आँट गरेरै गएँ तर कुरा गर्न सकिनँ

कुरा र कुलो जता लग्यो त्यतै जान्छ भन्थे गाउँघरतिर। अन्तिम प्रश्न भन्दाभन्दै फेरि प्रश्न गर्न मन लागि हाल्यो– ‘त्यसो भए के यो पेशा नैै अपजसे हो त?’

हेमन्त विवश

काठमाडाैं

पूर्ववाल्यावस्थाका इच्छा र चाहना एक प्रकारका हुन्छन् । उत्तरबाल्यावस्थाका दिवास्वप्ना छुट्टै हुन्छन् । यौवनाअवस्थाका छुट्टै। समय र परिस्थितिले पनि कहिलेकाही निम्त्याइ दिन्छ अनेकखाले चाहनाहरू। मान्छेको जिन्दगी भन्नु अभावै अभावको फाँट न हो। कहिले केहीको अभाव कहिले केहीको। व्यक्ति समाज र सरकारी निकायसम्म देखापरेकै हुन्छन्  हरेक प्रकारका अभावहरू।

लाउन र खान, शिक्षा स्वस्थ्यसँगै जन्मदेखि मृत्युसम्म खड्किरहेकै हुन्छ हरेक मान्छेलाई सुरक्षाको अभाव पनि उत्तिकै मात्रामा। सानैदेखि इन्जिनियर बन्ने चाहना राखेका एक युवाका पाइला मोडिएछन् प्रहरी प्रशासनको ढोकातिर। आफ्ना अभाव थाती राखेर जनताको सुरक्षार्थ लामो समयसम्म खटिरहेका विगतमा रोलमोडेलको रुपमा चिनिएका ती पात्र हुन्, प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल। 

वाल्यकालदेखि नै पुलिसको बर्दी देख्दा डराउने समुदायको मान्छे थिएँ म। सानोमा डर उत्पन्न गराउने त्यही वर्दी थियो। अनि अटेरी बन्दा वा रोइरहँदा सुनिने स्लोगन जस्तो एउटा पंंक्ति थियो –‘पुलिस आउछ है अहिले।’ जो अझैं भिजिरहेकै छ कानमा। पछिल्लो कालखण्डमा मन मिल्ने एकाद साथी नेपाल प्रहरीमा प्रवेश गरे। तिनीसँग पनि कहिले काही गौणे भेट हुन्छ। एकदिन मेरा अनन्य मित्र राधेश्याम मल्लले परिचय गराएका थिए तिनै प्रहरी प्रमुख खनालसँग।

बाल्यकालमा डरलागेको त्यही बर्दीका अभिभावक, तिनलाई एकछिन राम्ररी हेरेँ। आखिर के थियो त्यहाँ पुलिस प्रशासनका जवानदेखि उच्च अहोदाका सबैजना आम मानिसझैं त छन्। उनीहरूसँग पनि त जिन्दगी, घरपरिवार, मायामोह इच्छा आकांक्षा, आवश्यकता अभाव सबै छ, जस्तो अरुको हुन्छ। किन बाल्यकालमा त्यसरी पुलिस भन्ने शब्दसँग डराउन पुग्छन् अधिकांश बालबालिका मनमा खेलिरहे अनैकौ प्रश्नहरू। 

क्षणभरमै अर्कै प्रश्नले डेरा जमायो मनमा। जब दसैंताका नयाँ बसपार्क पुगेर उनले लामोदूरीका पब्लिक गाडीका चालकको घाटीमा फूलको माला पहिराउँदै नमस्कार गरी राम्रोसँग चलाउन अनुरोध गरेको समाचार सुनियो। के यो साँचो खवर हो? आफैसँग प्रश्न गरेँ। वास्तवमा त्यो साँचो समाचार थियो। संयोग हो या उनको अनुरोधलाई साच्चिकै भित्रैदेखि कदर गरेका थिए चालकले दसैंदेखि तिहारसम्म पूर्व पश्चिम कही कतैबाट आएनछ दुर्घटनाको समाचार।

