
बिएल संवाददाता
— केशव आचार्य
१ फरवरी २०२१ को दिन बिहानको सूर्योदय संगै म्यान्माको लोकतान्त्रिक यात्रामा एक कालो अँध्यारो र पीडादायी अध्याय थपिएको थियो। जनताद्वारा निर्वाचित सरकारलाई सेनाले बलपूर्वक अपदस्त गर्दै देशमा सैनिक शासन लागू गर्यो। यो घटनाले म्यान्माको नागरिकहरूको जीवनमा गम्भीर संकट ल्यायो, जसको परिणामस्वरूप व्यापक हिंसा, मानव अधिकार उल्लंघन र नागरिक हत्या भयो। नागरिकको आशा र सपना चकनाचुर भयो।
जनताले आफ्नो मतद्वारा चुनेको सरकारलाई बलपूर्वक हटाइएपछि देशभर आन्दोलनको ज्वाला भड्किएको थियो, शान्तिपूर्ण आन्दोलनमा उत्रिएका निहत्था नागरिकलाई सेनाले निर्दयी ढङ्गले गोली प्रहार गरि निर्मम हत्या गर्यो। सयौँ निर्दोष मानिसहरू सडकमै ढल्नुपर्यो। हजारौँ मानिसहरू जेलमा कोचिए। विद्यालयमा पढ्ने किशोर , किशोरीदेखि वृद्धबृद्धासम्म सेनाको हिंसाको शिकार बनेका थिए।
महिलाको आँसु,आमाबुबाको रोदन जनताको चित्कार र रगतले म्यान्माको भूमि गुन्जिएको र रङ्गिएको थियो। जनताले खोजेको थियो सुशासन ,न्याय, समानता र लोकतन्त्र , तर सैनिक शासनले दिएको छ मृत्यु, भय, निराशा , दुख, कष्ट, यातना र रगतको खोलो, त्यहीँ जनताको रगतको आहालमा पौडी खेल्ने कस्तो क्रूर शासक?
म्यान्माको धर्ती मात्रै होइन आकाश पनि अझै शान्त छैन। सैनिक शासनको क्रूरता आजसम्म पनि रोकिएको छैन। जनताको स्वतन्त्रता र आवाजलाई बन्दुकको ताकमा दबाउन खोजिएको साढे चार वर्ष बितिसक्दा पनि अहिले हवाई आक्रमणमार्फत निर्दोष जनतालाई मार्ने क्रम अझै जारी छ।
पर्व, उत्सव, विद्यालय,मन्दिर, गुम्बा ,चैत्य, पसल, हस्पिटल, गाउँघर, बजार कुनै ठाउँ सुरक्षित छैन। हरेक रात गाउँको आकाशमा घनघोर बम वर्षा हुन्छ, गर्भवती महिलादेखि ससाना बालबालिकाको रोदनको आवाज, आमाबुबाको चिच्याहट र ध्वस्त घरका पर्खालले पनि सैनिक शासनको निर्दयता बयान गर्छन्। मानवताको नाममा यो भन्दा ठूलो अपमान के हुन सक्छ?
यस बर्बरतालाई विश्वले देखिरहेको छ। संयुक्त राष्ट्रसंघदेखि मानवअधिकार संगठनहरूले बारम्बार निन्दा गर्दै आए पनि सैनिक शासकको रक्तरञ्जित हात अझै रोकिएको छैन। सत्ता र लालचको नशामा डुबेका तिनका लागि जनता केवल शिकार बनेका छन्। आज म्यान्माका बालबालिका आमाको काखभन्दा अधिक बंकरमा हुर्किरहेका छन्। आकाशमा उड्ने हरेक आवाज उनीहरूलाई मृत्युको संकेत जस्तै लाग्छ। बमले भग्नावशेष बनेका गाउँहरूमा मान्छेका सपना पनि खरानी भइरहेका छन्।
१ फरवरी २०२१ को दिन म्यान्मामा सेनाको हातबाट लोकतन्त्र च्यात्तिएको कालो दिन थियो। केवल म्यान्माको लागि कालो दिन मात्र होइन, सम्पूर्ण विश्वकै लागि मानवता हराएको दिन हो। जबसम्म म्यान्माका जनता स्वतन्त्र र सुरक्षित जीवन पाउँदैनन्, तबसम्म यो पीडा समाप्त भएको मान्न सकिन्न।
आज म्यान्मा केवल एउटा देशको कथा मात्र होइन, यो मानवतामाथिको अपमानको ज्वलन्त उदाहरण हो। म्यान्माका यी पीडाहरू केवल त्यही देशका जनताका लागि मात्र होइनन्, सम्पूर्ण मानवताका लागि चेतावनी हुन्। जबसम्म संसारले एकताबद्ध भएर सैनिक क्रूरतालाई रोकेर शान्ति र न्यायको पक्षमा ठोस कदम चाल्दैन, तबसम्म निर्दोषको रगतले धर्ती राताे रहिरहनेछ।
त्यस्तो निर्दयी, आतंककारी, दुराचारी, अत्याचारी, पापी, दुष्ट, हत्यारा कदापि जनताको सरकार हुन सक्दैन। मानवता, नैतिकता, ईमानदारीता, दया, करुणा, माया, ममता, लज्जा र हीनताबोध नभएको निकृष्ट अधम नीच सैनिक शासन कहिलेसम्म?
अब जनताले चाहेको सुशासन, स्वतन्त्रता, लोकतन्त्र, न्याय, समानता र समृद्ध देश कहिले? हे नवदुर्गे भवानी माता मेरो देशका जनतालाई रक्षा गरिदिनु होस्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया