अमेरिकामा सामाजिक संस्थाले चन्दा माग्न आए के गर्ने?

अत: अमेरिकामा सामाजिक सस्थाले आर्थिक सहयोग र चन्दा माग्न आए नेपाली हौ, नातागोताका हाै वा राजनीतिक आस्था मिलेकाे भन्दै भावनामा बगाउन खाेजे तलका बुँदामा ध्यान दिनुहोला:

अमेरिकामा सामाजिक संस्थाले चन्दा माग्न आए के गर्ने?

कुनै पनि समुदायको प्रगति त्यो समुदायको सामाजिक स्वरूप कस्तो छ भन्नेकुरामा निर्भर गर्छ। यसका साथै त्यस समुदायमा सञ्चालित संघ-संस्थाले कस्तो प्रकारका सार्वजनिक, सांस्कृतिक, सामाजिकलगायतका समाजमुखी गतिबिधि तथा कार्ययोजना ल्याएका छन् भन्ने कुराले अहम महत्व राखेको हुन्छ।

सामाजिक संघ-संस्थाले त्यो समाजप्रति पुर्‍याएको योगदान र त्यसले समुदायमा पारेको सकारात्मक प्रभावको आधारमा पनि त्यो कस्तो समुदाय हो? त्यसको छनक पाइन्छ। प्रवासमा सस्तो लोकप्रियता र नामका लागि समाजसेवाको मार्ग समाती यस पुण्य कार्यलाई सस्तो र विकाउ बनाइदैछ।

सर्वप्रथम सामाजिक सेवा वा समाज सेवाका बारेमा केही जानकारी राख्दैछु।

सामाजिक संघ-संस्थाको मूलधर्म

समाजसेवाको मौलिक चरित्र भनेको यसमा कुनै नाफा र घाटाको हिसाब नहुनु नै हो। त्यसैले कसैले समाजसेवा गर्छु भनेर ईच्छा जाहेर गर्दैमा गर्न सकिने होइन। समाजसेवाका लागि समाज रूपान्तरण गर्नसक्ने चिन्तन र कार्यान्वयन गर्नका लागि संस्थागत अनुभव र सामाजिक भावना हुनुपर्छ।

त्यस्तै, पैसाकै भरमा समाजसेवा हुन्छ भनेर सोच्नु पनि मुर्खता हुन्छ। पैसा त  समाजसेवाको साध्य होइन, एउटा साधन मात्र हो। समाजसेवाको मुख्य उपलब्धि भनेको त निस्वार्थ भावले गरिने एउटा सानो कामबाट समाजले प्राप्त गर्ने सन्तुष्टी नै हो।

त्यसैले निस्वार्थी भावनाले समाजप्रति उत्तरदायी भएर सामाजिक कार्य गर्नु नै सामाजिक संघ-संस्थाको  मूलधर्म हो।

संघ-संस्थाको मूलधर्म बिपरितका गतिविधि

सामाजिक संघ-संस्थाको स्थापना ठूलो कुरा होइन, ठूलो कुरा त संस्थाले समाजमा के कति प्रभाव पार्न सक्यो? संस्थाको कार्यबाट समाजले के कति लाभ लियाे? वा समाज रूपान्तरणमा कस्तो नतिजा आयो? भन्ने नै हो। तर बिडम्वना नै मान्नुपर्ला, अमेरिकाका अधिकांश सामाजिक संघ-संस्थाका अभियन्तामा समाजसेवा गर्ने चेतना नै पाईँदैन।

अमेरिकाको नेपाली डायस्पोराका हरेक सदस्य कुनै न कुनै रूपमा नेपाली राजनीतिको स्वाद चाखेरै आएका हुन्छन्। नेपाल छँदा आफू आवद्ध विद्यार्थी संगठन, कर्मचारी संगठन वा राजनीतिक संगठनको आस्थालाई ठूलै उपलब्धिका रूपमा प्रस्तुत गर्न पछि नपर्नेको ठूलै जमात छ भन्दा फरक नपर्ला। 

नेपालबाट अमेरिका आएपछि शून्यको अवस्थाबाट करियर शुरू गर्नुपर्ने भएकाले सुरूका दिनमा 'सामाजिक' गतिविधिमा केही कमी देखिन्छ। तर, जब एकतहको आधारभूत संघर्ष सकिन्छ, त्यसपछि नेपाल छँदाको पुरानो दबदबा र राजनीतिक स्वाद पुनर्जिवित गराईन्छ। अनि, समान राजनीतिक आस्था बोकेको समूहमा सहभागी भई सामाजिक संघ-संस्थाभित्र हस्तक्षेप गर्ने अवस्थामा पुग्ने गरिन्छ। यो गलत परम्पराले अमेरिकाको नेपाली डायस्पोरा आक्रान्त छ, यतिबेला।

