आइतबार, २० जुलाई २०२५

२९ वर्षको उमेरमै १५ सय सर्प उद्धार गरिसकेका ‘सर्प मित्र’ रमेश

बिएल संवाददाता

बिएल संवाददाता

उर्लाबारी, मोरङ
2025-07-19 19:40:00
News Image
• • •

दिनको कुनै घडी होस् वा रातको जुनसुकै बेला किन नहोस्- मोरङको उर्लाबारी–४ का रमेश भण्डारीको फोनमा घन्टी बज्यो भने सम्भावना के होला?

त्यो सम्भावना हो, कतै सर्प देखिएको सूचना। अनि सुरु हुन्छ- टर्चको उज्यालो, दिमागमा सतर्कता र हातमा अनुभवको भरमा सर्प उद्धारको अर्को अभियान।

२९ वर्षका रमेशले अहिलेसम्म १,५०० भन्दा बढी सर्पको उद्धार गरिसकेका छन्- त्यो पनि न त कुनै तलब, न त संस्थाको नाममा, पूर्ण रुपमा स्वयंसेवाका साथ, जोखिम मोलेर।

सामान्यतया सर्प देख्नेबित्तिकै हडबडाउने, तर्सिने, मार्ने हाम्रो सामाजिक बानी छ। तर रमेश भने सर्पप्रति कौतुहलता बोकेका व्यक्ति हुन्। उनको जीवनमा यो यात्रा सुरु भयो करिब आठ वर्षअघि, जब छिमेकी प्रेम विष्ट- जो वन प्राविधिक थिए- बिना उपकरण विषालु सर्प समात्थे। 

रमेशले उनैसँग प्रेरणा पाए। सुरुमा अविषालु सर्प समात्न थाले। पछि करेत, गोमन जस्ता खतरनाक विषालु सर्पहरूसमेत सम्हाल्न थाले।

‘सर्पले उद्धारकर्तालाई चिन्छजस्तो लाग्छ,’ रमेश भन्छन्, ‘म पुगेपछि उनीहरू झन् सर्तक हुन्छन्, तर म मार्न हैन, बचाउन आएको छु भन्ने महसुस गराएपछि उनीहरू शान्त हुन्छन्।’

रमेश अहिले सर्पको मात्र उद्धार गर्दैनन्, मानिसको मनबाट ‘सर्प’ शब्दले जगाउने डरको उद्धार गर्न पनि लागिपरेका छन्। उनी विद्यालय, किसान समूह, महिला संघ जस्ता थुप्रै ठाउँमा सर्प सचेतना कार्यक्रम सञ्चालन गर्छन्।

‘खेतबारीमा मुसा र कीरा नियन्त्रणमा सर्पको ठूलो भूमिका हुन्छ,’ उनी भन्छन्, ‘तर हामीले सर्पको बासस्थान नै मासेका कारण सर्प घर पस्न बाध्य भएका हुन्।’

सर्प देख्नेबित्तिकै लाठी, ढुङ्गा वा आगोको भरमा सर्प मार्ने चलनप्रति रमेश चिन्ता व्यक्त गर्छन्। ‘सर्प आफैं कहिल्यै पहिला आक्रमण गर्दैन,’ उनी सम्झाउँछन्।

उद्धारको यो काम रमेशका लागि सुरुवातमै सहज थिएन। ‘जोखिमा किन जान्छौ?’ भनेर घरका सदस्यहरूले रोक्ने प्रयास गरे। तर रमेश रोकिएनन्। ‘काम नै यति प्रिय लाग्यो कि जीवनको जोखिमभन्दा पनि उद्धारको सन्तुष्टि ठूलो लाग्छ,’ उनी भन्छन्।

उनको यो कामले आर्थिक फाइदा दिएको छैन। तर सामाजिक सन्देश र पहिचान दिएको छ। ‘पैसा कमाएको छैन,’ उनी हाँस्दै भन्छन्, ‘तर नाम कमाएको छु, त्यही मेरो सम्पत्ति हो।’

वर्षा सुरु भएसँगै उनलाई उद्धारको फोन दिनमै २–३ वटा आउँछ। उनी दिनरात नभनी तयार हुन्छन्- न कुनै पारिश्रमिकको आश, न कुनै सुरक्षा उपकरणको भर। उनको सहारा- टर्च, अनुभव, र साहस।

रमेश जस्ता मानिसहरू समाजमा सर्पप्रतिको भ्रम तोड्दै, चेतना जगाउँदै, प्रकृति र मान्छेबीचको सन्तुलनमा मौन तर महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?