शनिबार, ११ अप्रिल २०२६

भदौ २४ को घटनामा संलग्नहरूको वास्तविकता सार्वजनिक हुनुपर्नेमा रक्षा बमको जोड

News Image
• • •

जेन–जी अभियान्ता रक्षा बमले भदौ २४ मा घटेको घटनाक्रम र त्यसमा संलग्न पात्रहरूको वास्तविकता सार्वजनिक हुनुपर्नेमा जोड दिएकी छन्।

वीरेन्द्रनगरमा शनिबारदेखि सुरु भएको कर्णाली उत्सवको सातौँ संस्करणअन्तर्गत ‘जेन–जीः सडकदेखि सदन’ विषयक सत्रमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।

उनका अनुसार, भदौ २३ को घटनाबारे छानबिन गर्न गठन गरिएको गौरिबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन न्यायोचित भए पनि त्यसको भोलिपल्ट भएको तोडफोड र हिंसात्मक घटनाबारे आयोग मौन बसेको देखिएको छ, जसले प्रश्नहरू अझै अनुत्तरित राखेको छ।

‘हामीले शान्तिपूर्ण रूपमा आन्दोलन सुरु गरेका थियौँ, एउटा फूलसमेत नछुने प्रतिबद्धता थियो,’ बमले भनिन्, ‘तर आन्दोलन कसरी एकाएक हिंसात्मक मोडमा पुग्यो भन्ने विषय अझै स्पष्ट छैन। त्यसबारे साँचो तथ्य सार्वजनिक हुन जरुरी छ।’

उनले कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि जनाउँदै लिक भएको प्रतिवेदन मात्र भरपर्दो आधार बन्न नसक्ने बताइन्। यद्यपि, सो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई कारबाही सिफारिस गरिएको उल्लेख गर्दै उनले त्यसलाई सकारात्मक कदमको रूपमा लिइन्।

तर, आन्दोलनको दोस्रो दिन भएको विध्वंशको वास्तविक कारण र जिम्मेवार पक्षबारे अझै स्पष्टता आवश्यक रहेको उनको जोड थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!