बिहिबार, २६ नोभेम्बर २०२६

देउवा कांग्रेसको सभापतिमा शशांक र निधिको दाबी

News Image
• • •

नेपाली कांग्रेस देउवा समूहका नेता विमलेन्द्र निधिले १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने आन्तरिक तयारी अघि बढाएका छन्।

काठमाडौंमा मंसिर २१ देखि हुने महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको जानकारी महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई पनि गराइसकेका छन्।

निर्वाचन आयोगबाट आधिकारिकता पाएको कांग्रेसका सभापति गगन थापाले देउवा समूहमा लागेका नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए।

लगत्तै देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा बैठक बस्नुअघि निधिले कोइरालालाई भेटेर आफूलाई सभापतिमा सहयोग गर्नको लागि आग्रह गरेको स्रोतले बतायो।

निधिले संयोजक बन्न सहयोग गरेको बदलामा आफूलाई कोइरालाले सभापतिमा सहयोग गर्नुपर्ने बताएका थिए। सहमति नभए आफू प्रतिष्पर्धामै उत्रिने उनले स्पष्ट पारेका छन्। निधिनिकट एक नेताका अनुसार निधिको आग्रहमा कोइरालाले स्पष्ट जवाफ दिएनन्।

कोइराला आफैं पनि सभापतिका आकांक्षी हुन्। नेताहरूका अनुसार देउवा कांग्रेसको महाधिवेशन तयारी समितिमा निर्विकल्प संयोजक तोकिएबाटै कोइरालाले सभापतिमा आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन्।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता डा. शेखर कोइरालाले एकता आह्वान गर्दै तटस्थ बस्ने निर्णय गरेपछि देउवा कांग्रेसमा सभापतिमा नेताहरूले आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!