फेसबुकको ४१ करोड ९ लाख व्यक्तिको गोप्य नम्बर लिक भएको खुलासा

Agency

फेसबुक प्रयोगकर्तामध्ये ४१ करोड ९ लाख व्यक्तिको गोप्य फोन नम्बर लिक भएको खुलासा भएको छ। लिक भएको नम्बरहरूमा सबैभन्दा बढी अमेरिकाबाट १३ करोड ३ लाख, भियतनामबाट ५ करोड र ब्रिटेनबाट १ करोड ८ लाख प्रयोगकर्ता प्रभावित भएको बताइएको छ।

प्रयोगकर्ताको नाम, लिंग र ठेगाना लिक भएको अमेरिकी टेक्नोलोजी न्युज साइट टेक क्रन्चले बताएको छ। यो समस्याका कारण फेसबुक प्रयोगकर्ता ‘फेक कल’ र ‘सिम ‘स्विपिङ’ जस्तो घटनाबाट प्रभावित हुन सक्ने सम्भावना बढेको छ।

लिक भएको नम्बरमा केही ठूला हस्तीहरूको नम्बर पनि रहेको बताइएको छ। टेक क्रन्चका अनुसार फेसबुकको सर्भरको पासवर्ड सुरक्षीत नभएका कारण यस्तो समस्या आएको हो।

फेसबुक प्रवक्ताले समाचारमा आएको कुरामा केही सत्यता भएको तर सूचना पुरानो भएको बताएका छन्। उनले फेसबुककर्ताले डराउनु पर्ने अवस्था नभएको बताए।

२०१८ मा क्याम्ब्रिज एनालिटिका प्रकरण बाहिरिएपछि फेसबुक मोबाइल नम्बरबाट फेसबुक प्रयोगकर्तालाई पछ्याउने सुविधा बन्द भइसकेको छ। यसपछि अकाउन्ट ह्याक भएको कुनै घटना बाहिर नआएको उनले बताए।

 

प्रकाशित मिति: : 2019-09-08 09:29:00

प्रतिकृया दिनुहोस्