
महेश चौलागाईं
शनिबार परेको दिन भएकाले पिण्डदानको लागि अनुकूल वातावरण थियो। नदी किनारैमा बसालिएको सानो पूजा थाल, दियोको उज्यालो र धूपको सुगन्धले त्यहीँको हावा पनि धार्मिक र पवित्र बनेको अनुभूति दिइरहेको थियो। संस्कार पूरा भएपछि उनको अनुहारमा देखिएको आत्मसन्तुष्टि हामी सबैका लागि सान्त्वनाको क्षण बन्यो।
बाको पिण्डदान सकेपछि आँसु रोक्न सकिनँ। आँखाबाट बगेका ती अश्रु केवल दुःखका थिएनन्, ती श्रद्धा, माया र स्मृतिका धाराहरू पनि थिए। अरु सबै मौन भएर त्यो क्षणलाई आत्मसात गरिरहेका थिए।
संस्कारपछि यात्रा फेरि लामो भयो। तिहार बगरबाट बाहिरिँदा आकाशमा अन्धकार पस्न थालिसकेको थियो। पथरीला बाटोमा पाइला भारी हुँदै गएका थिए। प्रत्येक यात्रुको अनुहारमा थकानको छायाँ देखिन्थ्यो, तर त्यो थकानमा पनि एउटा सन्तोष मिसिएको थियो, जसरी कुनै अपूर्ण दायित्व पूरा भएपछि मन हलुका हुन्छ।
त्यो दिन चिताई बगर केवल एक भौतिक गन्तव्य बनेन, बरु स्मृतिहरूलाई समेट्ने, विगतलाई सम्झाउने र जीवनलाई निरन्तरता दिने एउटा गहिरो स्थल बनेर हामीसँगै हिँडिरह्यो।
साँझ परिसकेको थियो। टाढासम्म फैलिएको निर्जनताबीच हामीलाई भने बासको खोजी थियो। यात्राले थकाइसँगै एक किसिमको अनिश्चिततासमेत बोकेको थियो। वरिपरि दृष्टि पुयाउँदा कतै कतै मात्र थोरै बस्तीहरू देखिन्थे।
करिब सात बजेतिर कतै झुरझुर घरहरू देखिए। बाटैमा पर्ने (सिमटिप ) गाउँ हामीले त्यहीँ रात कटाउने निर्णय गर्यौँ। आशा थियो, बास मिल्छ भन्ने।
‘आमा, यहाँ बास पाउँछौँ कि?’ मैले ढक्ढक्याउँदै सोधें।
बुढी आमा बाहिर निस्केर हामीलाई नियालिन् र उत्तर दिइन्
‘तिमीहरू धेरै जना रहेछौ, बास दिन सक्दिनँ।’
उनको स्वरमा असहजता थियो, हाम्रो मनमा निराशा। तर त्यही बेलामा साथी पूर्ण चौलागाईंले कर गरे, ‘अनि हामी कहाँ जाऔं आमा? बास दिनुस् न, हामी आफैं खाना बनाएर खान्छौँ।’
त्यसपछि बल्लतल्ल बासको व्यवस्था भयो। चामल र पिठो हामी आफैं बोकेर हिँडेका थियौं, त्यसैलाई पकाएर खायौं। भोक मेटियो, तर थकाइ अझै बाँकी थियो।
गन्तव्य अझै टाढा थियो। बाटो पनि कठिन र अज्ञात। त्यसैले बिहानै पाँच बजे उठेर यात्रा अघि बढायौं। अगाडि हाम्रो प्रतीक्षामा पाटनको बाटो थियो, अझै कष्टकर, तर सपनाले भरिएको।
चिताई गाउँतिरको चार घण्टे उकालो यात्रामा सहभागीहरूका लागि चुनौतीपूर्ण अनुभव रह्यो। प्रत्येक यात्रीले आफ्नो झोलामा खानेकुरा बोकेका थिए, तर भारी घटाउने आवश्यकता परेपछि साथी देवीलाल चौलागाईंले झोलाबाट काख्रो निकालेर खाए र केही सामान त्यही गाउँमा राखियो।
उकालो यात्रा अझ चुनौतीपूर्ण तब भयो जब पानीको स्रोत बन्द थियो। चिताईदेखि माथि पानी पाइन्नथ्यो, त्यसैले प्रत्येकले आफ्ना बोतलमा पानी राखेर अघि बढ्नुपर्ने भयो। केही साथीहरू विश्वास गर्थे कि माथि पानी पाइनै पर्नेछ, तर वास्तविकता फरक थियो।
यात्रा कठिन भए पनि समूहमा उत्साहको कमी भएन। उकालोको प्रयासले थकान त ल्यायो, तर सबै साथीहरूको अनुहारमा संघर्षको पछि पनि आत्मसन्तुष्टि झल्किन्थ्यो। यात्रा समूहका लागि शारीरिक चुनौती र मानसिक उत्साहको मिश्रण बनेको थियो।
हाम्रो यात्रा चुनौतीले भरिएको थियो। प्रत्येक पाइला हाम्रो शरीर र मनको परीक्षा थियो। पानीको कमीले हरेक सासलाई मूल्यवान् बनाइरहेको थियो, र हाम्रो झोलामा बोकेको सामानको भारीले कदम थप भारी बनाइरहेको थियो।
लेकको हावा ठण्डा र तेज थियो, साथै डरलाग्दो पनि। वरिपरि उभिएका ठूला पहाड र कङकडा चट्टानहरूले हाम्रो मनमा हल्का डर सिर्जना गर्दै थिए। करिब तीन बज्न लागेका थिए र हाम्रो गन्तव्य नजिकै थियो।
अचानक, आकाश गर्जन थाल्यो। ठूलो बादलले सूर्यलाई ढाकिदियो र हावासँगै पानीको छिटो वर्षा सुरु भयो। वातावरण अचानक डरलाग्दो भयो, ढुंगामाथि हल्लिँदै वर्षा खसिरहेको थियो। हाम्रो हृदयमा डर झनै बढ्यो। तर त्यही डरले हामीलाई अझ सजग बनायो, र एक अर्काको साहसमा भरोसा बढायो।
यस कठिन यात्राबीच, थकान र डरबीच उत्साह पनि हराउँदै थिएन। हामीले अनुभव गर्यौं कि यात्रा केवल शरीरको मात्र होइन, मनको पनि परीक्षा हो। प्रत्येक पाइला, प्रत्येक साससँगै हामी प्रकृतिको शक्ति र आफ्नो धैर्यको सामना गर्दै अगाडि बढिरहेका थियौं।
त्यो दिनको अनुभव,थकान, डर, उत्साह, र रोमाञ्च सधैं स्मृतिमा बसेको यात्रा बनेको थियो।
निरन्तर…
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया