प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

फाइल तस्बिरः बिएल

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

मंगलबार ‘एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार सुधार आएको अस्पतालले जनाएको छ।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले बुधबार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्।

स्वास्थ्यमा सुधार आउँदै गएपछि प्रधानमन्त्री ओलीलाई दिइएको ‘लाइफ सर्पोट सिस्टम’ क्रमिक रुपमा कम गर्दै लगिएको डाक्टरले बताएका छन् ।

श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा छन्। प्रधानमन्त्री ओलीलाई विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया भएपछि सघन उपचारकक्षमा २४ सैं घन्टा निरन्तर निगरानीमा राखिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसँगै भेन्टिलेटरबाट हटाइएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल पुर्‍याइएको थियो। स्वास्थ्य परिक्षणमा उनलाई ‘एपेन्डिसाइटिस’ हुनुका साथै पेटको संक्रमण (पेरिटोनाइटिस) समेत देखिएको थियो।

त्यस लगत्तै विशेषज्ञ चिकित्सकको टोलीले ‘ल्यापरोटोमी’ र ‘एपोन्डेक्टोमी’ विधिबाट शल्यक्रिया गरेका थिए।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले १० मंसीरमा प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखिने छ ।

प्रकाशित मिति: : 2019-11-27 13:21:52

प्रतिकृया दिनुहोस्