राजा हेर्न गएकी आमा मलाई देखेर रोइन्

राजा हेर्न गएकी आमा मलाई देखेर रोइन्

बया,बया के का बया बैरेलैका बया(भेडाका रौं रभुत्ला) 
काईयो दिजाऊ कलम लिजाऊ ठेगान चाइने भया 

विगतमा त्यो एक छुट्टै देश जस्तो थियो। उसै पनि त्यहाँका मान्छे काठमाडौंलाई नेपाल भन्थे। थिएन् अहिलेको जस्तो बाटोघाटो पनि। पैदल यात्री बनेरै पुग्थे गाउँगर्खा। हुने खानेहरू पुग्थे नेपाल। तर हुँदा खानेहरू धकेल्थे जिन्दगीरुपी पैया। युवायुवतीहरूले मनोरञ्जनका लागि कुर्नु पर्दैनथ्यो चाडपर्व। आआफ्नै मस्तिको जिन्दगी थियो। अभावमा पनि रमाउन सक्ने मनहरू थिए। त्यति बेला जुम्लालगायत कर्णालीका अधिकांश ठाउँमा गोठ बस्ने चलन छदै थियो। बयानो दिने चलन थियो। गोठ बस्नु भनेको गोठमा जम्मा भएर केटाकेटी बीचमा डेउडा गीतमा सवाल जवाफ गर्नु भन्ने हुन्थ्यो। बयानो दिने भनेको दिउँसो भेटमा तोेकिएको गन्तव्यमा तोकिएको समयमा पुग्नको लागि कसैले बेइमानी नगरोस् भनेर एकअर्काको सामान लिएर जाने र पुनः रातीको भेटमा फिर्ता गर्ने भन्ने हुन्थ्यो। यदि कोही आएन भने त्यो सामान पच गरिन्थ्यो। 

शिरानीमा राखिएको गीतले त्यही बयानोलाई संकेत गर्छ। गोठ बस्नेले दिउँसै निधो गरिसकेका हुन्थे राती कहाँ भेट्ने भन्ने कुराको। त्यही भेटको पक्कापक्की गर्न एकअर्काका सामान साटासाट गरिन्थे। कलम र काईयो यस अर्थमा चुनिएको हुनु पर्छ कि काईयो केटीले  र कलम केटाले लिँदा कसको हो ? कहाँबाट ल्याइस् भन्ने प्रश्न आउन सक्दैनथे सजिलै। दुबै चिज दुबैले प्रयोगमा ल्याइरहेका हुन्थे। अझैं भन्नु पर्दा केटाहरुको जस्तो केटीहरुलाई सजिलो हुँदैनथ्यो अरुको सामान लुकाएर राख्न। त्यसैले पनि काईयो नै दिएर जाऊ जसलाई देखेर सबैले सहजै शङ्का गर्न सक्दैनन् भन्ने आशय पनि बुझिन्छ गीतमा। पच गर्नु पर्ने अवस्था आउदा पनि प्रयोगमा ल्याउन सजिलो पथ्र्यो।  

त्यो सबै दृश्य देखे पछि पलाएछ खडानन्दभित्र पनि एक किसिमको रहर। कस्तो हुँदो रहेछ गोठ ? यो राती गएर के के गर्दा रहेछन् त्यहाँ। को को आउँदा रहेछन् जस्ता प्रश्नहरू मनभित्र उब्जिन थालेछन्  । र राती दाइलाई घरबाट सुटुक्क निस्केको देख्दा सोधेछन् – ‘ए दाइ काँ जाने है ? ए पख पख छोट्टी आउन्या हुन्। गोठ छोट्टीसँग बस्न जान्या हुँ। पछि तेरी भाउजु हुन्या हुन्।’– बिस्तारै बोलेछन् दाइ। यति सुनेपछि बाल मस्तिष्कभित्र कौतुहलता नजाग्ने कुरै भएन। ५ कक्षामा पढ्दाताका नै दाइहरूसँगै पछि लागेर पुगेछन् उनी पनि गोठ बस्न। तोकिएको ठाउँमा जम्मा भएको देखेछन् केटा र केटीलाई। अँध्यारो गोठमा सल्लाको झरो बाल्दा निस्केको कालो धँुवाले बिग्री सकेका हुन्थे सबैका अनुहार। त्यस्तो हुँदा नि दुईपक्षका सवाल जवाफ सुनेर निकै नै रमाएछन् उनी। गोठहरू छान्दा गाउँबाट निकै टाढा कोही नभएको वा सहनशील, बाहिर कुरा नभनिदिने गोठालाको गोठ छान्दा रहेछन्। यी सबै कुरा बुझेपछि बिस्तारै नशा बसेछ उनमा पनि। ती दिन सम्झिदै उनी भन्छन् – ‘ती दिनका क्या कुडा गरौं र एस एल सी परीक्षाको समेत वेवास्था गरेर गइयो गोठ बस्न। त्यो एक प्रकारको नशा नै थियो।’ 

उनका वुवाका पाँच जना श्रीमती थिए। जेठी आमा पट्टिबाट एउटा दिदी छन्। जेठीबाट एउटी छोरी मात्रै जन्मे पछि छोरा पाउने आशमै गरेका हुन् विष्णुकान्त चौलागाईले अरु चारवटा बिहे। उसै पनि त्यतिखेरको समयमा धेरैले गर्थे बहुविबाह।  पाँचौं अर्थात कान्छी आमा पट्टिबाट उनका दुई जना दाइ र उनी जन्मे। ४२ वर्षको उमेरमै दमले ग्रस्त भएका बुवाको उपचार गराउनलाई थिएन कर्णालीमा  अस्पताल। बाहिर लगेर उपचार गराउनलाई थिएन पैसा। त्यतिखेर उनी ८ वर्षका थिए जतिखेर बुवाले अन्तिम सास फेरे यो धर्तीमा। धर्ती छोड्नु अघि बुवाले भनेका कुरा सम्झिन्छन् उनी –‘म डाँडाको जून बेल हुँ। हाम्रा घरवाडी, डाँडावडी, गैरावाडी र पुनाल्याका खेतबारीमा समेत तमाख लगाई पचहत्तर प्रतिशत तमाखका डल्ला र धुलो बजारमा बिक्री गर्ने र प्राप्त आम्दानीबाट तिमेरुको विद्यालयको कापी कलम स्कुल फी र नुनतेल गर्ने तथा पच्चिस प्रतिशत बचेको तमाखु आफ्ना उमेर समूहका पाहुना र हाम्रो घरमा बस्न आउनेसँग दुःख बिसौनीको आधार हुने भएकोले मैले यो व्यवसाय गर्ने गरेको हुँ। अब तिमेरुले यो भन्दा बढी आम्दानी हुने आधार पहिचान नगरेसम्म यो बारीमा तमाख लगाउने पेशा नछोड्नू है छोरा।’ 

बुवा गुमाएपछि बुवाले दिएको अर्ती उपदेशलाई मनन् गरेर गरिरहे उनका दाइले पनि तमाखु खेती। अरु आम्दानीको उपाए पनि त थिएन। जेनतेन गरेर टेष्ट पार गरे। केही उपाय नचलेपछि अलिकति जग्गा बेचेर नेपालगञ्ज ट्युसन पढ्न गए उनी। त्यतिबेला टेष्ट पास भएपछि दुई तीन महिना नेपालगञ्ज गएर ट्युसन पढ्ने चलन थियो। एसएलसी परीक्षा दिन फेरि जुम्ला फर्किनु पथ्र्यो। जुम्लाबाट नेपालगञ्ज पुग्न चार पाँच दिनसम्म पैदल यात्रा गर्नु पथ्र्यो। कहाँ थियो र अहिलेको जस्तो समय। 

एस एल सी परीक्षाको बेला समेत रातीराती गोठ बस्न गएछन् उनी। भूगोलको परीक्षाको अघिल्लो दिन गोठमा डेउडा खेल्दा गजबको भाका बनाएछन्। त्यो भाका थियो – ‘प्यालेस्टाइन सिरिया टर्की पूmलभाडी कैतिर फर्की।’ एशिया महादेशमा बद्लावती भएका क्षेत्रहरूमा जति कण्ठ गर्न खोज्दा पनि सकेनछन् प्यालेस्टाइन, सिरिया र टर्कीको नाम याद गर्न। अनि बनाएछन् भाका र लगेछन् कागजको टुक्रामा लेखेर। त्यही भाका गाएछन् गोठमा रातभरी। नभन्दै दोस्रो दिन आइदिएछ परीक्षामा त्यही प्रश्न।  

