विश्वासघात

कथा

मैले  धेरै सपना सजाएर श्रवणसँग विवाह गरेकी थिएँ। त्यसो त श्रवणले पनि हजारौंपटक कसम खाएको थियो मलाई खुशी राख्ने। तर जब हाम्रो विवाह भयो श्रवणको कसम कता गयो कता। विवाह भएको दुई महिनासम्म पनि मुस्किलले राम्रोसँग बोल्यो होला ऊ मसँग। नत्र त उसले मलाई आफ्नो पैतलाको धुलोमात्रै सम्झिन्थ्यो।

कडा थिए श्रवणका परिवार। कडा मात्रै हैन परिवारमा सासु, ससुरा, देवर, जेठाजु, जेठानी, बुढीसासु अनि म र श्रवण गरि सदस्यनै ८ जना थियौं।

मेरो बिहानको एक घण्टा त उनीहरुको लागि चिया, ब्रेकफास्ट बनाउनमै जान्थ्यो। अनि त्यसमाथि मेरो अफिस। ठ्याक्कै दश बजे पुगिएन भने केही काम भ्याईदैन थियो। त्यसमाथि श्रवणको अलिकति पनि सर्मथन थिएन मलाई।

 विवाह गरेको वर्षदिनमा जब मेरो पेटमा बच्चा बस्यो सबै जनाले छोरा नै पाउनुपर्ने दबाब दिए । मानौं की छोरा पाउनु मेरो बसको कुरा हो। घरका  सबैजना एउटै पक्ष लाएर बोल्दै थिए ‘सुप्रिया यो हाम्रो खानदानको पहिलो बच्चा हो त्यसैले  छोरा नै चाहिन्छ है।’

जेठानीको विवाह गरेको पाँच वर्ष भईसक्दा पनि कुनै बच्चा नभएको कारणले पनि होला उनीहरु मबाट छोराको अपेक्षा राख्थे।

मेरो मनमा त्यतिबेलै ज्वाला दन्किन थालिसकेको  थियो। आखिर छोरा र छोरीमा के नै फरक छ र? तर, यो समाजले अझै पनि छोरालाई जस्तो महत्व छोरीलाई दिन सकेको छैन। त्यसैले त दिनरात मेरा परिवार मेरो जन्मिदै नजन्मेको छोराको नाम जपेर बसेका थिए। तर, परिस्थिति मेरो परिवारले सोचेभन्दा बिल्कुल फरक निस्कियो। भिडियो एक्स-रे बाट जब गर्भमा छोरी भएको कुरा प्रस्ट भयो, तब मेरो श्रीमान श्रवणले मलाई धेरै पटक गर्भपतन गराउन दबाब दियो। श्रवणको यो दबाबमा सासु र ससुराको पनि उत्तिकै साथ थियो। तर, मैले उनीहरुको कुरा पटक्कै सुनिनँ। मैले अनेक बचन सहेर भए पनि छोरीलाई नै जन्म दिएँ।

मेरो छोरी जन्मेपछि मेरो बाहेक कसैको आखाँमा खुशी देखिएन। परिवारलाई कुल धान्ने छोरा चाहिएको थियो। श्रवणको परिवार सम्पन्न थिए। बंगला, गाडी, घरभरि नोकर चाकर सब थियो। त्यस्तो घरमा विवाह गरेर गए पनि मेरो मनमा शान्ति थिएन, घरमा खुशी थिएन।

आधुनिक युगको नारी भएर पनि कयौं यातनाहरु सहेर बाँच्नु पर्थ्यो मैले।

श्रवण मेरो कुरा पटक्कै सुन्थेन। आफ्नै ईच्छाले विवाह गरेर ल्याए पनि श्रवणले मसँग मन कहिल्यै बाँडेन चार पाँच पटक शरीर बाँड्यो बस् त्यो बाहेक केही बाड्न चाहेन उसले मसँग। हुन त प्रेम विवाह गरेका थियौं हामी दुबैले। तर परिस्थितिले हाम्रो विवाहबाट प्रेम खोसेर विवाहलाई मात्रै छोडिदियो। छोरीको जन्मपछि दिनहूँ घरको कलह र झगडाले मलाई श्रवण र उसको परिवारसँग बस्नै मन लागेन।

मेरो लागि छोरी सबथोक थिई। सबैभन्दा प्यारी नै यही छोरी थिई। यही छोरीको मुख हेरेर जसोतसो जीवन चलाईरहेकी थिएँ। श्रवण र उसको परिवारले दिएको दिनरातको यातना सहनुभन्दा मलाई छोरी लिएर छुट्टै बस्नु नै उचित होला झैं लाग्यो। अन्ततः आफ्नो १५ महिनाको छोरी लिएर म घरबाट निस्केँ। माईती जान पनि मन लागेन मलाई। जे जस्तो भए पनि परेको बेला त साथी नै याद आउँदो रहेछ। मैले तुरुन्तै विनितालाई फोन गरेँ।

विनिता मेरो सानैदेखि सँगै पढेको साथी हो। पछि कलेज पनि हामीले सँगै पढका थियौं। हाम्रो यही समूहमा जोडिन आईपुगेको थियो श्रवण। श्रवण, म र विनिता एक आपसमा साह्रै नै मिल्थ्यौं। हामी केटीहरुको समूहमा श्रवणलाई देखेर साथीहरुले हामीलाई नजिस्काएका पनि हैनन्। तर, पनि श्रवणलाई यी सबै कुराको कुनै पर्वाह थिएन।  त्यतिखेरैदेखि श्रवण र मैले एक अर्कालाई मन पराउन थालेका थियौं।

***

श्रवणको घरबाट छोरी लिएर निस्केपछि मैले  विनितालाई फोन गरेर सबै वृतान्त सुनाएँ। विनिताले मलाई तुरुन्तै आफ्नो घरमा बोलाई। म सरासर छोरी लिएर विनिताको घरमा गएँ। बिनिता र म बसेर आफ्नो बाल्यकालको क्षणलाई स्मरण गर्दै आफ्नो मनको कुरा साटसाट गर्‍यौं।

त्यस रात खबरै नगरी हिँडेकी मेरो मनमा कता कता डर पैदा भईरहेको थियो। तर, मैले मोबाईल नै स्विच अफ गरेकी थिएँ । त्यसैले म ढुक्क भएर बिनितासँग गफ गर्न थालेँ।

विनिता र मेरो गफ चलिरहेको थियो। तर, विनिता घरीघरी मोबाईलमा कसैलाई म्यासेज गरिरहेकी थिई। तर कोसँग के कुरा गरीरहेकी छे अनि मसँग किन उसले कुरा लुकाईरहेकी छे  मैले थाहा पाईनँ। मैले उसको व्यक्तिगत कुरा जान्ने चेष्टा पनि गरिनँ।

भोलिपल्ट बिहान मोबाईल चार्जमा राखेर विनिता नुहाउन वाथरूम पसी। म त्यही उसको रूममा  बसेर पत्रिका पढ्दै थिएँ। विनिताको मोबाईल बज्यो। मोबाईलमा जसको नम्बर थियो त्यो देखेर मेरो होस उड्यो। जमिन भासिए झैं भयो। फोन गर्ने श्रवण थियो।

पहिला त मैले यो सोचेँ कि, श्रवणले मेरै बारे बुझ्न विनिताको मोबाईलमा फोन गरेको हो। तर कुरा अर्कै निस्कियो। घटनाले अर्कै मोड लियो। अनि मेरो जीवनले पनि।

जब श्रवणको फोन आउन बन्द भयो तब मैले विनिताको मोबाईल पूरै चेक गरेँ। श्रवण र विनिताको म्यासेज यस्तो थियो कि, जसबाट उनीहरु दुई प्रेम सम्बन्धमा भएको प्रस्ट हुन्थ्यो।

मेरो दिमाग बेस्सरी तात्यो। सारा संसार अन्धकार देखेँ। मैले बल्ल बुझेँ हिजो राति कसलाई म्यासेज गरेकी थिई विनिताले भनेर। एकैछिनमा विनिता वाथरूमबाट निस्की। ऊ यसरी व्यवहार गरिरहेकी थिई की मानौं केही भएकै छैन।

म क्रोधले चुर भईरहेकी थिएँ। मन त थियो कि विनितालाई गएर गालामा झाप्पड हानौं। तर, सबैभन्दा ठूलो गल्ती त श्रवणकै थियो। मलाई रातो रातो परेको आँखामा  देखेर विनिता अचम्ममा परी। उसलाई यो थाहा थिएन कि उसको मोबाईलमा भएको श्रवणको म्यासेज मैले पढिसकेकी थिएँ। अनि आफ्नो पति कहलिएको श्रवणसंग झन् धेरै रिस उठ्यो मलाई। म साहस बटुलेर बिनितासँग केही बोल्न खोज्दै थिएँ। तर, ठ्याक्कै त्यसैबेला कसैले ढोका ढकढकायो।

विनिताले ढोका खोली। ढोकामा उभिएको थियो श्रवण। श्रवण मलाई लिन होइन विनितालाई भेट्न आएको थियो। ‘सुप्रिया तिमीलाई एक न एक दिन हामीले यो कुरा थाहा दिनु नै थियो, ठिकै भयो आजै थाहा पायौ,’ अचानक विनिताको यस्तो कुरा सुनेर म छक्क परेँ। म्यासेजमा देखेका सबैकुरा सहि रहेछ भन्ने कुरामा म विश्वस्त भएँ।

आफ्नै साथी कति खेर सौता बनेर आई मैले थाहा पाईनँ। मैले श्रवणको मुहारमा हेरेँ अलिकति पनि पश्चाताप थिएन। आफ्नो सामान र सानी छोरी लिएर म ढोका बाहिर निस्किदैं गर्दा विनिता र श्रवण प्रेममा लिप्त हुँदैं थिए।

आफूमाथि भएको यति ठूलो विश्वासघातले मन भतभत पोलिरहेको थियो। शरीर गलिरहेको थियो। आफ्नै बाटो लागेँ  छोरी बोकेर जसको कुनै गन्तव्य थिएन।

प्रकाशित मिति: : 2020-01-19 00:06:38

प्रतिकृया दिनुहोस्