भूगोल छुटेसँगै टुट्दैछन् सम्बन्धहरु !

भूगोल छुटेसँगै टुट्दैछन् सम्बन्धहरु ! एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

बाग्लुङ्गकी कमला(नाम परिवर्तन) ले ११ वर्ष पहिला पर्वतका प्रकाश (नाम परिवर्तन) सँग बिहे गरिन्। एकबारकाे जुनीमा सँगै जिउँने कसम खाँदै सुरू भयो उनीहरूको दाम्पत्य जीवन । उनीहरुको एक सन्तान पनि भयो। सन्तानसँगै जिम्मेवारी पनि बढ्यो। बूढाबूढीले सल्लाह गरे विदेश जाने।

सल्लाह पोर्चुगल जाने भयाे। कार्ड बनेपछि परिवार उतै लैजान पाइने कुरा थाहा रहेछ। त्यहीअनुरुप पहिला श्रीमान पोर्चुगल जाने निर्णयमा पुगे। २०६८ सालतिर उनी युरोपकाे पोर्चुगल पुगे। गएकाे २/४ वर्षसम्म सबै राम्रै भयो।

२०७२/०७३ देखि श्रीमानको फोन बाेलीचाली पातलिदै गयो। याे क्रम बढ्दै जाँदा फोन गर्दै नगर्नेसम्मको अवस्था सिर्जना भयो।कुरा त्यतिमा मात्र अडिएन, डिभोर्सकै कुरासम्म पुग्यो।  

श्रीमतीले बुझ्दा थाहा भयो, पोर्चुगलमा उनी अर्कैसँग माया प्रेममा परेछन्। एक कान दुई कान मैदान सबैलाई थाहा भयो। श्रीमानको पासपोर्ट पनि आयो। त्यसपछि उनी त्यही केटी लिएर पोर्चुगलबाट अर्कै देश लागे। श्रीमतीलाई फोन गरेर म छोरी ल्याउँछु त जे गरे नि गर भन्दै खवर पठाए। यो खबरले उनी छाङाबाट खसेजस्तै भइन्।

सँगै जिउँने मर्ने बाचा, कसम खाएर हिन्दू परम्पराअनुसार गरगहना, सिन्दुर, पाेते लगाएर बिहे गरेकी कमला याे सपन हाे कि विपना छुट्याउनै सकिरहेकी थिइनन्। तर, याे सब विपना नै थियाे। जति अलमल भएपनि अन्तमा छुट्टिन करै लाग्याे। जानेबेला नाक, कान र गलाका गरगहना बेचेर पठाएको मान्छे के कति कारणले निष्ठुरी भयाे? यो प्रश्नकाे उत्तर उनले अहिलेसम्म पनि पाउँन सकेकी छैनन्।

..........

त्यस्तै, तेह्रथुमकी सम्झना (नाम परिवर्तन)ले नुवाकोटका अर्जुन (नाम परिवर्तन) सँग बिहे गरिन्। बिहे गरेको १८ महिनामै श्रीमान उडे, पाेर्चुगल। गएको २ वर्षसम्म त सम्बन्ध राम्रै थियो तर एक्कासी अर्जुनमा परिवर्तन आयाे। उनी पनि पोर्चुगलमा अर्कीसँग बस्न थालेका रहेछन्। अहिले यो दम्पतीको सम्वन्ध पनि नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार जस्तै छ। सम्झना आफू धोकामा परेको थाहा हुँदाहुँदै समाजका लागि यो साइनो बचाइरहेकी छिन् । 

...........

माग्दीकी एक आचार्य थर गरेकी महिलाको पीडा माथिका दुईकाे भन्दा कम्ताकाे छैन। उनका श्रीमान् विगत १० वर्ष देखि पोर्चुगलमा छन्। सुरुमा सामाजिक सञ्जालमा पटक्कै नदेखिने उनी श्रीमतीलाई बेलाबेलामा फाेन गरिरहन्थे। बेलाबेला नेपाल आउँथे, छोरीलाई माया गर्थे। तर, एक दिन घरका सबैलाई थाहा भयो उनले पोर्चुगलमा अर्काे बिहे गरेर दुई सन्तान जन्माइसकेकाे कुरा। यो सबै थाहा भएपछि १२ पढ्ने छोरी र श्रीमतीले नेपालमा सबैतिर हारगुहार गरे। अन्तमा घर खेतकाे केही सम्पत्ति छोरीको नाममा गरिदिने सर्तमा केस थामथुम भयाे। समस्या समाधान भयाे।

पीडित आचार्यकाे भावनात्मक पीडाकाे मूल्य ताेक्ने मेसिन पनि बनेकाे थिएन। कसैले वास्ता पनि गरेन। 

..........

अर्काे एउटा मिल्दाेजुल्दाे तर ठिक विपरीत घटना पनि छ । प्रदेस नं ४ कै एक जिल्लाका दम्पतीमध्ये एकजना विदेश जाने सल्लाह भयो। श्रीमानभन्दा श्रीमतीलाई विदेश जाने रहर बढी भएको हुँदा उनी पोर्चुगल उडिन् । सुरुमा सबै राम्रै थियो। २/४/६ वर्षसम्म राम्रै चल्यो। पोर्चुगलमा उनले रातो पासपोर्ट पनि पाइन्। त्यसपछि नेपाल गएर विभिन्न बाहनामा आफ्नो श्रीमानलाई डिभोर्स दिइन्। त्यतिका माया गर्ने श्रीमतीले डिभोर्स दिँदा श्रीमानले कारणसम्म थाहा पाएनन्। आजसम्म पाएका पनि छैनन्।

यी माथीका घटनाक्रम केही प्रतिनिधिमूलक मात्र हुन। नेपालबाट बढ्दाे विदेश जाने क्रम र सेटलमेन्टको नाममा सम्बन्धमा दरार आएका र टुटेका धेरै घटना छन्।

अझ लिभिङ्ग टुगेदर त विदेशमा रहेका नेपालीकाे फेसन नै हाे। दिनानुदिन यस्ताे चलनले मलजल पाइरहेकै छ। नेपालमा छोरा/छोरी श्रीमती छोडेर विदेश पुगेकाहरु अनि नेपालमा श्रीमान छोरा/छोरी छोडेर विदेश पुगेकालगायत भर्खर २०/२२ वर्षे युवा युवती पनि लिभिङ्ग टुगेदरकाे चक्रमा सामेल छन्। भूगोल छुटेसँगै सम्बन्ध टुटाउनेको बढ्दो विकृति छ, पोर्चुगलमा।

यस्ता विकृति र विसंगतिको कुरा गर्दा सबै उस्तै विकृत भैसके हैन । अझै पनि आो्नो परिवारप्रति जिम्मेवार धेरै नेपाली युवा युवती पनि छन् । तर, समयक्रममा उनीहरू अल्पमतमा पर्ने अवस्था देखिदैछ। आखिर सबै समयकै कुरा त रहेछ। मन नै परिवर्तन भएपछि समयको पनि के लाग्दो रहेछ र ?

प्रकाशित मिति: : 2019-11-25 06:40:41

प्रतिकृया दिनुहोस्