उनले एसएलसी उत्तीर्ण भएदेखि नै सुरु गरेका हुन् ट्युसन पढाउन। अँग्रेजी ग्रामर राम्रै जान्नेमा गनिएका खडानन्द त्यही ग्रामर पढाउन थाले नौ दस कक्षाका विद्यार्थीलाई। जुन चालिस नम्बरको सोधिन्थ्यो एसएलसीमा। २०५० सालमा नेपालगञ्ज जान हिडेका तिनै ट्युसन पढ्ने विद्यार्थीहरूलाई साथमा लिएर सुर्खेत सम्मको यात्रामा निस्के। बाटोमा चोरलाग्ने डरले प्रायजसो झोलामा खाने कुरा बोकेर समूहमै हिँड्ने गर्थे त्यतिबेला।  दैलेखको दाडेमाटी भन्ने ठाउँमा (बास बसेको ठाउँ) चारपाँच जना दाराहा (दारु खाएका मान्छे) आएर भनेछन् –‘आफुसँग भएको पैसा दिने भए देऊ नत्र काट्छौं।’  डरको अगाडी कसको के नै लाग्थ्यो र। खुरुक्क दिएछन् खल्तीमा भएको दुई हजार रुपैयाँ। एवम् प्रकारले दिएछन् अरुहरूले पनि। साथमा भएको सीमी र कम्मल समेत लुटेर हत्तपत्त भागेछन् लुटेराहरू। समूहका केहीले भने लुकाएर राखेछन् पैसा र त्यही पैसाले पु¥याएछ पुग्नु पर्ने ठाउँसम्म। सुर्खेत पुगेर लेखेछन् चिठ्ठी– ‘बेखर्ची भइयो। बाटोमा लुटिएँ। केही पैसा भए पठाइ दिनु। उही अभागी छोरा खडानन्द।’ विगतका हुलाक र चिठीपत्रको प्रसङ्ग उठ्दा बोली अवरुद्ध पार्दै सुनाए –‘त्यतिखेर दाइले पठाएका सबै चिठ्ठी जम्मा गरेर राखेको छु। कहिले काही पल्टाउछु तिनलाई। ती चिठ्ठीहरू हेर्दा अहिले आँसु झर्छन्।’ 

मोडैपिच्छे आइरहे रुवाउने पलहरू। अभावको जिन्दगी धकेलिरहे उनी। ती दिन सम्झिएर भक्कानिन्छन् अहिले पनि। वाल्यकालमा धेरै बुझ्न सक्ने क्षमता कहाँ हुनु। बुझिहाल्दा पनि भावुक मनलाई काबुमा ल्याउन त्यति सजिलो कहाँ हुन्छ र। ‘नाङ्गो खुट्टा हिँड्दा काँडा बिझ्थे। पैतालाका बिया फाट्थे। कुरकुच्चामा चिरा पर्थे। साथीहरूले जुत्ता लगाएर हिँडेको देख्दा हेरिरहन्थेँ। अनि मनमनै आफैसँग भन्थेँ – मेरा बा छदै भए म नि लगाउँथेँ हुँँला जुत्ता र दगुर्थे हुँला साथीहरूसँगै छिटोछिटो। त्यतिखेर हुनेखानेका छोराहरू पाइन्ट लगाउँथे। पाइन्ट त निकै टाढाको कुरा भो हिउँ जम्ने चिसो ठाउँमा २०४४ सालसम्म पाएन जुत्ता छुन समेत’– रसाएका परेली झिम्क्याउँदै सुनाए उनले।

उनको गाउँभन्दा मुन्तिरको बस्ती थियो दलितहरूको। बुवा बितेको छ महिनापछि एकदिन त्यही दलित बस्तीका नानो सार्कीको घरमा गएर बेच्न तयार पारेका जुत्ता हेर्दै सोधेछन् –‘सार्कीबा यी जुत्ताको मोल कति हो ?‘ उत्तर पाएछन्– ’लिने भ्या १४ रुपैयाँ हो।’ रुपैयाँको के कुरा उनीसँग खोपी खेल्न एउटा टाँकसम्म त थिएन। फरक्क फर्केर आएछन् र झारेछन् बाटोमा कसैले नदेख्ने गरी आँसु।

२०४० सालमा राजा वीरेन्द्रको जुम्लामा सवारी हुने पक्का भैसकेको थियो। भोलि राजा आउँदैछन भन्ने सुनेपछि कैयौं मान्छे एक दिन अगाडि नै गएछन् सदरमुकाम। खडानन्दकी आमा पनि उनलाई पत्तै नदिई हिडिछन् अघिल्लै दिन। मंसिरको महिना राजा आउने भनेकै दिन बिहान तुसारोमा पैतालाले टेकेर पुगेछन् उनी पनि टुडिखेलमा। मान्छेहरूको भीडमा एकाएक दृष्टि परेछ आमाको खडानन्द तिर।  ‘राजा हेर्नु त कता कता आमा बेस्सरी रोइन् मलाई अँगालो हालेर। अहिले पनि कसैले त्यो घटना स्म्झाइदियो भने रोइहाल्छिन् आमा’–त्यो दिन सम्झिदै सुनाएका थिए उनले। जति नै दुःख पीडा भोग्नु परे पनि विगत निकै नै प्रिय अनि अविष्मरणीय भइदिन्छ सम्झनामा। आइ नै रहन्छ ती दिनको याद। विगतमा गोठबस्दाका केही मन परेका केटी भेटिन्छन् अहिले पनि दोबाटोमा। कहिलेकाही गौणेभीट हुँदा जुद्धछन् नजर। एकअर्काको हालबात सोद्धछन् र पुरानादिन सम्झिदै आआफ्नो बाटो लाग्छन्।  फर्किफर्कि हेर्छन् उनी र मनमनै भन्छन– ‘निकै बुढी भइसकी छ।’ नोस्ट्याल्जिक बनाइदिन्छन् बेलाबखत सम्झनामा आउने त्यतिखेर गाइएका गीतका पंक्तीहरुले पनि।

कर्णाली कर्णाली तिर भेरी भेरीतिर 
म एक्लै डाँडाको मृग कोइ नै मेरीतिर 

मध्य तथा सुदूरपश्चिमका अधिकांश लोग्ने मान्छे भारतमा गई दरवानी गर्ने चलन थियो। बढीजसो हिउँदका दिनमा खेतीपातीको काम नहुने हुँदा लुगाफाटो र दुईचार पैसा ल्याउने सोचले जान्थे। २०४४ सालमा उनका जेठा दाइ टीकादत्तले भारततिर जाने बेला भनेछन् –’म तँलाई जुत्ता ल्याइदिउला है।‘ दाइ गएकै दिनदेख देख्न थालेछन् उनले जुत्ता लगाएको सपना। दिनभरी मनमा खेलाउन थालेछन् कल्पनाका धर्सा अनि रातभरी देख्न थालेछन् जुत्ता लगाएर साथीहरूसँग गुच्चा खेलेको, साथीहरूसँगै बाटोमा दौडेको। 

उता दाइले तीन महिनासम्म कमाएको रकम मध्ये दुई हजार जति राख्न दिएछन् मेटलाई। अहिलेको जस्तो बैंकमा जम्मा गर्ने चलन थिएन। पाएको तलब मेटलाई राख्न दिदा एउटा रजिष्टरमा कसको कति आयो भनेर टिपेर राख्थे रे मेटले। घरफर्किदा मागेर ल्याउने गर्थे सबैले। घर आउने बेला उक्त पैसा माग्दा मेटले भेटाएन छ खातामा टिपोट गरेको। के कसरी छुटाए उनले टिप्न। प्रमाण नभेटिएको भनी दिएनछ। अन्तमा दाइ कृष्णदत्तले बाटो खर्च समेत साथी भाइहरूसँग मागेर फर्किनु परेछ। खडानन्दले जुत्ता ल्याइदिने दाइको बाटो हेरिरहे तर दाइ त उल्टै आँसु पुछ्दै आइपुगेछन् घरमा। तुहेर गयो खडानन्दको जुत्ता लाउने सपना पनि। त्यसपछि देख्न छोडिदिएछन् जुत्ता लाउने सपना पनि। 