भर्खर आर्यघाटमा एकजना प्रहरी अधिकृतको अन्तेष्टिमा सामेल भई एक गुच्छा फूल चढाएर उनको आत्माको चिर शान्तिको कामना गरी फक्रेका थिए उनी। निकै भावुक बनेको थियो चेहरा। ‘यसरी चिनेजानेका चिरपरिचतको पार्थीव शरीरमा फूलको गुच्छा चढाउनु पर्दा बाहिर नदेखाए पनि रुन्छ होला नि भित्रैभित्रै त मन हैन र?’– माहोल झन भावुक बनाउन थालेँ म।

‘मेरो मन कमलो नै छ। प्रशासनिक दृष्टिकोणले कमाण्डर हो। त्यसको असर कस्तो पर्छ। कमजोर पनि त पार्नु भएन नि मनलाई। अरुझैं मलाई नि हुन्छ। कैयौं अवस्थाबाट गुज्रिएको छु। कैयौंपल्ट बलजवस्ति लुकाउदा आँसु निकै गाह्रो भएको छ।अरुको दुःख, आँसु देख्दा मेरा नि परेली रसाइहाल्छन्। अरुको दुःख देख्नु नपरोस् ठान्छु। धेरैले त सोच्दा हुन् पुलिससँग आँसु म्याच खाँदैन। सम्झाउनु पर्ने भूमिकाबाट चुक्नु पनि त भएन’ – निकै भावुक भएर बोले उनी।

कमलो मन बोकेर हिँडे पनि आँसु देखाउन सक्दैनन् उनी। अरुलाई ढाड्स दिनुपर्ने सम्झाउनु पर्ने चित्त बुझाउनु पर्ने जिम्मेवारीले कहाँ दिन्छ र सार्वजनिक ठाउँमा वा अरुको सामु आँसु झार्न। कुनै कुनै पेशा आँसु लुकाएर मुटुमाथि ढुङ्गा राखेर हिँड्नु पर्ने पनि त हुँदो रहेछ। हो त्यही पेशा अँगाले उनले पनि। गुण्डा तस्कर समातेर राम्रो काम गर्दा नि सरुवा भएको विगतको तितो अनुभवले समेत निराश तुल्याएन उनलाई।

त्यो प्रसंग उठाउदा सहजै भनिदिए –‘आफ्ना पर्दा कार्वाही नहोस् अरुका पर्दा कार्वाही होस् भन्ने प्रवृत्ति छ। विवेक र खुवीले काम गर्ने हो। हिनताबोध कहिल्यै भएन। कानुन बोकेर हिँड्ने त म हैनन् नि। पेशाप्रति समर्पण भावकासाथ काम गरेको हुँ।’

तनहूँमा जन्मेका खनालले कखरा उतै सिके। उसो त उनका बुवा केदार खनाल काठमाडौंकै रैथाने थिए। राणाहरूले केदारका भाइ नारायणलाई कपाल मुण्डन गरेर काठमाडौंबाट लखेटेपछि केदार लगायत अरु भाइहरु पनि राणाहरुकाे त्रासले काठमाडाैं छाेड्न बाध्य भएछन्। आफ्ना काँइला भाइलाई साह्रै मन पराउँथे रे बुवाले। काठमाडौंबाट बाहिरिपछि तनहूँ पुगेका आफ्ना काँइला भाइ छेउमै बस्ने सोचले उतै पुगेछन्। ‘धान चामल कम्पनीका हाकिम बुवा रिटायर्ड भएपछि हामी जन्मिएका हौं’ –उनले आफुले सुनेको विगतको कथा सुनाए। पछि ४ वर्षको उमेरमा बुवासँगै काठमाडौं आएका खनाल शान्ति विद्या निकेतनमा भर्ना भएछन्। 

सात कक्षामा पढ्दाताका मन्दिरको गजुरझैं ढल्यो उनको मनभित्रको आशा र भरोशाको गजुर। अर्थात उनका बुवाले उनलाई छोडेर तय गरे क्षितित पारिको यात्रा। गोदावरी पिकनिकमा जान तयार भैरहेका उनले एकाएक थाहा पाए बुवा बितेको। त्यस पछिका दिन बुवा बिनाका भए। ‘सेतो लुगा लगाएर स्कुलमा जादा लाग्थ्यो मेरा बुवा छैनन् भन्ने। घरमा धेरै माया पाएर पुलपुलिएको परिवेश नहुँदा कठोर बन्दै गएँ। त्यही कारण वाह्य तत्वले प्रभावित पार्न सक्दैन’– भावुक मुद्रामा सुनाएका हुन् उनले। 

२०३८ सालमा प्रथम श्रेणीमा एसएलसी र पछि अमृत साइन्स क्याम्पसबाट आइएससी उत्तीर्ण गरेका उनले कुराकानीकै क्रममा सुनाए– ‘पढ्नमा राम्रै थिएँ पछि बिग्रिदै गइयो। यसै पोष्टमा आउनलाई रै‘छ। त्यतिखेर छात्रवृति पाएर बाहिर जान पाएको भए अर्कै हुन्थे हूँला।’

भाग्यमा कत्तिको विश्वास गर्नु हुन्छ?’– मैले बीचमै उनको कुरा काटेँ।

‘भाग्य आफुले बनाउने हो। कर्म गर्दै जादा भाग्य नि कोरिदै जान्छ जस्तो लाग्छ मलाई त। त्यसैले भाग्यमा त्यति विश्वास गर्दिनँ’– पुलुक्क मतिर हेरेर जवाफ फर्काए। 

बिकम पास भएपछि उनी कस्सिएर लागे लोकसेवाको तयारीमा। एउटा पेपरको परीक्षा पनि दिइसकेका थिए। त्यति बेलै प्रहरीमा अधिकृतस्तरको पदका लागि भर्ना खुल्यो। उनको मन प्रहरी प्रशासनतिर मोडियो । स्कुल कलेज पढ्दादेखि नै उनी अरुको दु:ख देख्न सक्दैनथे। कसैले कसैलाई दु:ख दिइरहेको देख्दा त्यसलाई तह लाउनु पर्ने हुन्थ्यो उनले। कलेज पढ्दा केही साथीभाइले गरिसकेका थिए प्रहरी सेवामा प्रवेश। प्रहरी भैसकेपछि पनि अपराधिलाई मजैले दिनु पर्छ भन्ने सोच पलाइरहदो रहेछ मनमा। बारम्बार सोच्थे रे त्यहाँ जान्छु र तह लगाउछु।

२०४६ सालमा इन्सपेक्टरमा नाम निकाल्न सफल भए। घरकालाई थाहा भएनछ प्रहरीमा भर्ना भएको। ती दिन सम्झिँदै उनी सुनाउछन् –‘इन्सपेक्टरमा पास भए भनेर भित्र गए। घरका आएर भेट्ने त्यस्तो नि भएन। कहिले काही छुट्टि हुँदा दिदी कहाँ जान्थेँ। आमा बसेको ठाउँमा कहिलेकाही जान्थे। घरमा पनि मैले भनिसकेपछि कसैले प्रतिवाद गर्दैनन्। पढ्नमा सुरुदेखि नै राम्रै थिएँ। अस्कल पढ्ने भनेपछि झन अर्कै ढंगले हेर्थे। आफ्नो काम गरिराख्ने दायाबाया मतलब नै गर्दिनथेँ।’ 

