अबको ठीक ९ दिनपछि फागुन २१ गते आइपुग्छ । लगभग सबै नेपालीलाई थाहा भैसक्यो कि यो दिन नेपालमा के हुँदैछ ?
आमचुनाव । यो आमचुनाव आवधिक र सामान्य हैन । आवधिक भएको भए २०८४ मा हुने थियो, सामान्य भएको भए अन्तरिम सरकारले गराउने थिएन । एक किसिमले भन्ने हो भने यो मध्यावधि चुनाव हो । नेपालकै इतिहासमा यो यस्तो किसिमको दोस्रो चुनाव हो ।
यो चुनावमा खासै कसैको पक्षमा लहर देखिएको छैन, न त्यस्तो स्वस्स्फूर्त चुनावी उत्साह नै जनतामा छ । यद्यपि, गगनको नेतृत्वले कांग्रेसमा र बालेनको प्रवेशले रास्वपाको पक्षमा केही हावा चलेजस्तो देखिएको छ । तर, सामाजिक सञ्जाल हेर्यो भने उत्पातै भएजस्तो देखिन्छ । त्यो उत्पात यथार्थ हो वा हैन, त्यसको परीक्षण पनि फागुन २१ मै हुने छ ।
चुनावमा कांग्रेस, एमाले र रास्वपाबीच पहिलो ठूलो दल हुने होडबाजी छ । चुनावी माहौल हेर्दा पनि यी तीनमध्ये कुनै एक नै पहिलो ठूलो दल हुने देखिन्छ । यद्यपि, तीनै दल आफू नै पहिलो हुने दाबी गरिरहेका छन् । तर, रास्वपा र एमाले दुबैले आफूलाई पहिलो स्थानमा राख्दा पनि कांग्रेसलाई समान दोस्रो स्थानमै प्रक्षेपण गरिरहेका छन् । कांग्रेसले भने आफू ठूलो दल हुने प्रयत्न गरिरहेको भनेर यथार्थपरक धारणा नै बाहिर ल्याइरहेको छ ।
नेपालमा जेनजी आन्दोलन हुनुअघि बंगलादेशमा पनि लगभग यस्तै चरित्र र परिणामको आन्दोलन भएको थियो । फरक के थियो भने त्यहाँको प्रधानमन्त्री भारत भाग्नु परेको थियो भने चुनावमा पनि उनको दललाई भाग लिनबाट रोकिएको थियो ।
बंगलादेशमा भर्खरै चुनाव भयो तर परिणाम परिवर्तनका पक्षधरका लागि निशाराजनक निस्कयो । त्यहाँ परिवर्तनकामी युवाहरू किनारा लाग्दा सत्ताबाट बर्षौ लखेटिएको अर्को पुरानो दलको पक्षमा सत्ताको काँध फेरियो । यहाँ पनि २०७९ मा स्थापित र केही समययता सत्ताले खेदिरहेको एउटा पुरानै दल रास्वपा छ । जेनजी आन्दोलनको स्वामित्व नै लगभग पूरै लिन सफल रास्वपा यतिबेला आफूलाई नै नयाँ दल भनिरहेको छ । प्रस्तुत पृष्ठभूमिमा परिणामले बंगलादेशकै नियति दोहोर्याएर पुरानैको पक्षमा परिणाम दिने हो वा नयाँ दाबी गर्ने रास्वपाको पक्षमा सत्ताको पासा पल्टिने हो रु, यसै भन्न सकिने अवस्था छैन ।
यसपटकको चुनाव पनि कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा र उनका कोटरीका केही शीर्ष नेता बाहेक देशका ठूला भनिएका प्रायस् सबै नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । लगभग सबै राजनीतिक दलप्रतिको बढ्दो वितृष्णाले कुनै एक वा दुई दलप्रतिको आकर्षण छैन । जनमत अत्यन्तै ध्रुवीकरण भएको छ । यसले चुनावी प्रतिस्पर्धालाई ठाउँ हेरेर वहुपक्षीय बनाएको छ ।
यसपटकको चुनावको इपिसेन्टर एक हैन, दुई छन्, झापा ५ र सर्लाही ४ । यी दुई निर्वाचन क्षेत्रमा तीनजना सम्भावित प्रधानमन्त्रीका उम्मेद्वार छन् । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह, अनि सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा । उनीहरू तिनैजना जित्नैपर्ने प्रचण्ड दवावमा छन् । दबाबको मूल कारण व्यक्तिगत प्रतिष्ठा त हो नै, अन्तरपार्टी चुनौति र पार्टी प्रतिष्ठा पनि उत्तिकै जोडिएका छन् ।
