अमेरिकी सिनेट ट्रम्पको पक्षमा, केही लागेन डेमोक्रेटको

प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी सिनेटमा जारी महाअभियोग प्रस्तावमा राष्ट्रपति ट्रम्पलाई ठूलो राहत मिलेको छ। सिनेटमा साक्षी र कागजात प्रस्तुत गर्नका लागि डमोक्रेट हाउस म्यानेजरले गरेको प्रयास सिनेटको बहुमतले अस्वीकार गरेपछि उनलाई राहत मिलेको हो।

सात दिन लामो बहसपछि शुक्रबार भएको मतदानमा ४९ का विरूद्ध ५१ मतले प्रस्ताव विफल भयो। एकसय सदस्यीय सिनेटमा रहेका ५३ मध्ये दुई रिपब्लिकन सिनेटरले साक्षी प्रस्ताव प्रस्तुत गर्नुपर्ने पक्षमा मतदान गरे पनि त्यो पर्याप्त भएन। अरू दुईजना आश गरेका रिपब्लिकन सिनेटरले अन्तिम अवस्थामा प्रस्तावको विपक्षमा उभिने बताएपछि डेमोक्रेटहरूको अन्तिम प्रयास विफल भएको थियो। यसरी निराश बनाउने सिनेटमा टेनेसीका उमार अलेक्जेण्डर र अलास्काकी लीसा मुर्कोवस्की थिए। 

डमोक्रेट र रिपब्लिकन सिनेटरले पार्टी लाइनमै मतदान गरे पनि उटाहका रोम्नी र मेनका सुसनले पार्टी लाइन क्रस गरे। उनीहरूले कम्तीमा पनि साक्षी प्रमाण प्रस्तुत गर्ने अवसर दिनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरे। 

मतदानपछि राष्ट्रपति ट्रम्प र सिनेटमा मेजोरेटी लिडर मिच मेक्वनेललाई ठूलो राहत मिले पनि सबै रिपब्लिकनलाई एकसाथ राख्न भने असफलता मिल्यो। सिनेटर रोम्नी र सुसन साक्षी प्रमाण पेस गर्न नदिने ट्रम्प-मेक्वेननको लाइनको विपक्षमा उभिए।

रोम्नी सन् २०१२ को राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट बराक ओबामाविरूद्ध चुनाव लडेका भेट्रन रिपब्लकन हुन्। उनी ट्रम्पले रिपब्लिकन पार्टीलाई नै हाइज्याक गरेर अमेरिकाको चरित्र र छवि नै फरक पारेको धारणा राख्छन् र त्यसको खुलेर विरोध गर्छन्। उनी सन् २०१९ मा मात्र उटाहबाट सिनेटमा विजयी भएकाले अहिले नै उनले चुनावको ध्यान दिन पनि आवश्यक ठान्दैनन्।

मतदानपछि राष्ट्रपति ट्रम्प र सिनेटमा मेजोरेटी लिडर मिच मेक्वनेललाई ठूलो राहत मिले पनि सबै रिपब्लिकनलाई एकसाथ राख्न भने असफलता मिल्यो। सिनेटर रोम्नी र सुसन साक्षी प्रमाण पेस गर्न नदिने ट्रम्प-मेक्वेननको लाइनको विपक्षमा उभिए।

सुसन कोलिन्स मेनकी सिनेटर हुन्। यसैवर्ष सिनेटको चुनाव लड्नुपर्न उनको क्षेत्र डेमोक्रेटिक पार्टीतिर ढल्केको क्षेत्र मानिन्छ। त्यसैले पनि उनले यो निर्णय लिएको धेरैले बताएका छन्। उनी सुरूदेखि नै ट्रम्पका नीतिहरूको विपक्षमा उभिदै आएकी छिन्। 

यो प्रस्ताव असफल भएपछि पनि डेमोक्रेटहरूले केही संशोधन प्रस्ताव लगेर सिनेटमा साक्षी प्रमाणको पक्षमा संशोधन प्रस्ताव प्रस्तुत गरिरहे। तर, ती प्रस्तावहरूको भने सबै रिपब्लिकन एक भएर असफल बनाइ दिए।

अब सोमबार र मंगलबार अन्तिम वहस हुने र सिनेटहरूले पनि आफ्ना कुरा राख्न १०- १० मिनेटको समय पाएका छन्। त्यसपछि बुधबार राष्ट्रपति ट्रम्पविरूद्धको महाअभियोग प्रस्तावमाथि मतदान हुने छ। प्रस्ताव पारित हुन दुई तिहाई मत आवश्यक पर्ने भएकाले अहिलेको अंकगणित र मुडमा त्यो सम्भव नै छैन। अमेरिकाको इतिहासमा यसअघि आएका दुईवटा महाअभियोग प्रस्ताव पनि सिनेटले अस्विकार गरेको थियो। 

सिनेटमा भएको अहिलेसम्मको बहस र कारबाहीलाई हेर्दा यसले दुईवटा संकेत गरेको छ। पहिलो, सिनेटमा साक्षी विना पनि सुनुवाई हुनसक्ने नयाँ नजीर स्थापित भएको छ, दोस्रो, अमेरिकी राष्ट्रपतिले चुनावी वर्षमा चुनाव जित्नका लागि आफ्ना प्रतिद्वन्दीविरूद्ध जे गर्दा पनि हुने भन्ने खालको स्थिति बनेको छ।

अमेरिकी राजनीतिक पण्डितहरू अहिले यस कोणबाट चर्चा परिचर्चा गर्न थालेका छन्। 

 

 

प्रकाशित मिति: : 2020-02-01 21:11:03

प्रतिकृया दिनुहोस्