पत्रकारसँग यादगर यात्रा

रमेशराज वास्तोला

रलिजवन, पोर्चुगल

कुरा सन् २०१७ अक्टोवरको हो। धेरै वर्षपछि नेपालको यात्रा तय भयो।  ४/५ वर्षपछिको मातृभूमितिरको यात्रा हुँदै थियो। खुसी र उमंग दुबै थियो। टर्की एयरबाट म काठमाडौं झरे।

लगत्तै बागबजारतिरको एक होटलमा लगेज राखे। सबै परिवर्तन भएको भान भयो। आफूसँगै पढेका, संगत गरेका साथीहरु कोही ठेकदार, कोही नेता, त कोही अधिकृत भैसकेका थिए भने कोही अरव, अमेरिका, अस्ट्रेलिया लगायतका देश गएका थिए। मलाई काठमाडौंमा एक्लो महसुस भयो। 

बागबजारको एउटा पुरानो रेष्टुरेन्ट चिनेको थिए। राधेश्यम दाइको रेष्टुरेन्टमा चिया अति मिठो पाइने सुनेको थिए। त्यहाँ चिया खान गए। एक जना फेसबुकमा परिचित साथीसँग भेट भयो। उनले मेरो नाम लिदैँ सोधे,'तपाईं फलानो हो? मैले हो भने। भलाकुसारी भयो। गफिदै जाँदा नजिक भयौं। अब एक जना साथी भेटिए। मलाई पनि सोचेजस्तो भयो।

भर्खर आएको मैले फेसबुकमा नेपालमा चलाइरहेको नम्बर पोस्ट गरे। भाइबरको नम्बर पनि चेन्ज गरे।

एक जनाले फोन गरेर सोधे,'तिमी नेपालमै हो? मैले हो भने। कहाँ होर? बागबजार। सिहदरबार तिर आउनुहोस्।' अचम्म लाग्यो। पोर्चुगलमा २/३ दिन घुमघाम गरेका मात्र थियौं। नेपाल हुँदा सम्झेर फोनै गरे। काठमाडौं धेरै नघुमेको मलाई उनले बहुत गुन लगाए। त्यो भन्दा ठूलो कुरा सिंहदरबार भित्र जाने अवसर लागेर मख्ख परे। मैले गरे कसरी आउँ त भने। जवाफमा उनले,'गेटमा पुगेपछि फोन गर्नु। म लिने मान्छे पठाइदिन्छु।'

उनीसँगको फोनपछि मेरा ती फेसबुकका साथीले म पुर्‍याइदिउला भनेर आड दिए। ती साथीलाई तपाईंलाई पनि भित्र जानको लागि भन्नुपर्ने होला हैं? भने। उनले भने,'म पत्रकार हो। मसँग प्रेस पास छ। मलाई समस्या हुँदैन।' मलाई झन् खुसी लाग्यो। म पनि कहिलेकाहीँ सेतोपाटीमा लेख्ने गर्थे। २/४ वटा  लेख छापिएसँगै मलाई पत्रकार हुने ठूलो रहर जागेर आयो। तर विदेश पुगेपछि रहरमै सिमित भएको थियो। नेपाल आउँदा पत्रकारसँग यात्रा गर्न पाउँदा गज्जब लाग्यो। उनले लौ जाउँ सिहदरबार भने बाइक चलाए। 

एकछिनमा हामी सिंहदरबार गेटमा पुग्यौं। मैले फोन गरे ५ मिनेट पर्खन भनियो। पत्रकार साथि रातो पास देखाएर भित्र पसे। मलाई लिन एकजना आए। म उनीसँग जीवनमै पहिलोपटक सिंहदरबार पसे। मन फुरुङ्ग थियो। खुसीले गदगद थिए। त्यहाँसम्म पुर्‍याइदिने पत्रकार साथीप्रति मेरो श्रद्दा ह्वात्तै बढ्यो। 

मनमनै सोचे उनी त पक्कै पनि ठूला पत्रकार हुनुपर्छ। सिंहदरबारमा  सिधै पस्ने यी पत्रकार सानोतिनो हैनन्। मनले उनको तारिफ गरिरह्यो। २/३ घन्टा सिंहदरबार घुमेपछि साथीले पुनः बाइमा फर्कियौं। बाटोमा चेक थियो। के को हो, थाहा भएन। उनले ट्राफिक प्रहरीलाई उहीँ रातो पास देखाए। प्रहरीले उनलाई केही पनि सोधेन। उनी सरासर अघि बढे।

त्यसपछि हामी म बसेको होटलमा गयौं। मैले उनलाई आफ्नो व्यस्तताका बाबजुद पनि यसरी समय निकालेकोमा धन्यवाद दिए। उनको फुर्सद र व्यस्तता सोधे। उनले आफू फुर्सदिलो भएको बताए। मैले बाइकमा तेल आफूले राख्ने प्रश्ताव गरे। ट्याक्सी चडेको भए भाडा लाग्थो। त्यसैले बाइकमा तेल हाल्ने निधो गरेको थिए। उनले पर्दैन भने। भोलीपल्ट हामी काठमाडौंका पशुपति, नगरकोट लगायत प्राय धेरै ठाउँ घुम्यौं। उनी त्यस्ता केही ठाउँमा उहीँ रातो पास प्रयोग गरिरहन्थे। 

साँझ पर्‍यो। मेरो मनमा कौतुहलता जाग्यो। मैले सोधे, 'तपाईं कुन पत्रिकामा काम गर्नुहुन्छ? अनि तपाईंको विधा के हो? पर्यटन कि अपराध? अर्थ वा वाणिज्य? कुन विषयमा कलम चलाउनु हुन्छ?' 

उनले छोटोमा जवाफ दिए,'म पत्रकार हो। अब किन चाहियो तपाईंलाई बढी कुरा?' मैले म पनि कहिलेकाहीँ समाचार लेख्छु। मानव तस्करी अनि समसामयिक विषय मेरो लेख्न क्षेत्र हो। तपाईंसँग त रातो पास छ। त्यसैले तपाईं ठूलै मिडीयामा आवद्द हुनुहुन्छ जस्तो लागेर सोधेको भने। उनले 'पत्रकार हुन प्रेस पास लिन समाचार लेखेर मात्र हुँदैन आफ्नो मान्छे पनि हुनुपर्छ।' भने।
 
हामीबीच संवाद बाख्लो भैरहेको थियो। म निजिकिएको थिए। त्यही बेला मैले पनि रातो पास लिने चाहना राखे। तपाईं मेरो आफ्नो मान्छे। मलाई पनि पत्रकारले पाउने रातो पास मिलाउनुस्। उनले भने, 'तपाई २/३ महीना नेपाल बस्नुहोस्। यहाँ दर्ता भएका १/२ मासिक, पाक्षिक, त्रैमासिक कुनै न कुनै पत्रीकामा १/२ लेख लेख्नुहोस्। २/४ महीनाको अफिस भाडा तिरिदिनुस्। कुरा सामान्य छ।' उनले यति भने म तीन छक परे। 

नेपाली पत्रकारिताको विश्वसनीयतामा किन ह्रास आयो? पत्रकारले पाउने रातो पासको दुरुपयोग कसरी भैरहेको छ? अनि प्रेस पासको आडमा देशका संवेदनशिल क्षेत्रमा कसरी विना रोकतोक मान्छे आवजजावत गर्छन्? म सोचमग्न भए। अनी मनमनै सोचे यहाँ प्रेस स्वतन्त्रताको दुरुपयोग भैरहेको छ। पत्रकारका संघ संस्थाको बारे सोचे, समाचारको नाममा २र४ अक्षर लेख्न नजान्ने पनि पत्रकार हक हितका कुरा गर्छन्।

आफ्नै पत्रकारलाई ६/६ महिनाको तलव नदिने मिडिया हाउसका मालिकहरु नै श्रम शोषणविरुद्ध कुरा बोल्छन्। अनि, ठूला नेताको पहुँचमा रातो पास लिन्छन्। यी यावत कुरा सोच्दै ती पत्रकारसँग विदा भए।

आज पनि कसैले म पत्रकार हुँ भन्यो भने मलाई उनी याद आउँछ। रातो पास देखायो भने तिनै पत्रकारको मुहार देख्छु। तिनीसँगको यात्राका दृश्यहरु नाच्छन्, दिमागमा। त्यो यात्रा बहुत यादगर छ। दृश्यहरु दिमागमा डेरा जमाएका छन्। जय होस्, नेपाली पत्रकारिता भित्रको पित पत्रकारिता।

प्रकाशित मिति: : 2019-12-24 03:42:34

प्रतिकृया दिनुहोस्