सोमबार, २३ नोभेम्बर २०२६

बालेनको भारत भ्रमण: मोदीसँग ‘छोटो तर महत्वपूर्ण’ भेट !

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारत जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत उनि भारत भ्रमण जान लागेका हुन्। सरकारले यो भ्रमणमा ‘राजकीय’ हुने बताएको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृतसमेत गरिसकेको छ।

सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमै केन्द्रित हुने दाबी गरेको छ।

करिब २५ घण्टाजति भारतमा बिताउने प्रधानमन्त्री बालेन र समकक्षी नरेन्द्र मोदीबीच सोमबारका लागि भेट तय गरिएको छ। दुबैबीच केहीबेर एक्लाएक्लै र त्यसपछि दुबै देशका प्रतिनिधिहरूबीच बैठक हुनेछन्।

नेपाल सरकारले यो भेटलाई छोटो हुने भए पनि निकै महत्वपूर्ण हुने बताएको छ।

राष्ट्र हितमा दुईपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण छलफल हुनेछ। राम्रो सम्बन्ध भएको मुलुकका सरकार प्रमुखहरुको भेटघाट छोटो र महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’ मन्त्रिपरिषद निर्णयहरू सार्वजनिक गर्नेक्रममा शुक्रबार सिंहदरबारमा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले भने।

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भ्रमणको सबै तयारी पूरा भइसकेको जनाएको छ। परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई नयाँ गति दिने विश्वास गरिएको बताए।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमणबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको बताए। 

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए।

प्रधानमन्त्री यही मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेको उनले बताए। 

उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवाको उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

सरकारी भ्रमण टोलीमा ३४ सदस्य रहनेछन्। त्यसमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य थपिनेछन्। त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने मन्त्रालयले जनाएको छ। भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू पनि आफ्नै खर्चमा भारत जानेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल र पूर्वाधार विकासका विषयमा छलफल हुनेछ।

दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको राईले जानकारी दिए।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिने तयारी छ। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहयोग थप विस्तार हुने अपेक्षा गरिएको छ।

द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले विभिन्न विषय समेटेर संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्रीले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको उनले बताए।

यसैगरी, भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी भित्र्याउन अवलम्बन गरिएका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराइनेछ।

साथै, भारतीय व्यवसायीका चासो र सरोकार सुन्ने तथा नेपाली र भारतीय व्यवसायीबीच सहकार्यका सम्भावना पहिचान गर्ने उद्देश्य राखिएको छ। बिजनेस फोरमले दुई देशका निजी क्षेत्रबीच आर्थिक साझेदारी विस्तार गर्न सेतुको काम गर्ने अपेक्षा गरिएको राईले बताए।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६:३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!