पहिचान संकट:  लहड र रहरका भरमा नाम कमाउने वा नेता हुने मनसायले ग्रसित मानसिकता घातक 

कुनै पनि संस्था खराब उद्देश्य लिएर स्थापना गरिएको हुदैन। सबै सामाजिक संस्थाका असल र विशिष्ट उद्धेश्य हुन्छन्।तर,लहड र रहरका भरमा नाम कमाउने वा नेता हुने मनसायले ग्रसित मानसिकता बोकेकाहरु हाबी हुँदा संस्थाको ब्यबस्थापन प्रणालीको ढाँड भाचिएको स्पष्ट देख्न सकिन्छ। एकातर्फ नेपाली राजनीतिको आस्थावान समुहले सिण्डिकेट खडा गरेको छ भने अर्काेतर्फ सामाजिक संस्था र यसको सञ्चालन बिधिको ज्ञान र अनुभव नभएकाको हालीमुहालीले अधिकांश नेपाली भाषिका सामाजिक स‌ंस्था झोलामा सिमित हुन पुगेका छन्।

सामाजिक संघ–संस्थामा अत्याधिक राजनीतिक हस्तक्षेपका कारण आहात भएको नेपाली समाज अमेरिकी डायस्पोराका केही नेपाली सामाजिक संघ–स‌ंस्थाको संचालनमा नौलो र अनौठो संरचनाको प्रयोग देखेर हैरान छ। तपाई सामाजिक संस्थाका लागि चन्दा दिनुस्, दिएको चन्दा राशीका आधारमा संस्थाका लागि पदीय कुर्सी लिनुस् अर्थात चन्दा–दान र सहयोगमार्फत कुर्सीकाे बाँडफाँड हुन्थालेपछि त्यस संस्थाले समाजका लागि कस्तो प्रतिफल दिने हो?

भगवान भरोसेबाहेक केही भन्नसक्ने अवस्था रहेन। यस्ता गलत प्रयोगप्रति समुदाय सचेत हुन आवश्यक छ। समाजको उत्थान र संस्थागत बिकासका लागि सामाजिक संस्थामा के कस्ता ज्ञाता र अनुभवी हुनुपर्दछ भन्ने कुरामा समुदाय सचेत हुनुपर्ने हो तर चन्दा दिई कुर्सी टपकाउने पदलोलुप्ताले समाज बिस्तारै अवोगतितर्फ उन्मुख हुँदैछ। 

संस्थाको दुई बर्षे कार्यकालमा पहिलो बर्ष जितको उत्सब मनाएर सकिन्छ भने अन्तिम बर्ष गुट–फुट अनि झैै–झगडामै सकिन्छ। एक–दुई वटा गोष्ठी तथा भोजभतेर र नेपाली राजनीतिज्ञको भ्रमणका सेल्फीलाई प्रगतिका रुपमा देखाउन खप्पिस कथित समाजसेवीको ब्यबहार र कार्यशैलीले नेपाली संस्था अलोकप्रिय बन्दै गएका छन्। नेपाली जनसंख्या बढ्दा पनि संस्थाको सदस्यता संख्या र उनीहरुको सहभागिता ओरालो लागेको ग्राफले देखाउँछ। 

समुदायका बासिन्दाहरु चन्दा आतंकले आक्रान्त

संस्थागत उद्धेश्य अनुरुप गतिबिधि कार्यान्वनका लागि काउन्टी, स्टेट तथा फेडरल सहयोगको खोजी र उपलब्ध श्रोत साधनको ब्यबस्थापन गर्नेतर्फ ध्यान नदिई समुदायसँगै चन्दा माग्ने परम्परा बसालेका छन्। यसरी समुदायबाट बर्षौसम्म निरन्तर चन्दा सहयोग हुँदा पनि सामाजिक सस्थाबाट आशातीत उपलब्धि हासिल गर्न नसक्नु समाजको निराशाको प्रमुख कारण हो। लगातार दान सहयोग मात्र मागेर हैरान बनाईएका समुदायका बासिन्दा चन्दा आतंकले आक्रान्त भएर तर्केर हिडन थालेको अवस्था छ। 

तर, दान–चन्दा सहयोग बिना संस्था सञ्चालन सम्भव छैन। समुदायका लागि कुनै निश्चित कार्य गरिने योजना भएको संस्थाका लागि परियोजना सञ्चालन गर्न दाताबाट सहयोग माग्दा कुल लागतको कम्तिमा पनि आधा लागत रकम समुदायको सहभागिता आवश्यक हुन्छ। जबसम्म समुदायले सहभागिता जनाउँदैन वा अपनत्व महसुस गर्दैनन् तब सम्म कार्यक्रमले सार्थकता पाउँदैन। समाजमा सामाजिक संस्थाको कार्यविधि तथा उपलब्धि उपर नियमित गर्नुपर्ने जानकारी नगराइएका कारण आफ्ना सम्पर्क तथा नातागोताबाट भावनात्मक रुपमा प्राप्त चन्दा सहयोग सदुपयोगभन्दा बढि दुरुपयोग हुने सम्भावना हुन्छ। 

अत: अमेरिकामा सामाजिक सस्थाले आर्थिक सहयोग र चन्दा माग्न आए नेपाली हौ, नातागोताका हाै वा राजनीतिक आस्था मिलेकाे भन्दै भावनामा बगाउन खाेजे तलका बुँदामा ध्यान दिनुहोला:

– संस्थाको हालसम्मको प्रगति बिबरण माग्ने।
– कार्यकारी पदाधिकारीले संस्थामा चन्दा सहयोग गरेका छन् कि छैनन् जानकारी लिने।
– आफ्नो सहयोगले समुदायलाई प्रदान गर्ने सेवाका बारेमा सोध्ने।
– यसअघि चन्दा सहयोग दिएको भए त्यसको प्रयोग र समाजले पाएको सुबिधाका बारेमा सोध्ने।
– संस्थागत निजी प्रयोजन जस्तै साधारण सभा  र चुनावका लागि खाना,बसाेबास र भ्रमणका लागि सहयाेग नदिने।
– संस्थागत चुनावी प्रचारप्रसारका लागि चन्दा नदिने।
– ननप्रोफिट ‘५०१सी’ को स्टाटस अपडेट छ छैन जानकारी लिने, वेभसाईट हेर्ने।

निष्कर्ष: सामाजिक संघ–संस्थाको भूमिका निस्वार्थ र गैर–राजनीतिक हुनुपर्छ

आफ्नो समाजलाई सही दिशामा डोर्‍याउने प्रयास समाजकै बुद्दिजिवी तथा संस्था सञ्चालनका अनुभवीबाट गरिनु आवश्यक छ।आफ्नो समाजलाई सुदृढ बनाउने जिम्मेवारी समाजभित्रकै मानिसको हुन्छ। सामाजिक सस्थाले नेपालको राजनीतिलाई छाडेर बिना पूर्वाग्रह समाजसेवाको मर्मअनुरुप स–साना किसिमका कार्यक्रम ल्याई समाजलाई सहयोग गर्न जरुरी छ। जुन सहयोग उपभोग गर्न सकियोस् तथा भावी पुस्ताको लागि असल र उदाहरणीय बन्दै त्यसले एउटा मानक समाज निर्माण गर्न सकोस्।

आफ्ना सन्ततिमा नेपाली भाषा, कला र संस्कृतिप्रतिको लगाव र प्रेम जगेर्ना गर्न सकियो र उनीहरूलाई आफ्नो मूल (ओरिजिन) नेपाल र नेपालीपनसँग जोड्न सकियो भने त्यो भन्दा उत्तम समाजसेवा अरू हुनै सक्दैन। यो सबै ब्यक्तिगत प्रयासबाट मात्र सम्भव छैन। त्यसैले यस्ता किसिमका क्रियाकलाप कार्यान्वयन गर्न समाजसेवा गर्ने अभिप्रायले खोलिएका सामाजिक संघ–संस्थाको भूमिका निस्वार्थ र गैर–राजनीतिक हुनुपर्छ।

तसर्थ त्यो विग्रहबाट बच्न पहिला त संघ–संस्था खोल्ने व्यक्ति नै उदाहरणीय बन्न सक्नुपर्छ। ‘वाचडग’का रूपमा रहेका सामुदायिक सञ्चारकर्मीको पनि यसमा अहम् भूमिका हुन्छ। आफूलाई मन परेको आस्था वा वाद बोकेको मान्छेले गरेको जे लाई पनि वाह देख्ने र मन नपरेकाले गरेको जे मापनि छिछि देख्ने सञ्चारकर्मीको दृष्टिदोषका कारण पनि अमेरिकाको नेपाली डायस्पोराका समाजसेवी तथा सामाजिकअभियन्ताहरू ठेगान लाग्न नसकेको हो।

 

प्रकाशित मिति: Jan 28, 2020 15:41:33

प्रतिक्रिया दिनुहोस

सबै