मर्नुअघि नेपाल घुम्ने धोको छ, पोर्चुगलका ७५ वर्षका कलाकार म्यानुअलको 

उनले अहिले नै नेपालको हिमाल र पोर्चुगलको समुन्द्र तथा पोर्चुगलका वास्तुकला र नेपालका मठमन्दिरलाई एउटै चित्रमा प्रस्तुत गरेका छन्। 

पोर्चुगलमा ७५ वर्षीय एकजना यस्ता कलाकार छन्, जसको जीवनको अन्तिम धोको नै नेपाल घुम्नु रहेको छ। 

उनले विश्व नचहारेको ठाउँ छैन। तर, जीवनको उत्तराद्र्धमा आइपुग्दा नेपाल जान नसकेकोमा उनी केही निरास र भावुक पनि छन्। हिजोआज उनी नेपाली ढाका टोपी लगाएर पोर्चुगलको राजधानी लिस्बनमा चाहर्दै गरेको भेटिन्छन्। 

अर्को वर्ष उनी नेपाल आउन पैसाको जोहो गरिरहेका छन्। यसका लागि उनले आफ्ना पेन्टिङ बेचिरहेका छन्। 

म्यानुअल पम्बिनियो। जसले युवा अवस्थामै नेपालको विषयमा सम्पूर्ण जानकारी राखेका थिए। तर, जीवनको रस्साकस्सीका बीच नेपाल आउने साइत कहिल्यै जुरेन। अहिले भने उनी अन्तिम इच्छा पुरा गर्ने अभियानमा सक्रिय छन्। 

म्यानुअलको जन्म अलेन्तेजोस्थित पोर्चोलोमा सन् १९४५ मा भएको थियो। उनी ९ वर्षको हुँदा उनको परिवार मध्य अफ्रिकी देश अंगोला पुगेको थियो। त्यति बेला अंगोला पोर्चुगलको उपनिवेश थियो। उनको अध्ययन अंगोलाकै राजधानी लुवान्दास्थित इस्कोला इन्डस्ट्रियल डे लुवान्दामा भयो। जहाँ उनले कलाको अध्ययन गरे। अध्ययन सम्पन्न भएपछि २ वर्ष त्यही अध्यापन पनि गराए। 

अंगोलामै रहँदा उनी पोर्चुगलको सेनामा पनि भर्ति भए। उनले ४ वर्ष सैन्य जीवन बिताए। फेरि ५ वर्ष शिक्षण पेशामा फर्किए। अंगोला सन् १९७५ मा पोर्चुगलको उपनिवेशबाट स्वतन्त्र भयो। यसपछि थुर्पै पोर्चुगालीहरू अंगोला छोडेर ब्राजिलतर्फ हानिए। म्यानुअलको परिवार पनि ब्राजिलतर्फ लाग्यो। 

म्यानुअलले ब्राजिलमै विहेबारी गरे। ४० वर्ष ब्राजिलमा बसोबास गरेपछि उनलाई आफ्नै देशको याद आयो। 

उनी ७० वर्ष कटेपछि सपरिवार पोर्चुगल आउन चाहन्थे। परिवारले उनलाई साथ दिएन। यसपछि उनी एक्लै आफू जन्मिएको देश फर्किए। 

केही वर्ष उनले आफ्नो चित्र बेचेर लिजवनमा गुजारा चलाए। सन् २०१७ को अन्त्यतिर लिजवनमा अंगोलामै उनीसँग पढेका र उनले अध्यापन गराएका शिक्षक तथा विधार्थीबीच पुनर्मिलनको कार्यक्रम थियो। यहाँ उनले आफ्नो सयौं विधार्थी भेटाए। 

यहीँ सुखदुःख साटासाट गर्ने क्रममा म्यानुअलले लिजवनमा आफू बस्ने एउटा कोठा पनि नभएको दुःखेसो सुनाए। 

उनको वेदना सुनेर एक विधार्थीको छोरा रुइले उनलाई १ वर्षका लागि लिजवनमा निःशुल्क बसोबास गर्ने व्यवस्था मिलायो। म्यानुअल आफ्नो ७३ औं जन्मदिन देखि आफ्नो विधार्थीको छोराको अपार्टमेन्टमा बसेर चित्रकारिता गरिरहेका छन्। 

अंगोलामा सेनामा भर्ति हुँदा उनले गोर्खा सैनिकको बहादुरी सुनेका थिए। स्कुलमा अध्यापन गराउँदा उनले कैयौ पल्ट विश्वको सर्वोच्च हिमाल सगरमाथाको चित्र कोरेका थिए। 

‘म त्यति नै बेला सोच्दथे, गोर्खाहरूको देश कहिले जाउँला? हिमालको चिसो हावामा कहिले रमाउला?’ लिजवनमा नेपाली टोपीमा भेटिएका म्यानुअलले बिएल नेपाली सेवासँग भने। 

उनले धेरै अगाडि आफ्नो विधार्थीको छोराको कोठामा माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमाल र लुम्बिनी र सगरमाथाको फोटो भित्तामा देखेका थिए। उनलाई त्यति बेला पनि नेपालको सौन्दर्यताले तानेको थियो। 

‘नेपाल जान र त्यहाँ एक महिना बस्न लाग्ने खर्चको जोहो गरिरहेको छु। २ हजार युरो भए पुग्छ होला,’ उनले भने–‘मलाई नेपाल पुगेर चित्र कोर्न मन छ। म नेपालको स्कुलमा पुगेर ४–५ दिन साना बच्चाबुच्चीलाई चित्र कोर्न सिकाउन चाहन्छु।’

उनले अहिले नै नेपालको हिमाल र पोर्चुगलको समुन्द्र तथा पोर्चुगलका वास्तुकला र नेपालका मठमन्दिरलाई एउटै चित्रमा प्रस्तुत गरेका छन्। 

अहिले पनि उनको रोजिरोटी चित्र बेचेर नै गुजारा हुन्छ। उनी चित्र बेचेर भएको आम्दानीको पैसा खुत्रुकेमा जम्मा गर्छन। भन्छन्, ‘मर्नुअघि नेपाल जान्छु। सम्भव भए अर्को वर्ष जनवरी २ मा मेरो जन्मदिन हिमालको काखमा मनाउन चाहन्छु। हिमाल र नदीको बीचमा रमाउने इच्छा छ।’

प्रकाशित मिति: Jan 21, 2020 17:54:20

प्रतिक्रिया दिनुहोस

सबै