शनिबार, २५ अप्रिल २०२६

पार्टी सभापति रवि लामिछानेकै विरुद्धमा पूर्वसांसद विनिता कठायत!

News Image
• • •

नेपालको पछिल्लो राजनीतिक परिवेशमा एउटा रोचक तर गम्भीर विरोधाभास देखिएको छ। एकातिर नयाँ राजनीतिक शक्ति निर्माणको दाबी गर्ने नेतृत्व, अर्कोतिर त्यही शक्तिभित्रै पुराना प्रवृत्तिको पुनरावृत्ति घत लाग्दो छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुदेखि नै सुशासन, पारदर्शिता र राजनीतिक नियुक्तिको अन्त्यको नारा अघि सारेको थियो। तर व्यवहारमा भने त्यसको उल्टो संकेत देखिन थालेको छ, जसको एउटा प्रतिनिधि पात्र बनेकी छन्, विनिता कठायत।

रवि लामिछानेले संसदमा आफ्नो पहिलो सम्बोधनमै स्पष्ट सन्देश दिएका थिए, राजनीतिक पहुँचका आधारमा नियुक्ति लिनेहरूले स्वेच्छिक राजीनामा दिएर विधिको शासनलाई सघाउनुपर्छ। यो अभिव्यक्ति सामान्य भाषण मात्रै नभई एउटा राजनीतिक प्रतिबद्धता थियो। जसले आम जनतामा आशा जगाएको थियो कि अब राजनीतिक भागबन्डा र सिफारिसको संस्कृतिमा परिवर्तन आउनेछ।

उनको उक्त भनाइपछि धेरै राजनीतिक नियुक्ति लिएका व्यक्तिहरू त्रसित बनेका थिए। यही क्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले राजीनामा दिनु एउटा संकेतका रूपमा हेरियो, नयाँ राजनीतिक संस्कारको सुरुवात हुन सक्छ भन्ने अपेक्षा गरिएको थियो। तर यो आशा लामो समय टिक्न सकेन।

पछिल्ला दिनहरूमा देखिएको प्रवृत्तिले भने उल्टो चित्र प्रस्तुत गरिरहेको छ। राजनीतिक नियुक्ति लिएका व्यक्तिहरू अब आफ्नो पद जोगाउन नयाँ शक्ति रास्वपाको नजिकिने प्रयासमा छन्। अझ चिन्ताजनक कुरा के छ भने, यही प्रक्रियामा रास्वपाभित्रकै केही पात्रहरू सक्रिय रूपमा संलग्न देखिएका छन्।

यस सन्दर्भमा विनिता कठायतको भूमिका विशेष रूपमा चर्चामा आएको छ। रास्वपा जुम्लाबाट चुनाव हार व्यहोरेकी उनी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित उच्च पदाधिकारीहरूको पद जोगाउन सक्रिय रहेको आरोप छ। 

कांग्रेसको भागमा परेर उपकुलपति बनेका डा. पुजन रोकाया र एमालेको भागमा परेर रजिस्ट्रार बनेका लक्ष्मीचन्द्र महतलाई जोगाउन उनी मन्त्रालय धाउने, नेताहरूसँग भेटघाट गर्ने काममा संलग्न रहेको चर्चा व्यापक छ।

‘चुनाव हारेपछि उहाँ यतिबेला कसको पद जोगाइदिने, कसलाई नियुक्ति दिलाइदिने भन्दै ठेक्क लिएर हिँड्नुभएको छ। रविजीले दिएको चेतावनीअनुसार रोकाया र महतले तत्काल ठाउँ खाली गरिदिनुपर्ने हो। तर, रास्वपाभित्रकै बिचौलियाहरूमार्फत सेटिङ मिलाउन र नजिकिन थालेका छन्,’ स्रोतले भन्यो।

यो गतिविधि व्यक्तिगत पहल मात्रै हो कि योजनाबद्ध राजनीतिक रणनीति? यो प्रश्न महत्वपूर्ण छ। यदि यो व्यक्तिगत हो भने पनि, यसले पार्टीभित्रको अनुशासन र विचारधारामा गम्भीर प्रश्न उठाउँछ। यदि योजनाबद्ध हो भने, रास्वपाको मूल एजेन्डामाथि नै प्रश्न उठ्छ।

यस्तो अवस्थामा, विनिता कठायतको भूमिका एक पूर्वसांसदको मात्र रहँदैन; उनी एउटा प्रवृत्तिको प्रतिनिधित्व गर्न थाल्छिन्, त्यो प्रवृत्ति हो, राजनीतिक पहुँचको प्रयोग गर्दै पद जोगाउने र बाँड्ने। यसले उनलाई ‘बिचौलिया’को भूमिकामा उभ्याएको आरोपलाई बल पुर्‍याउँछ।

 एउटै पार्टीका नेता र पूर्व प्रतिनिधिहरू पार्टी सभापतिको सार्वजनिक अभिव्यक्तिको विपरीत दिशामा काम गर्न थाल्छन्, त्यसले पार्टीभित्रको एकता, नीति र नैतिकतामाथि प्रश्न उठाउने जानकारहरू बताउँछन्।

यस घटनाले अनेक प्रश्नहरु तेस्रिएका छन्। जसमध्ये मुख्य हो, के रास्वपा पनि पुरानै राजनीतिक संस्कारमा फस्दैछ? यदि नयाँ दलहरू पनि पुरानै शैलीमा पद बाँडफाँट र जोगाउने खेलमा लाग्ने हो भने, जनताले राखेको आशा कसरी पूरा होला?

राजनीतिक दलको विश्वसनीयता भाषणले मात्रै होइन, व्यवहारले प्रमाणित हुन्छ। रवि लामिछानेको अभिव्यक्ति र विनिता कठायतको गतिविधिबीचको विरोधाभासले यही सत्यलाई उजागर गरेको छ। यदि पार्टी नेतृत्वले यस विषयमा स्पष्ट धारणा र कडा कदम चाल्न सकेन भने, यसले दीर्घकालीन रूपमा पार्टीको छविमा गम्भीर असर पार्न सक्छ।

यो घटनाले राजनीतिक संस्कृतिको गहिरो समस्या उजागर गरेको छ। जबसम्म राजनीतिक नियुक्ति र शक्ति प्रयोगको पुरानो शैली अन्त्य हुँदैन, तबसम्म नयाँ शक्ति र नयाँ अनुहारले पनि अपेक्षित परिवर्तन ल्याउन सक्ने सम्भावना कमजोर रहने विश्लेषकहरू बताउँछन्।

अहिलेको आवश्यकता आरोप प्रत्यारोप होइन, आत्ममूल्यांकन र सुधारको हो। विश्लेषकहरूका अनुसार यदि रास्वपा वास्तवमै वैकल्पिक शक्ति बन्न चाहन्छ भने उसले आफ्नै घरभित्र देखिएको यस्तो विरोधाभासलाई तुरुन्त सम्बोधन गर्नुपर्नेछ। नत्र ‘नयाँ राजनीति’को नारा केवल नारामै सीमित हुने खतरा बढ्दै जानेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!