बिहिबार, २६ नोभेम्बर २०२६

मलेसिया जाने श्रमिक ठगी प्रकरणः मन्त्रालयबाटै ‘गायब पारिएका’ फाइल फेला

News Image
• • •

मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा ठगिएको रकम विदेश पठाउन सहज पार्ने गरी निर्णय गरिएको प्रकरणको छानबिनका क्रममा हराएको भनिएका सरकारी फाइलहरू फेला परेका छन्।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कर्मचारीले फाइल फेला पारी प्रहरीको जिम्मा लगाएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका क्रममा रकम विदेश पठाउन भएका चारवटा मन्त्रीस्तरीय निर्णयका सक्कल फाइलहरू फेला पार्न नसकेपछि अनुसन्धानमा समस्या भएको थियो।

नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा प्रतिव्यक्ति १०० मलेसियन रिंगेटका दरले अतिरिक्त रकम असुल गरी मलेसिया पठाइएको विषयमा सीआईबीले दुई पूर्वमन्त्री र पूर्वमुख्यसचिव ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यसअघि सोही प्रकरणमा छानबिन गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनसमेत गायब पारिएको प्रहरीले खुलाएको थियो।

हराएका फाइलहरू फेला परेपछि अनुसन्धानमा सहज हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्। सीआईबीले अब करिब दुई साताभित्रै अनुसन्धान सकेर प्रतिवेदन बुझाउने बताएको छ।

सीआईबी स्रोतका अनुसार मलेसिया रोजगारीमा जाने श्रमिकबाट ठगिएको रकम म्याक्रोटेक कम्पनीमार्फत संकलन गरी मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाइएको खुलेको छ। यसरी विभिन्न चरणमा विदेश पठाइएको रकम १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ छ।

यसरी नेपाली श्रमिकहरूबाट अवैध रुपमा असुलिएको रकम मलेसिया पठाउन सहज हुने गरी निर्णय गरेको आरोपमा प्रहरीले तत्कालीन श्रममन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर, पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!