जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छः महानिरीक्षक खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल

तनहुँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्ने बताएका  छन्।

तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आइतबार शिलान्यास गर्दै उनले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए।

प्रहरीले आफ्नो व्यवहार, शिष्टता र इमानदारिता प्रदर्शन गर्नुपर्ने महानिरीक्षक खनालले बताए। ‘नेपाल प्रहरी जस्तो पवित्र सङ्गठनमा बसेर प्रहरी आफैं पवित्र हुनुपर्छ, आफैं रोलमोडल हुनुपर्छ, अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी पहिला आफैं ठीक हुनुपर्छ’, उनले भने । प्रहरीले इमानदार भएर काम गरे मात्रै नेपाल सरकारले अगाडि सारेका कार्यक्रमले सार्थकता पाउने उनको भनाइ थियो ।

अपराध र अपराधी तह लगाउने प्रहरीको काम भए पनि समाजमा आपराधिक घटना नघटोस् भन्ने प्रहरीको एक मात्र चाहना रहेको महानिरीक्षक खनालले उल्लेख गरे। समुदाय र प्रहरी साझेदारीमार्फत समाजका विकृति र विसङ्गति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

खनालले भने, ‘प्रहरीलाई छुट्टै रुपमा हेर्ने दृष्टिकोण त्याग्नुपर्छ, प्रहरी जनताका लागि हो भन्ने भावना विकास गर्न जरुरी छ ।’

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रजिअ रुद्रप्रसाद पण्डित तथा नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले प्रहरी र जनताबीच हातेमालो हुनुपर्ने बताए। विसं २०७७ असार १९ गतेसम्म सम्पन्न गर्ने गरी भवन निर्माण अघि बढाइएको हो । एक करोड २३ लाख ३७ हजारको लागतमा भवन निर्माण गर्न लागिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

यसैबीच महानिरीक्षक खनालले आजै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा समेत प्रहरी चौकी भवनको शिलान्यास गरे। उक्त भवन रु एक करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको हो ।

प्रकाशित मिति: : 2019-07-07 18:38:17

प्रतिकृया दिनुहोस्