धन्यवाद

कथा

त्यो दिन मेरो जीवनको खास दिन थियो। किनकि म बेहुली बन्दै थिएँ, त्यो पनि आफूले साह्रै माया गरेको मान्छेको।

मनमा अनौठो किसिमको अनुभूति पैदा भईरहेको थियो। म श्रृंगार र खुशीले धपक्कै बलेकी थिएँ। ५ वर्ष लामो प्रेम सम्बन्धपछि हामी वैवाहिक सम्बन्धमा गाँसिदै थियौं। आकाश पनि उत्तिकै खुशी थियो जति म थिएँ।

ऊ सधै मलाई भन्ने गर्थ्यो ‘सुजिता तिमीलाई पाएको दिन संसारकै सबैभन्दा खुशीको दिन हुनेछ मेरो लागि।’ हो, साच्चै त्यो खुशी देखेँ मैले आकाशको आँखामा। हाम्रो विवाहको लागि बुवा आमालाई राजी गराउन हामीलाई निकै गाह्रो भएको थियो।

मेरो र आकाशको बिचमा एउटा मन बाहेक अरू केही पनि मिल्थेन। न स्तर न जात । म कट्टर ब्राम्हणको छोरी। ऊ श्रेत्रीको छोरा। म बुवा आमाले हरेक ईच्छा पूरा गरेर राखिदिएका सम्पन्न परिवारकी छोरी र ऊ भर्खर पहाडबाट काठमाडौं पसेर संर्घष गर्दै गरेको केटा। मायामा यो सबै कहाँ हेरिँदो रहेछ र त्यसैले मैले पनि केही नहेरी उसको मायामात्रै हेरेर विवाह गर्ने निर्णय गरेँ।

बाजा गाजासहित आकाश र मेरो विवाह सम्पन्न भयो। म आकाशको घरमा नयाँ बेहुली, थुप्रै नातेदारहरुको भीड लागेको थियो। म त्यही घरमा अन्मिएर गएँ जुन घर मेरो बुवाले छोरी र ज्वाँइको नाममा उपहार दिनुभएको थियो।

मेरो बुवा आमा चाहनुहुन्न थियो कि मैले कुनै किसिमको दुःखको सामना गरौं। त्यो घर मेरो विवाहको उपहार हो भन्ने कुरा आकाशको घरको परिवार बाहेक कसैलाई पनि थाहा थिएन।

अब चार जना परिवारमा हुर्केकी मलाई सासु, ससुरा, जेठानी, आमाजु र भिनाजु सबै रिझाउनु थियो। मेरो जेठाजु अर्थात् आकाशको दाइ विदेशमै बस्थे। उनकी श्रीमती विदेशी नै थिईन्। तर, हामीसँगै बस्थिन्। म सोच्थेँ यी बिचरी आफ्नो श्रीमान बिना अर्काको देशमा कसरी बसेकी होली। फेरि झट्ट हेर्दा पनि उनी निकै खुशी देखिन्थिईन्। मनमा मेरो अर्को कुरा तत्काल उब्जियो।

नेपाली परम्परा अनुसार त केटी मान्छे विवाह गरेपछि केटाको घर जान्छन् जसरी म आकाशको घरमा पुगेँ। तर, आकाशको घरको कहानी ठ्याक्कै उल्टो थियो। त्यहाँ त भिनाजु नै आफ्नी श्रीमतीको घरमा बसेका थिएँ। त्यो पनि घरको काम सबै गर्थे। मेरो आमाजुको छोरी हेर्ने, छोरीको लुगा धोइदिने देखि सबैकाम भिनाजुले गर्थे।

मेरी आमाजुले प्रतिष्ठित व्यक्तिको पगेरी गुथेकी थिईन्।  मलाई कताकता नरमाईलो लाग्यो। यी कुराहरु आकाशले मलाई किन कहिल्यै भनेन।

सुरुसुरुमा मेरी सासुले मलाई खुब माया गर्थिन्। उनको मायामा म आफ्नो जन्मदिने आमालाई बिर्सिन्थेँ। आमाजु, जेठानी अनि ससुरा सबै राम्रा लाग्थे मलाई। आकाशको दाइ पनि बेलाबेलामा मसँग कुरा गरिरहन्थे बाहिरबाट फोन गर्दा।

सबैको भरपूर मायामा म पूरै अन्धो भईसकेको थिएँ। मलाई उनीहरुको आर्थिक अवस्थादेखि टिठ लाग्थ्यो। मनमा उनीहरुप्रति इज्जत र माया पाल्दा पाल्दै मेरो विवाह भएको दुई महिना बित्यो।

विवाह गरेको दुई महिना बितिसक्दा पनि म आकाशसँग कतै घुम्न गएकी थिईनँ। तर, पनि मलाई आकाशप्रति कुनै गुनासो थिएन। म बुझ्थेँ उसको आर्थिक समस्या त्यसैले म कुनै किसिमको माग राख्दिनँ थिएँ।

विवाह गरेको दुई महिनामा प्रवेश गर्न नपाउँदै मेरी सासु र आमाजुको बानीमा परिवर्तन आईसकेको थियो। उनीहरु मलाई घरको धेरै कुराहरु लुकाउँथे। कतिपटक त घरका सबै परिवार दुइटी बुहारीलाई भान्छामा छोडेर घर सल्लाह गर्नुछ भन्दै मेरो कोठाको ढोका लगाएर घण्टौं कुरा गर्थे।

 एक दिन अचानक आकाशले मलाई भन्यो, ‘सुजिता, म भोलि दिदीको कामको लागि वीरगन्ज जाँदैछु एक महिनापछि आउँछु है,’ मलाई अचम्म लाग्यो भोलि विरगन्ज जाने कुरा ऊ एक दिन अगाडि मात्रै मलाई भन्दै थियो। त्यो पनि जसको कामको लागि ऊ जाँदै थियो उसले त मलाई एक शब्द पनि केही भन्न जरुरी ठानेन।

 आकाश ठ्याक्कै एक महिना हरायो एक महिनाको अवधिभरी न उसले मलाई फोन गर्‍यो न कुनै म्यासेज।  मेरी आमाजुले आफ्नो श्रीमान र मेरो श्रीमान दुबै जनालाई लिएर गएकोमा मलाई धेरै रिस उठ्यो। तर, मैले केही गर्न सकिनँ। एक महिना पछि आकाश घर फर्कँदा उसको पूरै व्यवहार परिवर्तन भईसकेको थियो।

मलाई यस्तो लाग्थ्यो कि, ऊ मैले विवाह गरेको आकाश नै हैन। आकाश दिनहूँ परिवर्तन हुँदै गईरहेको थियो। आकाश मसँग हरेक कुरा लुकाउँथ्यो। उसको मनभित्र के चल्थ्यो मैले कहिल्यै जान्न सक्दिनथेँ। 

एक दिन म साथीको  विवाहमा जान लागि तयार हुँदै थिएँ। आकाशको परिवारले विवाहमा दिएको गहना लगाएर जाने विचार थियो। जब गहना झिक्न दराज खोलेँ  दराजमा एउटा शिरबन्दी र सासुले मुख हेरेर दिएको तिलहरी बाहेक केही पनि थिएन।

यताउता सबैतिर खोजेँ कतै भेटिन मोबाईलमा नजर डुलाउँदै मुस्कुराई रहेको आकाशलाई मैले सोधेँ ‘आकाश, तिमीले मेरो गहना देख्यौ?’ यति सोध्नासाथ उसको मुस्कुराईरहेको अनुहारमा एक्कासी बादल लाग्यो। उसले मेरो हात समाएर कुर्सीमा बसाउँदै भन्यो, ‘दिदीको सानो कामको लागि पैसा चाहिएको थियो। त्यसैले मैले तिम्रो र आमाको गहना बेचिदिएँ।’

उसको कुरा सकिन नपाउँदै मलाई फनफनी रिंगटा लाग्न सुरु भईसेकेको थियो। एक त विवाहमा समेत रित्तो सुटकेश लिएर आएका थिए। शरीरमा लगाउने लुगादेखि पाउमा लगाउने जुत्तासमेत मैले माईतीबाट लिएर गुजारा चलाईरहेको थिएँ। तर, अब त मलाई उनीहरुले दिएको गहना समेत मेरो अनुमति बिना बेचिदिएपछि मैले मेरो कुनै अस्तित्व देखिन त्यो घरमा।

आकाशको नकारात्मक व्यवहारदेखि म आजित भईसकेको थिएँ ।  उसको बास घरमाभन्दा बाहिर बढी हुन थालेको थियो। हप्ताको दुई रात त ऊ कुनै न कुनै बाहनामा बाहिर नै बस्थ्यो। मैले पनि उसको व्यक्तिगत जीवनमा कहिल्यै हस्तक्षेप गरिनँ।

जुन घरमा विवाह गरेको छोरी आफ्नो श्रीमानसित बस्थिनँ त्यही घरको बुहारी एकरात माईती जाँदा मेरी सासु टोलभरी सुनाउँदै हिड्थिन्, ‘नजिक घर भएको केटीलाई बुहारी बनायो भने महिनैपिच्छे माईती गईरहँदा रहेछन्।’

उनको कुरालाई पनि मैले वास्तै गर्न छोडिसकेको थिएँ। विवाह गरेको तीन महिना नपुग्दै मैले उनीहरुको सम्पूर्ण योजना बुझ्न थालेँ। उनीहरुले बुहारीको नाममा घरमा सुनको अण्डा दिने कुखुरा र घरको काम सित्तैमा गरिदिने कामदार पाएका थिए। आकाशको त कुरै बेग्लै थियो ऊ मेरो श्रीमान कम अनि भाइ र छोरा बढी थियो।

दशैंले घरआगनमा खुशी छर्न थालिसकेको थियो। तर मेरो मन दिनदिनै बेखुशी हुँदै गईरहेको थियो। दशैंको टिकाको दिन आयो सासु र ससुराले सबैलाई टिका लगाईदिए तर आकाशले मलाई टिका लगाईदिएन।

टिका लगाएपछि आकाश उसको आमा, बुवा र दिदीलाई लिएर नातेदारकहाँ गयो। तर, घरको बुहारीहरुलाई कसैले एकबचन पनि सोधेनन्। हामी दुइटी देउरानी जेठानी घरको रेखदेख गर्ने पाले झैं घरै बस्यौं।

मेरी जेठानी त विदेशी थिईन्। उनलाई त खासै फरक पनि पर्दैनथ्यो। तर, म त बच्चैदेखि दशैं मनाउँदै आएकी मेरो लागि श्रीमानसँगको पहिलो दशैं निकै महत्वपूर्ण थियो। दशैंको टिकाको पूरै दिन मेरो रोएरै बित्यो।

२ वर्षपछि

 मेरो जीवनमा यति सबै हुँदाहुदै पनि मैले कसैसँग केही गुनासो गरिनँ। रोएरै भए पनि म सम्बन्ध दिगो राख्ने विचारमा थिएँ। तर हाम्रो जिन्दगीको रथ अगाडि बढ्न सकेन। गलत मान्छेसँग सम्बन्धमा बसेर रूनुभन्दा एक्लै मुस्कुराउने निर्णय गरेँ मैलेँ।

दशैं तिहारको रमझम सकेपछि मैले एक रात आकाशलाई सम्बन्ध बिच्छेद गर्न चाहेको कुरा बताएँ। उसलाई के खोज्छस् कानो आखाँ भने झैं भयो उसले सहजै मेरो कुरा स्विकार्‍यो।

भोलिपल्ट आकाशको परिवारमा सानै भए पनि भूकम्प आयो। मैले आकाशसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेपछि उसको परिवारमा तनाव उत्पन्न भयो। बुहारी त उनीहरु चाहँदैन थिए। तर, बस्ने घरकै लागि भए पनि मेरी सासुले मसँग रोई कराई बिन्ती गरिन्। मैले कसैको केही सुनिन। म फेरि पनि मूर्ख बन्न चाहन्न थिएँ।

अनेक दुःख सहदैं मैले २ वर्ष कटाएको थिएँ त्यो घरमा। २ वर्षमा दुई मिनेट पनि आकाश मसँग खुशी भएर बोलेन। मैले उसको र मेरो नाममा भएको घरबाहेक एक पैसा पनि उसँग लिईनँ। जुन मान्छेबाट मैले माया र साथ पाईन त्यो मान्छेको सम्पतिले मलाई खुशी पनि दिने थिएन। सबै गहना बेचेर मेरो भागमा रहेको सानो तिलहरी र शिरबन्दी लिएर म आकाशसँग छुट्टिएँ।

आकाशको कुनै सम्झना म राख्न चाहन्न थिएँ। त्यसैले एकदिन म सुन पसलमा त्यो शिरबन्दी र तिलहरी बेच्न गएँ। सुन पसलको मान्छेले मलाई घुरेर हेर्‍यो। मैले सोधें, ‘दाई यी दुइटा सुनको कति पैसा आउँछ।’ उनले छक्क पर्दै मलाई सोधे, ‘यो सुन कहाँबाट ल्याउनु भएको बहिनी।’ मैले भनेँ ‘यो मेरो विवाहमा केटाको घरपरिवारले दिएको।’ त्यसपछि उनले झन् आश्चार्य मान्दै भने, ‘आम्मै नि यसमा त सुनको जलपमात्रै छ।’

आकाशको परिवारको कुनै व्यवहारले मलाई त्यति झट्का लागेको थिएन जति त्यो सुन पसलेको कुरा सुनेर लाग्यो। सारा जीवन आफूले निस्वार्थ माया गरेको मान्छेले बदलामा नक्कली माया र नक्कली सुनबाहेक केही दिएन मलाई। नक्कली मायाबाट मुक्त गरिदिएकोमा भगवानलनाई धन्यवाद दिँदै म घर फर्केँ।    

प्रकाशित मिति: : 2019-12-22 01:19:04

प्रतिकृया दिनुहोस्