जातीय विभेदविरुद्धकाे नारा उत्सवमै सीमित

मार्च २१ गाँउ, शहर जहाँ तहीँ जातीय विभेदविरूद्ध विभिन्न खालका उत्सव, नारा र जुलुसमा जनताहरू लागिपरेका छन्। आफ्ना हक, अधिकार सुनिश्चितताको माग गर्दै आवाज बुलन्द गरेर बाटो, चौबाटोमा हातमा हात र काँधमा काँध लिएर तछाड मछाड गर्दै दौडिरहेका छन्।

नेपालको सर्वाङ्गीण विकासमा दलितका अलावा उपेक्षित वर्ग, समुदाय, जनजाति, सीमान्तकृत सम्पूर्णको विकास हुनु जरूरी छ।

दलित आफूमा दलित होइन उनीहरूको आनि बानी, व्यवहार, संस्कार र चालचलनले उसलाई दलित भनेर हेला र हिंसा गर्ने परिपाटि हाम्रो समाजमा बिद्यमान छ। साथै दलित हुनु पूर्वजन्मको पाप पनि त होइन उसको व्यवहारले दलितको संज्ञा दिने गर्छ।

वि.सं.२००७ सालको जनक्रान्तिसँगै सामाजिक स्तरमा जातीय छुवाछुत विरूद्ध आन्दोलन भएको पाइन्छ। त्यो क्रान्तिको अभियानसँगै कानुनी रूपमा वि.सं.२०२० सालमा मुलुकी ऐन लागू भए पछि मात्र कानुनतः सामाजिक भेदभाव र छुवाछुत प्रथाको अन्त्य भएको हो। तर, पनि हालका समयसम्म आइपुग्दा ती जातीय भेदभावको अन्त्य हुन सकेको छैन।

दलितमा पनि सानो र ठूलो जात भनि आफैंमा उपेक्षित हुनुपर्ने अवस्था आएको छ। उच्च धनि मानी जातिले गरिब र सानो जात भनेर छि छि र दुर दुर गर्ने समूह एवं व्यक्ति पनि स्वयं दलित नै हुन्। दलित भित्र पनि असंख्य दलितका उच्च धनीमानी बाहुनहरू रहेकाले दलितका मुद्दा ज्यूँका त्यूँनै छन्।

साथै पेशागत दृष्टिकोणले पनि सानो खालका रोजगारी, दैनिक मजदुरी गर्ने, सहज अरूले विश्वास गर्न नसक्ने भएका कारण पनि दलित आफैंमा उपेक्षित हुनुपर्ने अवस्था छ।

फोहोरी प्रवृत्ति देखाउने भएकाले पनि अरू जातिको तुलनामा गिर्नुपर्ने अवस्था छ। तर, अहिले दलितमा रोजगारी, सफासुग्घर, आनीबानीमा सुधार, विभिन्न संघ संस्थामा संलग्न, राजनीतिक छवि उच्च भएता पनि दलितको भेदभावले भने दलितलाई माथि उठाउन सकिरहेको छैन।

दलितलाई अन्य गैह्र जातिले भेदभाव गर्ने भन्दा पनि आफ्नै दलितले नै हेला र दूरदूर गर्ने बढी देखिन्छ जसको दूरी मात्र उच्च कोटीको धनी दलित र सानो निम्नस्तरको गरिब दलित हो। तर, पनि दलित तथा उपेक्षित जातिले अपेक्षा गरे अनुरूप प्रतिफल एवम् सुधारको अनुभूति गर्न सकिरहेका छैनन्।

यस्तो खालको स्थिति रहनु मुख्य कारण दलित भित्र पनि छुवाछुत हुनु हो, दलित एवं उपेक्षित जातिमा दिने कार्यक्रममा दिगोपन नहुनू, राजनितिक खिचातानिमा रूमलिनू, गैह्रदलित भनेर सहि पहिचान लुकाउनु वा नाम थर ढाँटनु, दलितलाई आएका कार्यक्रमको सही अनुगमन र सुपरिवेक्षण नहुनू हो। यस्ता खालका कमी कमजोरीलाई हटाई एक आपसमा भाईचारा र विकास एवं जातीय संरक्षणमा लाग्नुपर्छ।