पास आउटपछि जिल्लातिर जान्छु भन्ने सोच बनाएका उनलाई जान दिइएन। उनीलगायत तीन जनालाई पढाउन सक्ने सूचीमा राखेर एकेडेमीमै राखियो। जागिरसँगै निरन्तरता दिए पढाइलाई र राम्रै अङ्क ल्याएर एमपीए उर्तीर्ण गरे। २०४९ सालमा मागी बिहे भयो। प्रेमका विषयमा कुरा गर्दा बिस्तारै बोले उनी –‘खै त्यतातिर कहिल्यै गइएन। लभ गर्न जान्ने भइएन। मलाई मन पराउने त धेरै थिए। कसैकसैले त पछि गएर भने पनि। मैले बुझ्न सकिनँ। मन पराउनेले भन्न सकेनन्। उसो त मैले नै मन पराएका पनि नभएका हैनन्। तर त्यो परिवेशमा गइनँ। आँट गरेर कुरै गर्न नि गएँ तर कुरा गर्न सकिनँ।’  

त्यतिखेर मन पराएका सामु कुरा गर्न नसके उनी जागिरका क्रममा जिल्लातिर जनसमुदायलाई सत्कर्ममा लाग्न प्रेरित गर्दै गएछन्। नारायणीमा एसपी हुँदा भोजपुरी भाषा सिकेर धेरै जसो कार्यक्रममा बाल बिवाह र दाइजो प्रथाविरुद्ध भोजपुरीमै भाषण गर्न थालेछन्। उनी भन्दै हिँडेछन् यी छोरीले कमाएर तपाइलाई खान दिन्छन्। बाल–बिबाह चाही नगर्नोस् है। उनकी आफ्नी पनि दुइटी छोरी छन्। उनलाई ती छोरीबेटी आफ्नै छोरी जस्ता लाग्दा रहेछन्। त्यसै सिलसिलामा सुनाए तराईको पीडा– ‘छोरी जन्मिने बित्तिकै दिमागमा दाइजो आइदिन्छ। अनि पैसा कहाँबाट ल्याउने कसरी जम्मा गर्ने भन्ने क्रममा अपराधिक गतिविधितिर डोरिन्छन् पाइला।’ 

प्रहरीको क्षेत्राधिकारभित्र नपर्ने मुद्दामा समेत हात हालेछन् उनले। किनकी त्यो समाजकै हितको लागि थियो। त्यो क्षेत्राधिकार बाहिरको काम थियो दिशामुक्त क्षेत्र घोषणा गर्नु। बिरगञ्ज गण्डकदेखि गडिमाई मन्दिरसम्म हेर्नै नहुने हुन्थ्यो रे। खुल्ला ठाउँमा दिशा नगर्नोस् भनी सम्झायो भने सम्झाएको नमान्ने। उल्टै प्रश्न तेस्र्याइ हाल्ने–‘ठाउँदिनोस् न त?’

कतिपल्ट आफ्नै जग्गामा बनाउनोस् भनेर सम्झाएछन् तर केही सीप नचले पछि भित्र लगेर थुनेछन्। कतिपयलाई त सिस्नु पानी समेत लगाएछन्  नागरिक अगुवाकै अगाडी। चारैतिर खबर पुगेछ पुलिसले क्षेत्राधिकार बाहिरको काम गर्न थाल्यो भनेर। कतिपयले प्रश्न तेस्र्याएछन्– ‘यो काम तपाईको क्षेत्राधिकार भित्र पर्छ?’  

उनले हाँसीहाँसी जवाफ फर्काएछन् –‘पर्दैन। तर कसैले अश्लिल अङ्ग प्रदर्शन गर्छ भने मलाई थुन्न पाउने अधिकार छ। यिनीहरूलाई सार्वजनिक ठाउँमा अश्लिल अङ्ग प्रदर्शन गरेकोमा थुनेको हुँ।’  यति भने पछि नाजवाफ भैदिँदारहेछन् प्रश्नकर्ताहरू। त्यति बेला महसुश भएछ उनलाई इच्छाशक्ति भयो भने गर्न सकिँदो रहेछ भन्ने।

तर कहिलेकाही इच्छाशक्ति भएर मात्रै पनि त हुँदैन्। सबै क्षेत्रमा उपाय निकाल्न त्यति सजिलो कहाँ छ र। ठेकेदारले समयमा काम नगरेको सुन्दा त्यस्तालाई ल्याएर भित्र थुनिदिउँ नलागेको हैन कैयौंपल्ट उनलाई। अधिकार क्षेत्रभन्दा बाहिरको काम पर्‍यो। उपाय छैन कुनै उनीसँग। पोलुषनकै कुरा छ थोत्रा गाडी लगेर थन्क्याइदिन मन लाग्छ रे। विज्ञसहितको एउटा कमिटी बनाएर राख्न पाए हुन्थ्यो जस्तो लाग्छ रे। कानुनी अनुसन्धान गर्ने सबै प्रहरी नै हो। त्यो पनि पाए हुन्थ्यो लाग्दो हो। तर त्यो पनि उनको अधिकार क्षेत्र बाहिर नै पर्छ। उनी भन्छन् –‘पुलिसले गर्ने काम अपराधिलाई तह लगाउने हो। गरेकै छौं।’ 

‘पुल सडक समयमा नबाइदिएर, गुणस्तरयुक्त काम नगरेर सारा गाउँ समाजका मान्छेलाई वर्षौसम्म दु:ख दिइराख्ने कतिपय ठेकेदार पनि त अपराधि नै हुन्। हैनन् र ?’– मभित्रको जिज्ञाषाले बाटो खोज्यो।

‘हो, तर त्यो निकाय हामी हैनौं। ती त अझै ठूला अपराधि हुन्। त्यही कारणले गर्दा दुर्घटना भइराखेको छ। कैयाैंले ज्यान गुमाउनु परिराखेको छ। हामी दोष ड्राइभरलाई दिन्छौं। सडकमा सामग्री राखेका हुन्छन। खाल्डाखुल्डी  त्यतिकै छन्। चौकी आउनु अगावै झरेका एक हुल यात्री गाडी इन्ट्री गरुन्जेल हिँड्दै पल्लो मोडमा पुगिसकेका हुन्छन्। पुलिसको नजर नपर्ने मोडबाट पुनः चढ्छन्। क्षमताभन्दा बढी यात्रु जान दियो भनेर पुलिसलाई दोष दिन्छन्। धेरै निकायबाट गल्ती भैराछ तर त्यो कुरा आउँदैन। प्रहरीबाट सानो गल्ती हुँदा हंगामा हुन्छ’– उनले दुखेसो पोखे।

‘पुलिसले पनि त आफ्नो क्षेत्रमा सावधानीपूर्वक कटिवद्ध हुनु पर्ने हैन र?’– बिस्तारै सोधेँ।

‘पुलिस बढी जिम्मेवार हुनुपर्छ भन्नु स्वभाविक हो। जनताले यी कुरा ल्याउनु स्वभाविक हो तर एकाद घटना व्यक्तिले गरेको गल्तीलाई लिएर पूरै संगठनलाई नै आक्षेप  नलगाइदिए हुन्थ्यो भन्ने हो। बदमासी गर्ने पुलिस यो संगठन भित्र रहनु हुन्न भन्ने मेरो पनि भनाइ हो’– निकै नै गम्भीरतापूर्वक बोले उनी।

कहिलेकाहीँ केही गल्ती प्रशासनभित्रबाट पनि हुन्छ र भएका छन् भन्ने कुरालाई स्वीकार्छन उनी। गल्ती देखाउनुलाई राम्रो ठान्छन् पनि। तर त्यसलाई जनसमुदायले  इस्सु नै बनाइदिँदा बेलाबखत निकै दुखित तुल्याइदिदो रहेछ उनलाई। उसो त उनले स्विकार गर्दै केही गल्ती सम्झिँदै विगतका कुरा सजिलैसँग भनिदिए– ‘विगतमा संगठनभित्र मजाले भित्रिएको हो गर्न नहुने कुरा। त्यसलाई सुधार गर्दै आएको हुँ।’

वर्षौसम्म सुनाइ नभएका घटना अनि पेन्डिङमा रहेका थुप्रै कामका बारेमा बुझ्न खोज्दा उनले बताए– ‘गम्भीर अपराधका फाइल पल्टाइरहेका छौं। २७ सय फरार अपराधि अहिले समातिएका छन्। गर भने गर्ने। नत्र नगर्ने पुरानो प्रवृतिका कारण पनि ढिलाइ भएको हो। सबैलाई पल्टाएर हेर्न लगाएका छौं। वर्षौदेखि चल्दै आएको थियो ड्रग्सको कारोवार। पब्लिकबाटै आएको सुचनाका आधारमा १५ वर्षसम्म नसमातिएका ड्रग्सको सिजर भएको छ। राष्ट्रिय सरोकारका, राज्यसत्तालाई असर पर्ने, मुद्धाका सवालमा राज्य शत्ताको स्वार्थ मबाट हुँदैन। सामाजिक परिवेशले संसारमै केहीमा ती कुरा आउछ र आएका पनि छन्। त्यसले संगठनभित्रको वातावरणमा केही असर गर्छ। त्यसैले त्यो पनि नभैदेओस् भनेर लागेको हुन्छु।’ 

एसपी हुँदासम्म प्रसंसनीय कार्य गरेर चर्चामा आएका खनाल जब महानिरीक्षक बने तब आलोचित हुन थाले। राम्रा र नराम्रा काम एकै ठाउँमा मिसिए। उसो त दुखेसो गर्नुपर्ने ठाउँ पनि त छैन त्यो भन्दा माथि। संगठनको अभिभावक भैसके पछि सुन्नु पर्ने पनि त हुन्छ कैयौं कुरा। कैयौं कुरा पचाउनु पर्ने हुन्छ। कतिपय गल्ती स्विकार्नु पर्ने हुन्छ। यति हुँदाहुँदै पनि उनले केही असल कार्यको थालनी गरे।

नेपाल प्रहरी भित्र प्रशिक्षकको संख्या थपेर ३१ सय पुर्‍याए। १२ वटा क्षेत्रमा बालबिवाह, साइबर अपराध, सुरक्षा लगायतका कोेर्स निमार्ण गर्न लगाई हरेक विद्यालय र कलेजमा हालसम्म ७९ लाखलाई तालिम दिइसकेको र ती कोर्सहरू ठाउँठाउँमा पुर्‍याउन त्रिबिलगायत ७ सय ५३ वटै स्थानीय सरकारसँग एमओइ गरिसकेको कुरा सुनाए।

पछिल्लो समयमा भएका थुप्रै कामको सूची देखाउँदै थिए उनी। म उनलाई दूधले नुहाइएका आइजीपी हुन् भन्ने पक्षमा पनि छैन्। उनले कामै गरेनन् भन्ने पक्षमा पनि छैन। उनले केही नभने पनि विगत केही समयदेखि यो देशमा अधिकांश क्षेत्रमा गलत राजनैतिक प्रभाव परिहेको कुरा नकार्न सकिदैन।

फरक यत्ति हो उनी त्यसबाट प्रभावित भए या भएनन्। यतिखेर यो पाटोमा समीक्षा गर्न खोजिएको पनि हैन। म समीक्षक परिनँ र समीक्षाको पाटो मेरालागि त्यति सजिलो कर्म पनि छैन। यतिखेर मात्रै उनको बाल्यकाल र यहाँसम्मको यात्राको गोरेटोको कुरा गर्न खोजेको हुँ। 

