प्रधानमन्त्री ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक बसेको छ। प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल गर्न बैठक बसेको जानकारी उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीले दिए।

प्रा‍.डा. सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ। तर नियमित डायलासिस प्रकियालाई सहज बनाउन त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा प्रधानमन्‍त्री ओलीलाई सार्ने तयारी भइरहेको र त्यसबारे छलफल चलिरहेको उनले बताए।

एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन्।

महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो। यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।

मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री ओली अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन्।ब्याकअपका रुपमा राखिएको भेन्टिलेटर बुधबार बिहान हटाइएपछि ओलीलाई सघनकक्षमै राखिएको छ।

बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्। उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग सामान्य कुराकानी पनि गर्ने गरेका छन्।


प्रधानमन्‍त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाहले प्रधानमन्‍त्रीको स्वास्थ्यमा अहिले कुनै जटिलता नदेखिएको बताइन्। उनले भनिन्,'अहिले सामान्य छ। उहाँको हेल्थ प्यारामिटर सन्तुलित छ। उहाँ केही दिन अस्पतालमै बसेर आराम गर्नुहुन्छ।'

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा.रमेश सिंह भण्डारी, सर्जन डा पलेश्‍वाँ जोशी लाखे, डा.दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्‍न छ। उपचार टोलीको संयोजन वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमीले गरेका छन्। प्रधानमन्‍त्रीका निजी चिकित्सक सिंह पनि उपचारमा प्रत्यक्ष संलग्‍न छिन्।

१२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।त्यसअघि छाउनीस्थित सैनिक अस्पतालमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’गरिएको थियो।

 

प्रकाशित मिति: : 2019-11-28 13:36:29

प्रतिकृया दिनुहोस्