बिएल संवाददाता
आँखाभरि आँसु टिलपिल पार्दै सरकारी टेलिभिजनबाट आफ्ना सर्वोच्च नेताको मृत्यु घोषणा गरिरहँदा सारा इरान स्तब्ध भयो। यद्यपि यो कुरा केही घण्टाअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘विश्वकै एक तानाशाह नेता’ मारिएको घोषणा गरिसकेका थिए।
शनिबार राति इजरायलर अमेरिकी सैनिकले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईसहित ४० भन्दा धेरै उच्च सरकारी अधिकारीहरू पनि मारिएका छन्। खामेनेईका छोरी, जुवाइँ, नातिनातिनालगायत कैयौ आफन्त र परिवारका सदस्यहरू पनि यो आक्रमणमा मारिएका छन्।
सरकारी टेलिभिजनका प्रस्तोताले खामेनेईको निधनसँगै इरानले ४० दिने शोक पनि घोषणा गरेको जनाएका छन्। सर्वोच्च नेता नभएपछि अब उनको उत्तराधिरी को हुन्छ भन्नेबारे केही भनिएको छैन। तर उनका केही दैनिक जिम्मेवारीहरू भने राष्ट्रपति, न्यायपालिका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलले सम्हाल्नेछन्।
केही दिनअघिदेखि अमेरिका र इजरायलले इरानमा लगातार आक्रमण गर्दै आएका छन्। त्यसको जवाफमा इरानले पनि इजरायल तथा मध्यपूर्वका सबैजसो राष्ट्रहरुमा आक्रमण गरेको छ।
त्यसअघि नै इरानमा सरकारविरुद्ध प्रदर्शनलाई अमेरिकाले पूर्ण समर्थन गर्दै आएको थियो। महिनौं अघिदेखि इरानमा आक्रमण गर्नेगरी ठूला युद्धपोतहरू तैनाथ गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले त्यहाँका प्रदर्शनकारीलाई इरानको सत्ता कब्जा गर्न पनि भनेका थिए। त्यस्तै प्रदर्शनकारीहरुमाथि दमन गरे खामेनेईको हालत पनि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जस्तै हुने चेतावनी पनि दिएका थिए। त्यसपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खामेनेई सुरक्षित स्थानमा भूमिगत भएको समाचारहरू सार्वजनिक गरेका थिए।
आयतोल्लाह अली खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तियताका दोस्रा सर्वोच्च नेता थिए र सन् १९८९ यता उनी सर्वोच्च पदमा थिए। युवा इरानीहरूले अली खामेनेई सर्वोच्च पदमा नरहेको शासनकाल भोग्न पाएका छैनन्।
उनी इरानी सत्ताको एउटा जटिल जालोको केन्द्रमा थिए जो सार्वजनिक नीतिसम्बन्धी मामिला एवम् सार्वजनिक पदका उम्मेदवार चयन प्रक्रियामा विशेषाधिकार प्रयोग गर्ने अधिकार राख्थे।
राष्ट्रप्रमुख तथा सेनाप्रमुखको हैसियतले सो पदलाई एकदम शक्तिशाली बनाएको छ। सेनाभित्र इरानी रेभोलुशनरी गार्ड कोर (आईआरजीसी) पनि पर्छ।
अली खामेनेई इरानको दोस्रो ठूलो शहर मश्हादमा सन् १९३९ मा जन्मिएका थिए। धार्मिक परिवारमा जन्मिएका उनी आमाबुवाको आठमध्ये दोस्रो सन्तान थिए।
इरानमा वर्चस्व रहेको शिया मुस्लिम समुदायका उनका बुवा मध्यम तहका धार्मिक गुरु थिए।
अली खामेनेईको अध्ययनमा कुरानको शिक्षा मुख्य रूपमा रहेको छ। एघार वर्षका उमेरमा उनी धार्मिक गुरुका रूपमा दीक्षित भएका थिए।
तर धार्मिक गुरुहरूको भूमिका आध्यात्मिकभन्दा राजनीतिक बढी हुने गरेको अभ्यासबीच अली खामेनेईको पनि सोही किसिमको भूमिका रह्यो।
एक प्रभावकारी वाक्पटु अली खामेनेई इरानका शाहको आलोचक खेमामा जोडिए। इरानको राजतन्त्र इस्लामिक क्रान्तिबाट फालिएको थियो।
कैयौँ वर्षसम्म उनी भूमिगत रहे अथवा उनले जेलमा बिताए। उनी शाहका गोप्य प्रहरीहरूद्वारा छ पटकसम्म गिरफ्तारीमा परे- सो क्रममा यातना झेल्नुका साथै उनी आन्तरिक रूपमा निर्वासित पनि भए।
सन् १९७९ को इस्लामिक क्रान्तिको एक वर्षपछि आयतोल्लाह रुहुल्लाह खोमेईनीले राजधानी तेहरानका लागि उनलाई शुक्रवारको साप्ताहिक प्रार्थनाका नेतृत्वकर्तामा चयन गरे।
पछि अली खामेनेई सन् १९८१ मा इरानको राष्ट्रपति पदमा निर्वाचित भए। सन् १९८९ मा उनलाई धार्मिक अगुवाहरूले आयतोल्लाह खोमेईनीका उत्तराधिकारीका रूपमा चयन गरे। छयासी वर्षको उमेरमा खोमेईनीको निधन भएको थियो।
अली खामेनेई विरलै विदेश जान्थे र मध्य तेहरानमा आफ्नी श्रीमतीसँग उनले साधारण जीवन बिताउँदै आएको बताइन्थ्यो।
उनलाई बगैँचामा फूलहरू हेर्न र कविता मन पर्ने बताइन्थ्यो। जवानीमा उनले धूमपान गर्ने गरेको बताइन्छ जुन कुरा इरानमा धार्मिक गुरुहरूबीच स्वाभाविक मानिँदैन।
सन् १९८० को दशकमा गरिएको खामेनेईको हत्या प्रयासपछि उनको दाहिने हातले काम गर्न छोडेको थियो।
मन्सुरेह खोज्स्तेह बकेरजादेहसँग विवाह गरेका खामेनेई चार छोरा र दुई छोरीका पिता थिए।
सार्वजनिक कार्यक्रम अथवा सञ्चारमाध्यममा खामेनेईको परिवार विरलै देखिन्छ भने उनका सन्तानहरूको निजी जीवनबारे आधिकारिक र प्रमाणित सूचना सीमित मात्रामा मात्रै पाइन्छ।
चार छोरामध्ये माहिला छोरा मोज्तबा चाहिँ आफ्नो प्रभाव र बुवाको भित्री 'सर्कल'मा महत्त्वपूर्ण भूमिका खेल्ने गरेका कारण परिचित छन्।
मोज्तबाले तेहरानस्थित अलावी हाई स्कूलमा अध्ययन गरेका हुन्। उक्त स्कूलमा धेरैजसो इस्लामिक गणतन्त्रका उच्च पदस्थ अधिकारीका छोराछोरी पढ्ने गरेका छन्।
मोज्तबाको बिहे एक अग्रणी रूढीवादी गोलाम अली हदाद आदेलकी छोरीसँग भएको छ।
धार्मिक गुरु नहुँदै र कोम शहरमा उच्च शिक्षाको योजना बनाइरहँदा उनको बिहे भएको थियो।
तीस वर्षको उमेरमा उनले कोम सेमिनरीमा औपचारिक धार्मिक अध्ययन शुरू गरे।
सन् २००० को बीचको दशकदेखि राजनीतिक वृत्तमा मोज्तबाको प्रभाव प्रस्ट रूपमा देखिन थाल्यो। हुन त यो कुरा सञ्चारमाध्यममा विरलै स्वीकार गरिएको छ।
सन् २०२४ को विवादास्पद राष्ट्रपतीय निर्वाचनका बेला महमुद अहमदीनेजादको पक्षमा पर्दा पछाडिबाट काम गरेको भन्दै राष्ट्रपति पदका एक अग्रणी उम्मेदवार मेहदी करोबीले अली खामेनेईलाई एउटा खुलापत्र लेखेपछि मोज्तबा थप चर्चामा आएका थिए।
इरानमा सन् २०१० यता उनी अति शक्तिशाली व्यक्तिमध्येका एकका रूपमा मानिने गरिन्छन्।
अपुष्ट विवरणहरूका अनुसार खामेनेईले आफूलाई प्रतिस्थापित गर्ने रुचाइएका उम्मेदवारका रूपमा मोज्तबालाई लिने गरेका थिए। तर कतिपय आधिकारिक स्रोतहरूले यो कुरालाई अस्वीकार गर्दै आएका छन्।
हुन त अली खामेनेई कुनै राजा थिएनन् र उनी आफ्ना छोरालाई सजिलै गद्दी हस्तान्तरण गर्न सक्दैन थिए, तर आफ्ना बुवाको 'सर्कल'भित्र मोज्तबाको उल्लेख्य सामर्थ्य रहेको छ। त्यसमा सर्वोच्च नेताको कार्यालय पनि पर्छ जसले संवैधानिक निकायहरूलाई समेत छायामा राख्छ।
मुस्तफा खामेनेई चाहिँ परिवारका जेठा छोरा हुन्। उनकी श्रीमती अजिजोल्लाह खोस्वाग्तकी छोरी हुन् जो रुढीवादी धार्मिक गुरु हुन्।
सन् १९८० को दशकमा भएको इरान-इराक युद्धका बेला मुस्तफा र मोज्तबा दुवैले अग्रपङ्क्तिमा लडाइँ गरेका थिए।
अली खामेनेईका साहिँला छोरा मसूदको जन्म सन् १९७२ मा भएको हो। उनले सुसन खराजीसँग बिहे गरेका छन्।
सुसन कोम सेमिनरीको शिक्षक सङ्घसँग आबद्ध चिरपरिचित धार्मिक गुरु मोहसिन खराजी र सुधारवादी झुकाव भएका पूर्वकूटनीतिज्ञ मोहम्मद सादेग खराजीकी बहिनी हुन्।
मसूद खामेनेई राजनीतिदेखि टाढा बस्दै आएका छन् र सार्वजनिक रूपमा उनीबारे खासै जानकारी छैन। उनले आफ्ना बुवाको जीवनवृत्तान्त र संस्मरणहरू सङ्कलन गर्दै आएका छन्।
अली खामेनेईका कान्छा छोरा मेयसामको जन्म चाहिँ सन् १९७७ मा भएको हो। आफ्ना तीन दाजुहरू जस्तै उनी पनि एक धार्मिक गुरु हुन्।
उनकी श्रीमतीको नाम सञ्चारमाध्यममा आएको छैन। उनी एक सम्पन्न तथा प्रभावशाली व्यापारी महमुद लोलचिआनकी छोरी हुन्।
लोलचिआनले सन् १९७९ को क्रान्तिअघि धार्मिक गुरुहरूलाई आर्थिक रूपमा सघाउँदै आएका थिए।
मेयसामले आफ्ना दाजु मसूदसँगै आफ्ना बुवाका कामहरूको संरक्षण तथा प्रकाशनसम्बन्धी कार्यालयमा काम गरेका छन्।
बिबिसीको सहयोगमा
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया