आइतबार, ०१ मार्च २०२६

देशैभरि गड्गडाइरहेको ‘गगन’

News Image
• • •

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै त्यो बेला गगन थापाले भनेका थिए- ‘५५ वर्ष नपुग्दै म प्रधानमन्त्री हुनेछु र त्यसपछि राजनीतिबाट रिटायर्ड हुनेछु…।’ अब उनि ५० काे जीवन-उकालाे चढ्दैछन्।

त्यसको चार वर्ष पुग्दा नपुग्दै उनी पार्टीको सभापति पनि भए अनि प्रधानमन्त्रीका उम्मेदवार पनि। देशको एउटा भयावह परिस्थितिलाई चिर्दै ‘कांग्रेस बदलेका’ गगन कांग्रेसको इतिहासमा दोस्रो त्यस्ता नेता हुन् जसलाई चुनावअघि नै पार्टीले प्रधानमन्त्रीका लागि प्रोजेक्ट गरेको छ। जस्तो कि २०५६ सालमा नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई घोषणा गरेको थियो।

देशको राजनीतिक परिस्थितिले निम्त्याएको एउटा आकस्मिकता अनि पार्टीभित्रै फुट्दै गरेको पुस्ता विद्रोहको विष्फोटलाई सम्हाल्दै गगन यतिबेला पार्टीको नेतृत्वमा छन् अनि सिङ्गो देशको नेतृत्व गर्ने एउटा र उत्कट सपना बोकेर मधेसको चुनावी राजमार्गमा कुदिरहेका छन्। 

कांग्रेसभित्र भरभराईरहेको एउटा नयाँ ठिटोलाई आफ्नो चुनावी विरासत सुम्पेर गगन किन मधेस झरे?  यसका जवाफ उनले कैयौंपटक दिइसकेका छन्। त्यसको परिणाम आउन पनि अब केही घण्टाहरूमात्रै बाँकी छन्। कुनै बेलाका कांग्रेसी नेता कहिले पार्टीबिहीन बनेर अनि अहिले फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भएका अमरेशसिंहको ‘बिगबिगी’मा सर्लाही–४ छिरेर यतिबेला गगनमात्रै होइन उनले बदलेको सिङ्गो कांग्रेसले यसपालिको चुनावलाई ‘साँच्चिकै’ लोकतन्त्रको एउटा पर्व बनाइदिएको छ।  

गगनको उडान, गगनमा उडान

अनन्त उडान भरेको एउटा यात्रीले कहिलै आकाशको उचाईं नाप्दैन सायद। 

कैयौं नेपाली अनि कैयौं कांग्रेसीका सपनाहरू बोकेका यी ‘गगन’ अब उसैगरि फैलिएका छन्, जहाँ नेपाली कांग्रेसका अनगिन्ति ‘तारामण्डल’हरू त्यही ‘गगन’मा उज्यालिन चाहन्छन्।

‘मैले आँखा चिम्ले भने म यो स‍ंसारभन्दा धेरै टाढाको यात्रामा निस्किएको हुनेछु। जहाँ म एउटा विशाल रूखको छहारीमुनि बसिरहेको हुनेछु। जहाँ हजारौं मानिसहरू जय नेपालको नारा लगाइरहेका हुनेछन्’ गगनमा सल्बलाएका यी कल्पना र ‘तरूण’सपनाहरू अब कांग्रेसभित्र सयर गर्दैछन्।

गगनलाई याद छैन, उनले कहिले कांग्रेसको पार्टी सदस्यता लिए। तर, जीवन फैलाउँदै गरेका गगनभित्र कांग्रेसका अणुहरू विकसित हुँदै थिए।

‘कांग्रेसको सदस्यता मैले कहिले लिएँ मलाई थाहा छैन। मेरा बुवा अनि हजुरबुवाहरूले सुनाएका राजनीतिक कथा कहानीहरूमा जोडिने बीपी कोइरालाहरू, गणेशमान सिंहहरू, राजा र राणाका कथाहरू अनि कांग्रेस क्रान्तिका गाथाहरू सुन्दासुन्दै म कांग्रेस भइसकेको रहेछु’ गगन भन्छन्- ‘नेपाली कांग्रेससँगको मेरो नाता यही हो। राजनीतिसँग गाँसिएको मेरो साइनो नेपाली कांग्रेस नै हो।’

२०३३ सालमा काठमाडौंको रातो पुलमा गगन थापा १३ वर्षको उमेरमै २०४६ सालको आन्दोलन पछ्याइसकेका थिए। नौ कक्षामा पढ्ने बेला नै आन्दोलनको रापमा पञ्चायती सरकारले खन्याएको अश्रुग्याँस मिचेको त्यो ठिटो गगन २०६३-६३ को आन्दोलनताका काठमाडौंका सडकमा प्रहरीसँग लछार-पछार गरिरहेको थियो।

त्यो बेला काठमाडौंको सडकमा प्रहरीलाई ढुङ्गा ताक्दै गरेको एउटा फोटो अहिले पनि भाइरल भइरहेको छ। उनका विरोधीहरूले त्यो फोटोलाई ‘उछृङ्ख गगन’का रूपमा प्रचार गर्छन्। उनलाई चाहनेहरू ‘गणतन्त्र माग्ने गगन’का रूपमा त्यो तस्बिर यादमा राख्छन्।

आइएस्सी सक्दै गर्दा नेपाल विद्यार्थी संघको काठमाडौं वडा नं ३३को सचिव भइसकेका गगन २०५९ सालमा त्यही विद्यार्थी संगठनको ‘महामन्त्री’ भइसकेका थिए।

विद्यार्थी सर्कलमा त्यो बेला एउटा उखान थियो- पहिलो बेन्चको विद्यार्थी विदेश पढ्न जान्छ। अन्तिम बेन्चको विद्यार्थी राजनीतिमा लाग्छ।’

तर एउटा सत्य त के पनि हो भने देशको उत्कृष्ट दिमाग कक्षा कोठाको अन्तिम बेन्चमै हुन्छ।

घरपरिवार चाहन्थ्यो- विज्ञान पढ्न छोरो कतै विदेश जाओस्।

राजनीतिको ‘नसा’मा एडिक्ट भइसकेका गगनका लागि त्यो सपना ठूलो थिएन। बरू चल्दै गरेका आफ्ना पाइलाहरू राजनीतिमा झन् दरिलो बनाउन चाहन्थे।

पढ्दै गर्दा पनि दिनमा १५ सयभन्दा धेरै विद्यार्थीहरूलाई गगनले ट्यूशन पढाउँथे। एफएम रेडियोहरूमा कार्यक्रम चलाउँथे। समाचार पढ्थे। अनि आन्दोलनहरूमा हिँड्थे।

त्रिचन्द्र कलेजमा स्ववियु सभापति भएपछि शैक्षिक मुद्धामा लड्ने गगन विद्यार्थीका नेता भइसकेका थिए। विद्यार्थी संघको महामन्त्री हुँदै गर्दा देशको राजनीतिक माहोल अर्कै भइसकेको थियो।

राजा ज्ञानेन्द्रले शासन हातमा लिएका थिए र, राजनीतिक दलहरू राजा विरूद्ध आन्दोलनमा थिए। २०६२ चैतमा त्यो आन्दोलन चर्किंदै गर्दा सडकमा ‘गणतन्त्र’को नारा फुकेका गगन नारायणहिटी ढोका अघिका ‘डर’ थिए।

राजाको त्यो मुख्य ढोकाअघिल्तिर त्रिचन्द्र क्याम्पसको सडक ‘गगनहरू’का गणतन्त्रका नाराले तातिरहेको थियो। गगनहरू आफैं तातिरहेका थिए।

सबै दलहरू मिलेर लडिरहेको त्यो लडाईंको हरेक अग्रमोर्चामा त्यसपछि ‘गगन’ पुकारिन थाले। त्यही गगन थियो, जहाँ गणतन्त्रको नारा गडगडायो। त्यही गगन थियो जसले राजाको विरोधमा सडकहरू ततायो।

२०६३ को वैशाखमा ज्ञानेन्द्रले प्रजातन्त्रमात्रै फर्काएनन्, बरू ‘गणतन्त्र’ नै स्वीकार गर्न बाध्य भए। २५० वर्षको शाहवंश देशको राज्यसत्ताबाट च्यूत भयो। राजतन्त्र ढल्यो, नेपालको राजनीतिक ‘गगन’मा पनि गणतन्त्र उदायो।

यही जनआन्दोलन थियो जसले हतियार बोकेर जंगल पसेको माओवादीलाई १० वर्षपछि शान्तिपूर्ण राजनीतिमा फर्कायो।

२०६४ सालमा पहिलोपटक संविधानसभाको चुनाव भयो। देशैभरि चलिरहेको ‘माओवादी लहर’ले कांग्रेसलाई नराम्रोसँग कुनामा हुत्याइदियो। त्यो बेला माओवादी पहिलो पार्टी भयो। कांग्रेस तेस्रोमा पुग्यो। तर, नेपाली कांग्रेसले गगनलाई समानुपातिक सांसद बनायो। गगन पहिलोपटक सांसद बनेर संविधानसभा भवन छिरे।

त्यहाँ उनी मौलिक अधिकार समितिमा रहेर काम गरे। आमाको नामबाट नागरिकता, गैरआवासीय नेपालीले नागरिकता पाउने विषय, १८ बर्षसम्म बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउने लगायत दलित अधिकार, महिला अधिकार, युवा अधिकार, आदिवासी जनजाति मधेसी समुदायको अधिकार, शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका थुप्रै मुद्धाहरू स्थापित गराए।

२०७० सालमा संविधानसभाको दोस्रो चुनाव भयो। काठमाडौं क्षेत्र नं ४ बाट उनले चुनाव जिते। संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति भए।

पहिलो संविधानसभाले संविधान बनाउन सकेको थिएन। दोस्रो संविधानसभामा संविधानको खाका तयार हुँदै गर्दा अनेकथरि बाधाहरू आइलागे। सांसदहरूले नै संसदको कुर्सी तोडफोड गर्न थाले। तराई-मधेसमा आन्दोलनको अर्को आगो सल्कियो। भारतले सिधै संविधानमाथि हस्तक्षेप गर्न थाल्यो। भारत चाहेअनुसार नभएपछि उ नाकाबन्दीमै उत्रियो।

तर, संविधान बन्यो। पहिलोपटक जनताका प्रतिनिधिले संविधान लेखे। संविधानमा गणतन्त्र लेखे। संघीयताका रेखा कोरे।

योबीचमा नेपालमा भएको सत्ता परिवर्तनका बीच गगन थापा एकपटक स्वास्थ्यमन्त्री भएका थिए। २०७३ सालमा तत्कालीन माओवादी र नेपाली कांग्रेस मिलेर बनेको सरकारमा गगन स्वास्थ्यमन्त्री बने। यो कार्यकालमा उनले पहिलोपटक स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमाको अवधारणालाई कार्यान्वयनमा ल्याए। यसबाट देशका विपन्न वर्गलाई स्वास्थ्य सेवामा पनि पहुँच पुग्यो। 

२०७४ सालमा भएको आम निर्वाचनमा पनि गगन थापाले यही निर्वाचन क्षेत्रमा चुनाव जिते। देशभरि एमाले र माओवादी मिलेर ‘वाम गठबन्धन’ थियो। यही गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई पराजित गर्दै गगनले फेरि संसदको अर्को यात्रा तय गरे।

नेपाली कांग्रेसमा यही महामन्त्री पद हो जहाँ कुनै बेला गगनका ‘आदर्श’ नेताहरू थिए।

र, बीपीका कथाहरू सुन्दै बालापनमै पञ्चायती शासनको अश्रुग्याँस पुछेर हुर्केका गगनले त्यही ‘महामन्त्री’ पदमा आफूलाई उभ्याए।

अनि १४ औं महाधिवेशनबाट महामन्त्री पदमा जित्दै गर्दा गगनले भनेका थिए- ‘आज मैले उनै गणेशमान सिंह अनि गिरिजाप्रसाद कोइरालाहरूको जुत्ता लगाउँदैछु…।’

२०७९ सालमा देशमा फेरि आम निर्वाचन भयो। यो निर्वाचनमा पनि गगन काठमाडौं क्षेत्र नं ४ बाट सानदार मत लिएर जिते। प्रधानमन्त्री बन्ने उत्कन्टा उनमा बिसिइएकै थिएन। फेरि उनी संसदीय दलका नेताका लागि आफूलाई उभ्याउन खोजे। आफ्नै सभापतिसँग संसदीय दलका नेताका लागि फेरि पार्टीभित्रै चुनाव लडे। तर जित्न सकेनन्। 

एउटा अन्तत: क्षितिज चुम्न हिँडेको सिपाही एउटा हारबाटै हार मान्दैन। अनि एउटा राजानीतिक मान्छेको राजनीतिका जीवनको सफलता एउटामात्रै हारले मापन गर्दैन। पराजयसँग उनले भित्रभित्रै शक्तिसंचय गर्दैरहे। पार्टीभित्र परिवर्तनका ज्वारभाटा ल्याउन पार्टीभित्रै लडिरहे। पार्टीभित्रै भिडिरहे। र कांग्रेसलाई कांग्रेसजस्तो बनाउनै अन्तत: २०८२ पुस २७ आइपुग्यो। तिनै ज्वारभाटाहरू ‘विशेष महाधिवेशन’का रुपमा कांग्रेसभित्र विष्फोट भयो। र, उनी कांग्रेसका एक ‘मसिहा’ बने। 

आज कांग्रेसभित्र मात्रै गगन चाहनेहरू छैनन्। थुप्रै पार्टीमा गगनका फ्यानहरू छन्। हरेक निर्वाचनका बेला जीवनमा पहिलोपल्ट भोट हाल्दै गर्दा गगन रोज्ने नयाँ नयाँ मतदाताहरू पनि छन्। त्यो भन्दा धेरै यो राजनीतिमा उज्यालिएको यो ‘गगन’ चुम्न चाहनेहरू असंख्य नेपाली छन्। 

देशभरिको यो ‘मास’ गगनका लागि एक ‘महाशक्ति’ पनि हो। 

अनि बदलिएको कांग्रेसी ‘गगन’

२०८२ साल भदौ २३ गते। जेनजी पुस्ताले सडक विद्रोहको आह्वान गर्‍यो। सुरुमा शान्तिपूर्ण भनिएको उनीहरूको यो प्रदर्शन माइतीघरबाट संसद भवनसम्म पुग्दा अराजकताले बरालिइसकेको थियो। केही बेरमा गोली चल्यो। कैयौं कलिला युवाहरू ढले। अर्को दिन संसद, सिंहदरबार अनि सर्वोच्च अदालतहरू जले। अघिल्लो दिनको त्यो नरसंहार अनि पछिल्लो दिनको त्यो विध्वशंसँगै दुई तिहाइको सत्ता केही घण्टामै ढल्यो। जसको नेतृत्व केपी ओलीले गरेका थिए र त्यसका एक साझेदार शेरबहादुर देउवा पनि थिए। नेताहरूका घर जले। देउवाको पनि जल्यो। घरमै रहेका उनीहरूलाई आन्दोलनकारीले कुटिकुटी घरबाहिर निकाले। 

आन्दोलनको कैयौं दिनसम्म अस्पतालमा बसेर २८ दिनपछि पार्टीको बैठक बोलाएर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए। अनि आफू उपचारका लागि भन्दै सिङ्गापुर उडे। जानेबेलामा उनले कार्यबाहक सभापतिलाई भनेका थिए ‘विधानअनुसार कांग्रेसको महाधिवेशन समयमै गराउनू…।’ देश जलेको थियो। कैयौं युवा मारिएका थिए। देउवाको आफ्नै घर पनि जलेको थियो। पतिपत्नी दुवैले आक्रमण पनि सहेका थिए। अपमानहरू सहेका थिए। तर पनि देउवाले कसैलाई गाली गरेनन्। केही गुनासो पनि गरेनन्। बरु पार्टीको जिम्मेवारी पनि सहज तरिकाले अर्कैलाई दिए। देउवाको यो कदमपछि धेरैलाई लागेको थियो देउवाको यो राजनीतिक अवकास निकै शान्त, सभ्य अनि सम्मानित हुनेछ। 

तर कार्यबाहक सभापति खड्काले केही गरे पनि महाधिवेशन गराउनतिर लागेनन्। न महामन्त्रीहरूका कुरा सुने, न अर्को पक्षलाई केही बोल्न र भन्न दिए। बरु दुई महिनासम्म केन्द्रीय समिति बैठक लम्ब्याइरहे। आफ्ना केही थोत्रिएका नेताहरूको ‘सल्लाह’मा उनले पार्टीलाई अलमल गराइरहे। यो अलमल अनि अन्योलका बीच महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले भने पार्टी भित्रभित्रै विद्रोहका झिल्का बालिसकेका थिए। अन्तत: उनीहरूले पुस २७ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वान गरे। यता उनीहरूले विशेष महाधिवेशन गर्दै थिए तर त्यसलाई अपनत्व लिनुको सट्टा पूर्णबहादुरहरू भने गगनहरूलाई कारबाहीको अनुमति माग्न देउवालाई उक्साइरहेका थिए। 

महाधिवेशनको कामलाई रोकेर पूर्णबहादुरहरूले नै सिङ्गापुरबाट फर्किसकेपछि पनि देउवालाई पार्टीको काम कारबाहीमा सक्रिय बनाइरहेका थिए। सहमतिका नाममा यो विशेष महाधिवेशन एक दिन लम्बियो। देशभरिबाट जुटेका प्रतिनिधिहरूले ‘सभापति घोषणा गर्न’ माग गर्दै महाधिवेशनस्थलमा नारा लगाउँदै गर्दा पूर्णबहादुरले गगन-विश्वहरूलाई कारबाही गरेर पार्टीबाट निष्काशन गरेको विज्ञप्ति जारी गरे। अनि यता महाधिवेशनको बन्दशत्रले गगनलाई सभापति घोषणा गर्‍यो।

अनि चुनावी नारा बन्यो ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’। बदलावको यही तरंगसँगै नेपाली कांग्रेस चुनावी मैदानमा छ। कांग्रेस बदलावका तिनै बाछिटाहरू देउवाको राजनीतिक जीवनको एउटा नमीठो नियति बन्यो। एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरा कांग्रेसले देउवाको मात्रै नाम सिफारिस गरेको थियो। देउवाले पनि भन्दै आएका थिए ‘अन्तिम पटक डडेल्धुराबाटै लड्छु…’ गगनले अन्तिमसम्म त्यहाँको टिकट पनि होल्ड गरिराखेका थिए। तर मनोयनको दिन देउवाको सचिवालयले भन्यो ‘शेरबहादुर देउवा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुनेछैन…।’ अनि मिडियाका हेडलाइन ह्वार्ह्वार्ती भए ‘आरजुलाई गगनले टिकट दिएनन्, देउवाले लिन मानेनन्…।’

सम्भवत: नेपाली कांग्रेसभित्र एउटा यस्तो नजीर बन्नेछ जहाँबाट राजनीतिलाई अब कसैले पनि आफ्नो जीवनभरिको ‘पेशा’ र विरासत बनाइराख्न पाउने छैन।
 
र, अब ८० को उकालो चढ्दै गेरेको यो बुढ्यौलीले छोप्न थालेको कांग्रेसी गगनमा यतिबेला फेरि ‘तरूण सपना’हरू फुल्न थालेका छन्। बुढो रूखको छहारीमा पलाउन थालेका यी नवपालुवाहरूमा गगनले कसरी कांग्रेसलाई फुलाउलान्? 

सम्भवत: गगनले त्यसको जवाफ चुनावी परिणामबाटै दिनेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!