२०४६ सालमा जुम्लामा क्याम्पस खुलिसकेको थियो। एसएलसी पास भएपछि २०४८ सालमा जिल्लामै आइ.एड अध्ययन गर्न थाले उनी। बेलुकी पाँच बजे सुरु हुने पढाइ सकेर घर पुग्दासम्म रातको दस बजिसकेको हुन्थ्यो। आउन जान गरी ३ घन्टाको बाटो नियमित हिँड्थे। घरमा दाइहरू बेरोजगार थिए। सदरमुकाम डेरागरी बस्ने सामथ्र्य थिएन। बाटोमा एक्लै हिँड्दा भूतले तर्साउने मनोविज्ञानले काम गरिरहेकै थियो। साथीहरुको समूहमै हिँड्ने गरे दुई वर्ष क्याम्पस पढुन्जेल। २०४८ सालमै बाँधिन पुगे कसैको अँगालोमा। एउटी छोरी समेत जन्मिसकेकी थिइन। तर कस्सिदै जानुको साटो उल्टै फुस्कियो अँगालो।  मिलेन दुईजनाको कुराकानी। अन्तत्वगत्वा हुन गयो डिभोर्स। डिभोर्स पछि श्रीमतीले अन्यत्रै बिहे गरिन्। त्यसपछिका दिनमा पुनः तनाव भयो उनलाई। जिन्दगीको अर्को नाम संघर्ष ठानेर २०५० सालमा उच्च शिक्षा अध्ययनका लागि झरे सुर्खेत। ०५० देखि ०५२ सम्म एसओएस बालग्राम सुर्खेतमा अध्यापन गरे। सुर्खेत क्याम्पसबाटै नेपाली मूल विषय लिएर बि.एड. एम.एड. उत्तीर्ण गरे। ०५६ सालमा सुर्खेतबाटै गरे दोश्रो पल्ट बिहे। जिम्मेवारीको खास्टो ओढेर २०५७ सालमा माध्यामिक स्तरको अस्थायी शिक्षकमा नियुक्त भएर पढाउन थाले। २०५९ सालमा लोकसेवा परीक्षा पास गरेर निजामति सेवामा प्रवेश गरेका चौलागाईं हाल चन्दननाथ नगरपालिका जुम्लाका शाखा अधिकृतका रुपमा काम गरिरहेका छन्। 

सानैदेखि गायन र लेखन कार्यमा रुचि राख्ने उनका रचनाहरू ०५२ साल देखि नै छापिन थालेका थिए मधुपर्क लगाएतका पत्रिकाहरूमा। कर्णालीको परिचय(२०६१) र मझेरीबाट हेर्दा कर्णाली(२०७४) भन्ने दुइटा पुस्तक प्रकाशित गरिसकेका चौलागाईं हाल कवितासङ्ग्रह प्रकाशनको तयारीमा छन्। सानैदेखि गीतसंगीत र साहित्यप्रति लगाव भएका उनले २०५५ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी रेडियोमै दुईवटा डेउडा गीत रेकर्ड गर्ने अवसर पाए। जुम्लाबाट रेडियोमा स्वर परीक्षा पास गरी गीत रेकर्ड गराउने मध्ये उनी तेश्रो नम्बरमा आउछन्। पहिलो गायक हुन् महाशंकर देवकोटा अनि दोश्रोमा पर्छन् कृष्णप्रसाद देवकोटा। सुरुसुरुमा रेडियो सुन्दाका दिनहरूको खुब याद आउछ उनलाई। त्यो बेलाका दिनहरु सम्झिदै बताछन् – ’रेडियोमा बोल्ने गीत गाउने कस्ता हुँदा हुन्। कहाँका हुँदा हुन् लाग्थ्यो। श्रोतासङ्गम कार्यक्रम सुरु भएपछि उक्त कार्यक्रममा गाउने पहिलो मान्छे म नै थिएँ। त्यो दिनको खुसी छुट्टै थियो। पाउँदिन त्यो खुसी व्यक्त गर्नलाई कुनै शब्द।‘

४८ वर्षीय खडानन्दले जिन्दगीको यो मोडमा आइपुगुन्जेल कति ठक्कर खाए, कति घुम्ती पार गरे, कति आँसु झारे, कतिलाई बयालो दिए, कति ठेगान चुने कुनै हिसावकिताव छैन्। यी सबै मिस्सिए जिन्दगीरुपी तलाउमा। उनलाई सोध्न बाँकी नै छ जिन्दगी र मनले एकअर्कालाई बयानो दिए कि दिएनन् भनेर ? 

प्रकाशित मिति: Feb 05, 2020 15:46:55

प्रतिक्रिया दिनुहोस

सबै