महेश चौलागाईं
मुगु जिल्लाको श्री मुगुम कामाराेङ गाउँपालिका चैन गाउँमा अवस्थित छायाँनाथ धाम धार्मिक इतिहास र जनविश्वासको धरोहर मानिन्छ। मान्यता अनुसार महादेवकी पत्नी सतिदेवीको मृत शरीर गलेर अन्तिम अंग यसै स्थानमा पतन भएको थियो। यसै कारण यो स्थललाई छायाँनाथ शक्तिपीठका रूपमा पुज्न थालिएको भनाइ छ।

छायाँनाथ धामको धार्मिक महत्व केदारनाथ, बद्रीनाथ, मुक्तिनाथ र पशुपतिनाथजस्ता धामसँग तुलना गरिन्छ। स्थानीय पुजारी र भक्तजनका अनुसार, यो धाम विश्वकै उच्च स्थानमा रहेको शक्तिपीठ हो। राज्यको नजरमा नपरे पनि ढुङ्गाबाट बनेको साधारण मन्दिर भए पनि धार्मिक हिसाबले कर्णाली प्रदेशका जनताको आस्था र विश्वासको केन्द्र बिन्दु बनेको छ।

समुद्री सतहदेखि करिब ४७७० मिटरको हिमरेखामा अवस्थित धाममा मन्दिरभन्दा माथि शिव, पार्वती र विष्णुको मूर्ति अंकित गुफा छन्, जसको अवलोकन पर्यटक र तीर्थालुका लागि आकर्षक मानिन्छ। यसै स्थललाई विश्वका तीन शक्तिपीठमध्ये एक मानिने गरेको छ, जहाँ भारतका बद्रीनाथ र केदारनाथ पनि पर्दछन्।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिमा छायाँनाथ ठाकुरज्युको मूर्ति नुहाइँने परम्परा छ। जनैपूर्णीमामा पाँच दिनसम्म पुजापाठ, होम र व्रतबन्ध सञ्चालन हुन्छ। देशभरिका तीर्थालु वरदान माग्न, पाप कटाउन वा आफ्ना दिवंगत पितृको शान्तिका लागि यहाँ पुग्ने गर्दछन्। कतिपय भक्त झाँक्रीको रूप धारण गरी आउँछन् भने कोही देवताका लागि घण्टमाला चढाउँछन्।

धार्मिक कथा अनुसार, सत्ययुगमा भगवान महादेवले सतिदेवीको मृत शरीर बोकेर भौतार्दै हिँड्दा जहाँ–जहाँ उनका अंग पतन भए त्यहाँ शक्तिपीठहरू बने। स्वस्थानी व्रतकथामा उल्लेख छ कि छायाँनाथ तिनै क्षेत्र हो, जसले यसलाई विशेष धार्मिक महत्व दिएको छ।
हरेक वर्ष बडादसैंको घटस्थापनाको दिन ३० मिटर लामो काठको ज्योतिलिङ्गो स्थापना गरिन्छ। लिङ्गो नराख्दा अनिष्ट र अशान्ति हुने जनविश्वास रहेकाले यो परम्परा अनिवार्य मानिन्छ। एकपटक छायाँनाथ पुगेका व्यक्तिले तीनपटक भ्रमण गर्नुपर्ने र त्यसले ठूलो वरदान प्राप्त हुने धार्मिक विश्वास पनि छ।

छायाँनाथ धामको भौगोलिक स्थिति पनि अविस्मरणीय छ। हिमालको काखमा, अनकन्टार पखेरामा र हरियाली वनले घेरेको यो स्थल प्राकृतिक सुन्दरता र आध्यात्मिक अनुभवले भरिपूर्ण छ। रारा तालको निलो पानी, स्वच्छ हावा र हिमाली दृश्यले हरेक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ।
हालसम्म राज्यका निकायहरूले यसको भौतिक विकास र प्रचार–प्रसारमा पर्याप्त लगानी गर्न नसके पनि, धार्मिक पर्यटन र सांस्कृतिक महत्वले यस धामलाई अझै जीवित राखेको छ।

देशमा र कर्णाली प्रदेशमा धार्मिक पर्यटनबाट जनतालाई आर्थिक सम्पन्नता गराउने हो भने संघीय, प्रदेश तथा स्थानीय सरकारहरू सहकार्य गर्नुपर्छ। छायाँनाथ धामको विकासमा लगानी गरेर धार्मिक पर्यटनमार्फत कर्णाली प्रदेश र देशको अर्थतन्त्रमा योगदान पुर्याउन सक्छ।
छायाँनाथ धाम पुग्ने जो कोही यात्रु आत्मशान्ति, आध्यात्मिक तृप्ति र प्राकृतिक सौन्दर्य लिएर फर्कन्छ। यो केवल धार्मिक श्रद्धाको केन्द्र मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले पनि अनुपम स्थल हो।


ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया