राष्ट्रपति सीले गरे वुहान शहरको भ्रमण, स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिइने

एजेन्सी

काठमाडाै‌ं

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा धेरै प्रभावित वुहान शहरको भ्रमण गरेका छन्।

चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले वुहानको भ्रमण गरेका हुन्। सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या केवल १९ थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे जानकारी लिनेछन्। साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिभकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयसँग भेट गर्नेछन्।

राष्ट्रपति सीले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई धन्यवाद एवं बधाई दिइने चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ।

यसअघि कोरोना भाइरसको प्रकोप उत्कर्षमा रहेका बेला चीनको कम्युनिष्ट सरकारले यसको नियन्त्रण एवं रोकथामका लागि चालेका कदमको विश्वभर आलोचना भएको थियो। त्यसबाहेक चीन सरकारले मृतक एवं संक्रमितको तथ्यांकमा पारदर्शीता नअपनाएको आरोप पनि लाग्ने गरेको छ।

विश्वभर यो भाइरसको कारण मृत्यु हुनेको संख्या ४ हजार २७ पुगेको छ। संक्रमितको संख्या पनि १ लाख १४ हजार नाघिसकेको छ। चीनपछि सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटालीमा यो भाइरसबाट मर्नेको संख्या ४६३ पुगेको छ भने इरानमा २३७ जनाले ज्यान गुमाएका छन्।

दक्षिण कोरियामा यो भाइरसबाट ज्यान जानेको संख्या ५४ पुगेको छ। स्पेन र फ्रान्समा समान ३० जनाको ज्यान गएको छ भने अमेरिकामा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगिसकेको छ।
 

प्रकाशित मिति: : 2020-03-11 02:13:11

प्रतिकृया दिनुहोस्