अहिलेको स्थिति हेर्दा बढीमा यी तीनमध्ये दुई जित्ने हुन् । झापा ५ मा बालेन र ओलीमध्ये एक त हार्छन् नै । जो हारे पनि व्यक्ति मात्र हार्ने हैनन्, सम्बन्धित पार्टीका प्रधानमन्त्रीका उम्मेद्वार पनि हार्ने हुन् । ओली र बालेन हार्नै नचाहने र नसक्ने पात्र मात्र हैनन्, प्रवृति नै हुन् । अहिलेसम्म यी दुबैलाई जित्छु भन्ने छ, त्यसैले चुनावको माहौल पनि ठीकै छ ।
तर, सत्य के हो भने एकै क्षेत्रमा उठेका यी दुबैले जित्दैनन् एकले मात्र जित्ने हुन् । यो नै सत्य हो । यो सत्य हार्छु भन्नेलाई जुन दिन थाहा हुन्छ, त्यसपछि झापा ५ बाटै चुनावको अशान्ति सञ्चार हुन पनि सक्छ । अझ, त्यसमा पनि ओली हार्ने स्थिति बन्यो र त्यसको अनुभूति उनलाई भयो भने उनले चुनाव हुन नदिन अनेक उपाय नगर्लान् भन्न सकिन्न ।
सुरूमा उनलाई चुनावमा जानै सकिन्न भन्ने लागेको थियो । बिस्तारै उनको पक्षमा परिस्थिति अनुकुल बन्दै गएपछि उनलाई जित्छु भन्ने लाग्यो । तर, जब बालेन नै उनीसँग प्रतिस्पर्धा ग।र्न जाने भएपछि उनी संशयमा परे । जब पहिलोपटक झापा पुगे, स्थिति पनि सोचेभन्दा फरक पाए । त्यसपछि उनले चुनावी रणनीति फेरे र मतदातामा घरदैलोमा पुगे। अहिले उनलाई जितिन्छ भन्ने लागेको हुनुपर्छ । तर, राजनीतिका वाचाल खेलाडी ओलीलाई राम्रैसँग थाहा छ कि यो माहौल कुनै पनि बेला बिग्रन सक्छ । त्यसैले उनी यतिबेला कतै नगएर दमकमै डेरा जमाएर बसेका छन् ।
यसको ठीक बिपरित ओलीको घरदैलोपछि रास्वपा उम्मेद्वार बालेनलाई आफू पछि परेको लागेको छ । त्यसैले उनी बिचैमा राष्ट्रिय दौडाहा छोडेर झापा ५ फर्किए । अहिले उनी पनि घरदैलोमै व्यस्त छन् । उनी ओलीको घरदैलो रणनीतिलाई काउन्टर दिदै आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । उनलाई निर्वाचन अगाडिको बाँकि समय झापा ५ मा नबसी खैरियत छैन भन्ने लागेको हुनुपर्छ ।
झापा ५ को यसअघिको अंकगणित हेर्दा ओली बलियो छन् । एमालेको संगठन पनि मजबुत छ । तर, यसपटक अनौठो किसिमले झापा ५ को चुनाव ओली मेनिया र ओली फोबियामा बाँडिएको छ । यहाँ चुनाव ओलीमाथि मात्रै छ । जित्दा उनै जित्ने हुन्, हार्दा ओलदी हार्ने हुन् । अर्कोले जितेर ओली हार्ने हैनन् कि ओली हार्दा अर्काले जित्ने हुन् । त्यो अर्को मात्रै बालेनले जित्ने हुन् ।
ओली मेनिया जित्यो भने ओली जित्छन्, ओली फोबिया जित्यो भने ओली हार्छन् । ओली फोविया जित्न रास्वपा मात्रै पर्याप्त हुदैन, एमाले भित्रकै ओली विरोधी र अरू सबै पार्टीका मत पनि एकसाथ आउनुपर्छ । समानुपातिक मत आआफ्नो पार्टीमा खसाए पनि प्रत्यक्ष मत घण्टीमा खस्यो भने मात्र त्यो सम्भव छ । अन्यथा, साम, दाम, दण्ड, भेद सबैको ज्ञाता ओलीलाई रोक्न सम्भव छैन ।
चुनाव आउन नौ दिन अघिको आँकलन गर्दा पनि ओलीकै पल्ला भारी जस्तो देखिन्छ । तर, यदि रास्वपाले दाबी गरेजस्तै रास्वपाको पक्षमा हावा मात्र हैन, सुनामी नै आएको हो भने झापा ५ बाट ओली नबढारिने भन्ने हुँदेन । यसअघि २०६४ मा पनि माओवादीको लहरले ओलीलाई बढारेकै हो । यदि रास्वपाको पक्षमा दाबी गरेजस्तो सुनामी आएको हैन भने बालेनको हावा टाइट हुने कुरा लगभग निश्चित छ ।
