एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरसन (एएफसी) ले शहीद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई मंगलबार एक पत्र लेख्दै एएफसीका महासचिव विन्डसर जोनले मछिन्द्रलाई बधाई दिएका हुन्।
एएफसीले मछिन्द्रलाई आउने वर्षहरुमा पनि थप सफलताका लागि कामना गर्दै अर्को वर्ष हुने एएफसी क्लब प्रतिस्पर्धामा स्वागत गरेको छ। तर, त्यसका लागि क्लब लाइसनिङको न्यूनत्तम शर्त भने पुरा गर्नुपर्ने उल्लेख गरेको छ। नेपालका कुनै पनि क्लबले अहिलेसम्म क्लब लाइसेनिङ प्राप्त गरेका छैनन्। सोही कारणले अहिले नेपालका कुनै कल्बहरुले एएफसीको प्रतियोगिता खेल पाएका छैनन्।
यस्तै एएफसील एसियामा क्लब फुटबलका लागि योगदान गरेको भन्दै एएफसीले एन्फालाई धन्यवाद पनि दिएको छ।
शनिबार सम्पन्न लिगमा त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो। फाइनल सरह रहेको लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १-० ले हराएको थियो। त्यहिँ जितले मछिन्द्र च्याम्पियन बनेको थियो।