उनले भोगेका दुःख सुख र संघर्षका पाटा कसैका लागि प्रेरणाका श्रोत पनि त बन्न सक्छन्। कुराकानीको अन्ततिर मैले थप यत्ति कुरा राखे उनीसँग–‘काम गर्दै जाँदा गल्ती मान्छेबाटै हुन्छ। त्यो गल्ती स्वीकार गर्नसक्ने क्षमता अभिवृद्धि होस् अनि सबैले विगतको गल्तीबाट पाठ सिक्दै जाउन् कसैले गल्ती नदोहर्‍याइदिउन् हाम्रो त मात्र कामना न हो।’

मैले आफ्नो भनाइमा पूर्णबिराम लगाउन नपाउँदै राखिहाले उनले पनि आफ्ना कुरा–‘हो तपाईले भनेको ठिक हो केही गल्ती प्रशासन भित्रबाट पनि भएका छन् र हुन्छन् पनि। यति हुँदैमा काम कम भएका छन् जस्तो त लाग्दैन। धेरै काम भएका छन्। खालि कमजोर पार्ने मिसन जस्तो बनेर उठिदिन्छन् आवाजहरू।’ 

कुरा र कुलो जता लग्यो त्यतै जान्छ भन्थे गाउँघरतिर। अन्तिम प्रश्न भन्दाभन्दै फेरि प्रश्न गर्न मन लागि हाल्यो– ‘त्यसो भए के यो पेशा नैै अपजसे हो त?’

मेरो यो प्रश्नलाई उनले ठाडै इन्कार गरिदिए–‘पेशा अपजसे बिलकुल हैन र हुँदैन पनि। अपजसे बनाएका हुन्। जसजसले जे भूमिका निर्वाह गर्नु पथ्र्यो त्योप्रति निष्ठा नभए जस्तो लाग्छ। यदि मैले राम्रो काम गरेको छु भने राम्रोलाई राम्रो भनिदिँदा निर्णय लिनलाई शाहसिक काम गर्छ, ऊर्जा थप्छ। त्यो फेरि राष्ट्रकै लागि हो। भएको कुरा विदेशीले भन्छ हामी भन्दैनौं। आफ्नो पर्दा कार्वाही नहोस् अरुका पर्दा कार्वाही होस् भन्ने प्रवृति छ। कमेन्ट गर्दा स्वस्थ सिर्जनात्मक कमेन्ट आओस् भन्ने मात्रै हो।’ 

बाल्यकालमै बुवा गुमाएका उनले पाइरहेकै छन् ९६ वर्षकी आमाको स्नेह र आशिर्वाद। दुई जना छोरी मध्ये एउटा डक्टर छन्। अर्की कानुनकी विद्यार्थी। श्रीमान श्रीमतीको चखेवा चखेवीको झैं जोडी छदैछ। उनको ३० वर्षे कार्यकालको लेखाजोखा होला भोलिका दिनमा।

केही मीठा केही तिता दुबै खाले अनुभव समेटेर केही दिनमै अवकाश पाउँदैछन् उनी। प्रहरी प्रशासनमा लामो अनुभव समेटेका, राज्यको लगानीमा विशिष्ठ खालका तालिम लिएका उनको योग्यता, क्षमता र अनुभवलाई राज्यले आगामी दिनमा समेत उपयोग गर्न सकोस् भन्दै म आफ्नो बाटो लागेँ। 

सुरक्षा निकायसँग गाँसिएको देशको भविष्य सम्झिँदै बाटोमा पुनः मेरो मनभित्र मडारिरह्यो यौटा प्रश्न–‘यदि मान्छे साच्चिकै मानव बन्न सिकिदिदो हो त कहाँ चाहिन्थे होलान् र सुरक्षा निकायहरू। मान्छे जति जति प्रगतिको शिखर चढिरहेको छ उत्ति नै मात्रामा गरिरहेछ सुरक्षाको प्रत्याभूति पनि।’ 

प्रकाशित मिति: : 2020-01-30 04:40:23

प्रतिकृया दिनुहोस्