शनिबार, १४ नोभेम्बर २०२६

५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छुः देउवा

News Image
फाइल तस्बिर
• • •

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन्।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका हुन्।

‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन। जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ,’ देउवाले भने।

कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएको जिकिर गर्दै उनले जनताका प्रतिनिधिबाहेक कसैले पनि ‘हाइज्याक’ गर्न नसक्ने बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतबाट फेरि पनि न्याय पाउनेमा आफू विश्वस्त भएको बताए। सो क्रममा उनले १८ करोडको कुरासमेत उठाए।

‘अदालतमा मेरो विश्वास छ। १८ करोडको कुरा आएको छ। अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु। बीपीका छोरा, गणेशमानजीका छोरा, महेन्द्रनारायण निधिका छोरा हामीसँगै हुनुहुन्छ। किशुनजीले बिहे नै गर्नुभएन। पार्टीका लागि पसिना बगाएका नेताहरूका सन्तानहरू हामीसँगै हुनुहुन्छ। सुवर्ण शमशेरका छोरा हुनुहुन्न। नातिहरू भोलि आउनसक्छन्, म कुरा गर्छु।’

देउवाले गत वर्षको भदौ २३ र २४ को घटना षडयन्त्र भएको दाबी गरे।

‘त्यो षडयन्त्र थियो हेर्नुस्। जो डेमोक्रेसीका लागि लडे, जेल जीवन बिताए, ती नेताका सन्तान, आश्रम छानिछानी जलाइएको छ,’ देउवाले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!