यो निर्वाचनको अर्को इपिसेन्टर हो, सर्लाही ४ जहाँ कांग्रेस सभापति गगन थापा काठमाडौंबाट तराई झरेर उम्मेद्वार बनेका छन् । कांग्रेसको राम्रो पकड भए पनि यो क्षेत्र गगनका लागि धेरै काणले काठमाडौं ४ जति सुरक्षित हैन । यसअघि कांग्रेस र स्वतन्त्र भएर चुनाव जितेका अमरेश सिंह अहिले रास्वपा उम्मेद्वार बनेर गगनलाई नै चुनौति दिइरहेका छन् । संसदमा नांगैसम्म हुन तयार उनले यसपटक पनि बालेन प्रधानमन्त्री भएनन् भने आत्मदाह गर्छु भनेर सार्वजनिक रूपमै बोलेका छन् ।
मधेशमा रास्वपाको हावा आएको दाबी गरेर अमरेशले अन्टसन्ट बोले पनि आजका दिनसम्म यस क्षेत्रमा गगन सुरक्षित नै देखिन्छन् । त्यसका लागि गगनले पनि लगभग सर्लाही ४ मै डेरा जमाएर बसेका छन् र कुनै कसर बाँकि राखेका छैनन् । गगन कांग्रेस सभापति भएपछि रास्वपा गएका यस क्षेत्रका कांग्रेसी मात्रै हैन, अन्य पार्टीका नेता कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् । यो क्रम देशभरि नै जारी छ । यसले गगनप्रतिको विश्वास र कांग्रेसप्रतिको आशा बढ्दै गएको देखिन्छ ।
तर, रास्वपाको पक्षमा देशव्यापी सुनामी नै आएको हो भने त्यसबाट गगन सर्लाही ४ मा जोगिने भन्ने हुँदैन । गगनको विपक्षमा केहीले काम गर्यो भने त्यो भनेको रूख हो । जे र जति नै भए पनि गगनका लागि रूखमै मतदान गर्नुपर्ने हुन्छ र वर्षौदेखि प्रयोग हुँदै आएको यो निर्वाचन चिन्हप्रति अझै पनि जनताको वितृष्णा कायमै छ । यो चुनावचिन्हबाट चुनाव जित्नेले देशलाई सपारेनन्, बरू उल्टै बिगारे भन्नेहरूको कमी छैन ।
अब प्रश्न उठ्छ, यी दुबै इपिसेन्टरमा पुराना गगन र ओलीले चुनाव जितेर नयाँ भनिएको रास्वपाका बालेन र पुरानै नयाँ भएर आएका अमरेशले चुनाव हारे भने के हुन्छ ? यस्तो परिणामले खासै फरक नपार्ला तर त्यसो नभएर उल्टो पर्यो र ओली र गगनले चुनाव हारे भने के हुन्छ ? यस प्रश्नको उत्तर त्यति सहज हुँदैन । भन्नलाई त जेनजी आन्दोलनको बेला सत्तारूढ रहेका दुबै दलले सजाय पाए भन्न सकिएला । ओलीको हकमा त्यो ठीकै पनि होला । तर, गगनको हकमा भने त्यसले न्याय गर्दैन ।
एमाले-कांग्रेस गठबन्धनको सरकार बनेको दोस्रो दिन मात्र मिडियाबाट थाहा पाएको बताउँने गगनले सुरूका दिनमा ओली सरकारलाई काँध थापे पनि केही दिनपछि नै उनको मोहभंग भएको थियो । अझ, जेनजी आन्दोलनको बेला त उनले जेनजीमाथि दमन गर्न नहुने र त्यस्तो स्थितिमा कांग्रेस सरकारबाट बाहिरिनुपर्ने औपचारिक अभिव्यक्ति नै दिएका थिए ।
इतिहासमा दर्ता भएका यी अभिव्यक्तिहरू कहिलै नमेटिने दशी प्रमाण हुन् । अझ, उनले जेनजी दबाउन मतियार भएको आफ्नै पार्टीको संस्थापन देउबा पक्षलाई विशेष महाधिवेशनको चुनौति स्विकारेर दण्डित गरे । यसरी ठूलो जोखिम उठाएर जेनजी आन्दोलन दबाउने कांग्रेस पक्षलाई भित्तामा पुर्याएका गगन सजायका भागिदार हैन, स्यावासीको भागिदार हुनुपर्ने हो ।
प्रस्तुत पृष्ठभूमीमा पनि अमरेश जितेर गगन हार्नुपर्ने कुनै कारण देखिदैन । त्यस्तो भयो तत्कालका लागि त गगन हार्लान् र त्यो हार उनले सजिलै स्विकार्लान् पनि तर उनको राजनीतिक भविष्य भने अन्यौलग्रस्त हुनसक्छ । त्यसले कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको मुद्दालाई ठूलो धक्का लाग्ने मात्र हैन, नेपालको राजनीतिले नै अरू बुमर्याङमा पर्न सक्छ ।
(झापा ५ र सर्लाही ४ बाट फर्केर काठमाडौं डेटलाइनमा प्रदीप भट्टराई)
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया