कलामा 'आस्था' पनि छन्, बर्दीमा 'रमिता' पनि

कलामा 'आस्था' पनि छन्, बर्दीमा 'रमिता' पनि

चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा
पखेरीमा, घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी
मलाई, म जस्तै माया चाहिन्छ 

यो गीत गाएर आधुनिक नेपाली छोरीको बोल्ड छवि बनाएकी गायिका आस्था राउत अहिले भाइरल भएकी छिन्। आस्था राउत प्रकरण नै भनिएको यो विषयमाथि अनेक टीका टिप्पणी भएका छन्। गाली आएको छ, ताली आएको छ। यो क्रम थामिएको छैन, जारी छ।

यस क्रममा आस्थाको अटिट्युड पनि देखिएको छ, क्रोध पनि देखिएको छ, आँसु पनि देखिएको छ। यी सबैबाट एक गायिकाका अतिरिक्त आस्थामा के के रहेछ ?; सभ्यता, संस्कृति, शिष्टता आदि/इत्यादि सबै देखिएको छ।

घटनाक्रमको पछिल्लो चरणमा उनीविरूद्ध अभद्र व्यवहार गरेको उजुरी नै परेको छ। त्यसमाथि छानबिन जारी छ । के हुन्छ?, त्यो त घटनाक्रम कसरी विकसित हुन्छ?, त्यसैमा निर्भर होला। 

यो त भयो, सतहको कुरा। गर्तमा गएर हेर्ने हो भने हामी एउटा निष्कर्षमा पुग्न सक्छौैं,  हाम्रो समाजमा कलाकारका नाममा आस्था पनि छन्, प्रहरीका नाममा रमिता पनि । तर, ती दुबै हाम्रो समाजले उत्पादन गरेका र मान्यता दिएका प्रतिनिधि पात्र मात्र हुन् । 

यो निस्कर्षमा पुग्नुअघि समाजशास्त्रीय कोणबाट दुबै पक्षको मिमांशा गर्न जरूरी छ। 

पहिला कलाकारको कुरा गरौं, 

धेरै वर्षअघिको कुरा हो, मुलुकमा हरेक कुराको 'महेन्द्रपथीय परिभाषा' चल्थ्यो। त्यही परिभाषाअनुसार कलाकारलाई राष्ट्रको गहना भनिन्थ्यो। गहना हुन पाएकोमा खुशी थिए कलाकारहरू। उनीहरू सगौरव भन्थे, हामी राष्ट्रका गहना हौै। उनीहरूमध्ये धेरैमा त्यो चेत नै थिएन कि उनीहरू शिरमा सजाइने सुनफूल थिएँ वा पाउमा लगाइने पाउजु? जे भए पनि उनीहरूमध्ये अधिकांश खुशी थिए, पुस १ गते होस् वा १४ गते 'हाम्रो देश हाम्रो राजा- प्राणभन्दा प्यारो छ' भन्दै कुर्ली कुर्ली नारा लगाउँथे।

हामी भन्थौैं, कलाकार गहना हैनन् चाहिएको बेला लगाउने, नचाहिएको बेला फुकाल्ने। उनीहरू त राष्ट्रका अभिन्न अंग हुन्। यही कोणबाट उनीहरूले आफ्नो अर्थ र उपादेयता खोज्नुपर्छ। यसो भन्ने हामीहरू त्यतिबेला अत (अराष्ट्रिय तत्व) भनिन्थ्यौं, कतिपय ती कलाकार नै हाम्रो बारेमा पुलिसकोमा कुरा पुर्याएर अप्ठ्यारोमा पार्थे।

समयक्रममा राजनीतिक पद्धति नै परिवर्तन भयो। त्यससँगै धेरै कुराको क्रमभंगता भयो। मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको युग आयो। योसँगै धेरै क्षेत्रमा उछाल आयो। कलाकारिताको क्षेत्रमा त एक किसिमको रेनेसा नै आयो भने पनि हुन्छ। उनीहरू रातारात कोही  चारतारे भए, कोही हसिया हथौडावाला भए। र, नयाँ पद्घतिमा सिनेमाको रिल फेरिएझै फेरिए। शायद समयको माग नै थियो त्यो।

देश/ जनताले कलाका लागि वीउ दिए, विजन दिए, भावना दिए र अन्तत: बजार पनि दिए। त्यो बजारमा उनीहरूले आफ्नो कला बेचे; अझ इमोशनल ब्ल्याकमेलिङ गरेर बेचे। अब पनि के दिनु उनीहरूले ? देश त यसै पनि गरीव छ- के दिन सक्छ र यसले ?

सबै क्षेत्रको वैश्यकरण भयो। यस क्रममा कला पनि अछुतो रहेन, कमोडिटीमा परिणत भयो। अर्थात् कलाको जबर्जस्त व्यापार सुरू भयो। त्यसका लागि मिडियाका अनेक प्लाटफर्म आए। अहिले त कला यति विकृत रूपमा किनबेचको ब्यापारिक विषयवस्तु बनाइएको छ कि बरू मम ब्यापारमा मूल्य, मान्यताले काम गर्छ; तर कलामा गर्न छोडेको छ।

कुनै समय थियो, कलाको व्यापार हुदैनथ्यो, पूजा हुन्थ्यो। त्यतिबेला कलाकारको सम्मान हुन्थ्यो, उनीहरू त्यसका लागि योग्य पनि थिए। तर, अहिले त्यस्तो छैन, कला ब्यापार भएपछि मम व्यापारी र कला व्यापारी बराबर भएका छन्। मूल्य मान्यतामा आधारित सबै व्यापारीको म सम्मान गर्छु,  यहाँ मम व्यापारीलाई विम्बका रूपमा मात्र  प्रयोग गरिएको हो किनभने नेपालमा कुनै समय भैसीको मासु हालेर खशीको मम भनेर बेच्ने पेशाका रूपमा मम व्यापारलाई लिइन्थ्यो; मम ब्यापारीको इज्जत थिएन। 

अब कलाकार पनि मम व्यापारीजस्तै भएपछि उनीहरूलाई अतिरिक्त मान सम्मान दिनु आवश्यक छैन; उनीहरूले माग्न पनि मिल्दैन। 

तर, हाम्रो समाज कर्तव्य चाँहि पटक्कै नगर्ने तर अधिकार चाँहि नभएको पनि माग्ने सोसल इन्जिनियरिङले तागतदार बनाएको समाज हो। म समाजको हरेक उपल्लो बर्गले समाजको खासगरी तल्लो तह र तप्काका मानिसबाट अतिरिक्त मान सम्मान नै खोजेको देख्छु; देश र समाजबाट केही नपाएको भनेर गुनासो गरेकै सुन्छु। अझ कलाकारिता क्षेत्रबाट त 'हामीले देशका लागि यत्रो गर्यौ, उत्रो गर्यौ। खै देशले के दियो ?' भन्ने गरेको पनि सुनेको छु ।

यसमा मेरो फरक मत रहदै आएको छ, देश/ जनताले कलाका लागि वीउ दिए, विजन दिए, भावना दिए र अन्तत: बजार पनि दिए। त्यो बजारमा उनीहरूले आफ्नो कला बेचे; अझ इमोशनल ब्ल्याकमेलिङ गरेर बेचे। अब पनि के दिनु उनीहरूले?  देश त यसै पनि गरीव नै छ- के दिन सक्छ र यसले? दिने भनेको पञ्चायतमा गोरखा दक्षिण बाहू र अहिले गणतन्त्रमा पनि नानाभातिका तक्माहरू हुन्, ती त उनीहरूले आफ्ना मान्छे ठाउँमा हुँदा पाएकै छन्। 

आस्था राउत, पछिल्लो पुस्ताकी अलिक फरक स्वरको 'युएसपी' भएकी गायिका हुन्। उनले छोटो समयमै अलि लामै फड्को मारिन्, यसले उनलाई एक किसिमको 'प्याम्पर्ड गर्ल' बनायो। अझ भ्वाइस अफ नेपालको एक मेन्टर भएर त्यसमा उनी जे गर्न/भन्न पनि स्वतन्त्र भएपछि त उनमा सेलिब्रेटी भएको र आफूले जे गरे पनि हुने रहेछ भन्ने एक खालको प्रवृति विकास भयो। 

विमानस्थल काण्ड त्यही प्रवृतिको खुला प्रदर्शन हो।

अब प्रहरीको कुरा गरौं । 

कुनै समय थियो, नेपालमा प्रहरीको ठूलो बोलावाला थियो। ठूला ठाउँमा ठूलै फुलिवालाको चल्थ्यो भने गाउँका चौकीमा हवल्दार नै राजा हुन्थ्यो, प्रहरीको पनि मज्जाले चल्थ्यो। उसको एउटा रिपोर्टले कसैको जिन्दगी नै सधैंका लागि ब्लाकलिस्टेड हुन्थ्यो ।

शक्तिको पूजा कहाँ हुदैन र? त्यसमा पनि नेपालमा त अलि बढी नै हुन्छ। आफ्नो स्वार्थसिद्धिका लागि निर्दोष पशुपंक्षीको बली दिने सनातनी समाज हो हाम्रो। यसैबाट अनुमान गर्न सकिन्छ कि हामी कति शक्तिको पूजा गर्छौं भनेर।

प्रहरीको बर्दीमा नेपालमा धेरै कुरा भएको छ, हिजो पनि आज पनि। हामी अझै पनि बाबुनानीलाई डर देखाउनु पर्यो भने पुलिस बोलाउने कुरा गर्छौं । यसले नै हामीमा प्रहरीको छवि कस्तो बनेको रहेछ ?, ऐना देखाउने काम गर्छ। 

प्रहरीको बर्दीमा नेपालमा धेरै कुरा भएको छ, हिजो पनि आज पनि। हामी अझै पनि बाबुनानीलाई डर देखाउनु पर्यो भने पुलिस बोलाउने कुरा गर्छौं । यसले नै हामीमा प्रहरीको छवि कस्तो बनेको रहेछ ?, ऐना देखाउने काम गर्छ। 

यो नेपाल प्रहरीको आम छवि हो, अपवाद जहाँ पनि हुन्छ। तर, यसो भन्दैमा सबै प्रहरीलाई एउटै ड्याङका मुला भनेर सामान्यीकरण गर्न पनि हुदैन।

लोकतन्त्र हुँदै गणतन्त्र आएपछि प्रहरीको शक्तिमा ठूलो क्षयीकरण भएको छ। तर, उसको छवि अझै पनि पूरै बदलिइसकेको भने छैन। 

रमिता श्रेष्ठ अपवादमा पर्छिन् वा त्यही सामान्य छवि भएकी प्रहरी हुन्, यसको लेखाजोखा उनलाई जान्ने बुझ्नेहरूले गर्लान्। तर, नेपालमा एयरपोर्टमा ड्युटी बझाउने प्रहरी जुनसुकै पदका भए पनि उनीहरूको पदमा शक्तिशाली नै हुन्छन्।अतिरिक्त शक्ति नएकाहरू त्यहाँ पुग्न गाह्रै छ।

रमिताको हकमा पनि त्यो लागु नहोला भन्न सकिन्न। अरू ज्याकेट लगाएरै गैरहेको फ्रुटेज देखिन्छ, त्यसबाट उनको व्यवहार पनि आस्थालाई उत्तेजित बनाउँन जिम्मेवार थियो कि?, भन्ने अनुमान लगाउँन गाह्रो पर्दैन।

अब समग्रमा कुरा गरौ । 

आस्था र रमिता दुई प्रतिनिधि पात्र हुन्- नेपाली कलाकार र प्रहरीका। यी दुबै नेपाली समुदायले उत्पादन गरेका पात्र हुन्। हाम्रो समाजले कलाकारलाई अर्कै ग्रहबाट आएका विशेष प्राणीका रूपमा  ग्रहण गर्यो, त्यसबाट उनीहरूमा यस्तो भ्रम सिर्जना भयो कि उनीहरू विशेष मान्छे हुन्, उनीहरूलाई जहाँ पनि विशेष व्यवस्था हुनुपर्छ। 

उता, प्रहरीमा पनि यस्तो भ्रम छ कि बर्दी लगाएपछि मैले जे गरे पनि हुन्छ। रमिताले पनि बर्दीलाई त्यही रूपमा बुझेकी हुन सक्छिन्।किनभने उनले जे व्यवहार गरिन्, त्यो फुली लगाउँनेलाई हेरेरै सिकेकी हुन्।उनको व्यवहार पनि 'सत्य सेवा सुरक्षा' भन्ने प्रहरीको मूलमन्त्रअनुसारको त देखिएन। 

तर, यो समग्र परिघटनामा आस्था बढी चुकेकी छिन्। हो, प्रहरीमा बर्दीको धङधङी छ, धेरै सर्वसाधारण प्रहरीको 'तँ' व्यवहारबाट पीडित छन्। यो सत्य हो, तर योसँगै आस्था त्योभन्दा तल गिरेको पनि सत्य हो। रमिताले तँ भनिन् भनेर जङ्गिने आस्थाले प्रयोग गर्ने भाषा पनि तँ नै छ। आफूलाई कलाकार र विशेष ठान्ने आस्थाबाट भएको व्यवहार स्वभाविक हैन। अझ, उनको बडी ल्याङ्गवेज हेर्दा उनमा मानसिक समस्या पनि छ कि भन्ने खालले सोच्ने ठाउँ दिन्छ।

रमिताले तँ भनिन् भनेर जङ्गिने आस्थाले प्रयोग गर्ने भाषा पनि तँ नै छ। आफूलाई कलाकार र विशेष ठान्ने आस्थाबाट भएको व्यवहार स्वभाविक हैन। अझ, उनको बडी ल्याङ्गवेज हेर्दा उनमा मानसिक समस्या पनि छ कि भन्ने खालले सोच्ने ठाउँ दिन्छ।

रह्यो सञ्चारकर्मको कुरा, अहिले लाइभ, सब्सक्राइव, भ्यूज, रिच, लाइक र अलेक्साको जमाना छ। यसका पछाडि सञ्चारकर्मका सबै तुनाबुना खोल्नेहरू लाइन लागेर प्रतिस्पर्धामा छन्। आस्थाको यो हर्कत  पनि त्यस्तै एउटा स्यूडो इभेन्ट हो। जिम्मेवार पत्रकारिताका लागि भने यो एउटा नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहारजस्तै परिघटना हो।

समग्रमा यो कलाकार र प्रहरी दुबै पक्षका लागि ऐेना हेर्ने एउटा प्रतिनिधि घटना हो। कलाकारले पनि हामी कलाको व्यापार गरिरहेका छौै भन्ने सत्य स्वीकार गरेर अतिरिक्त मान, सम्मानको अपेक्षा गर्नुहुदैन, प्रहरीले पनि बर्दीको बलमा जो कोहीलाई पनि तँ भन्ने छुट पाउँनु हुदैन। 

नेपाली समाजले चाँहि यो सत्य स्वीकार्नुपर्छ कि हाम्रो समाजमा आस्था पनि छन्, रमिता पनि । ती दुबै समाजले नै उत्पादन गरेर मान्यता दिएका प्रतिनिधि पात्र हुन् । 

प्रकाशित मिति: Jan 18, 2020 23:54:43

प्रतिक्रिया दिनुहोस