परम्परा, धर्म, संस्कृति, प्रथा, जातिगत नाममा दलितलाई समावेश नगराएको धेरै नै देख्न र भोग्न पाईन्छ साथै बोक्सीका आरोपमा घरदेखि बहिष्कार हुनू, सानो जात, पानी नछुने भनि मठ मन्दिर प्रवेशमा रोक लगाउने खालका प्रवित्ति पनि अनगिन्तीनै छन्। जसका कारण अनगिन्ती दलित यूवाहरु विदेश पलायन हुनु पनि एक हो ।

प्रजातन्त्रको स्थापना पश्चात विभिन्न राजनीतिक आन्दोलनमा दलितको बलिदान अतुलनीय योगदान रहेको छ। त्यसमा पनि टाठाबाठा दलितनै अगाडि बढेको देखिन्छ। माथी उल्लेखित शीर्षकले बाहुनहरू वा अन्यजातिलाई नराम्रो वा भ्रमित पार्न खोजेको होइन मात्र परापूर्वकालदेखि बाहुन भन्ने बित्तिकै उपल्लो जात भनेर चिनिने र सम्मान गर्ने भएका कारण उल्लेख गर्न खाजिएको हो। तर, अहिले दलितमा समेत ठूलो जात र सानो जात वा पानी चल्ने वा नचल्ने भनि आएको जातीय भेदभावलाई उजागर गर्न जोडिएको हो ।

यसै सन्दर्भमा रमा वि.क. (नाम परिवर्तन) विगत १ वर्षदेखि बजारमा बसेर अध्ययन गर्दै आइरहेकी छिन्। उनको घरधनीले दलित भन्ने थाहा पाए पछि घरबाट नै निकालिदिए। उनले भनिन्, ‘पहिले मैले नाम ढाँटेर बहालमा बसेँ। एक दिन मेरा बा मलाई भेट्न आउनुभयो र घरभाडा दिदाँ म विश्वकर्मा हो भनेर भन्नुभयो घरधनीलाई। पछि बा गएको २ दिनमा घर खाली गर भनेर धम्काए।’

यस्तै गरि सुजिता नेपाली (नाम परिर्वतन) उनी ३ वर्षदेखि एक एनजिओमा काम गर्छिन् र काम गर्ने अफिसमानै बस्ने गर्छिन्। उनी बस्ने घरबेटी बाहुन हुन्, उनको घरबेटीसँग राम्रो सम्बन्ध छ। एक अर्कासँग राम्रो हेलमेल भएका कारण सँगै बसेर नास्तासमेत खान्छन्। उनी सँगै काम गर्ने संस्थामा अन्य जातीहरु पनि जागीर खान्छन्। उनले भनिन्, ‘हामी स्टाफ मिटिङ सकेर खाजा खान थाल्यौ|, घरबेटी मन्दिर गएर आउनुभएको रहेछ। सबैलाई टिका र प्रसाद दिनुभयो। तर, मलाई न टिका लगाई दिनुभयो न त प्रसादनै दिनुभयो, अचम्म लाग्यो। पहिले सँगै बसेर खाजा खान्थ्यौं। तर, आज किन यस्तो गर्नुभयो दिदीले थाहा नै भएन। पछि बुझ्दा म दलीत भनेर अरु साथीले भनिदिएछन् र नदिनु भ’को पो रहेछ।’

श्यामे दमै (नाम परिवर्तन) पनि आफ्नै गाँउमा पानीको इनार छोएको निहुँमा कठोर यातना, कुटपिटमा परे। श्यामेले भने, ‘बिहान पानी लिन इनार गएको थिएँ गाग्री इनारमा डुबाउन नपाउँदै सबै गाँउले एकजुट भएर पिटे, मैले किन पानी भर्न नपनउने भनेर बोल्दा उल्टै जाइलागे। तर हाम्रा ठूला बा लाहुरे र समाजसेवी भएकाले उनलाई रोकावट कतैबाट छैन्।’

राजन सुनार (नाम परिर्वतन) २ वर्षदेखि अर्काको घरमा भाँडा माझेर बस्छन्। तर, उनी कहिल्यै घरधनीसँगको कोठामा सुत्दैनन् । राजन भन्छन्, ‘सधै भाँडा माझ्छु। तर खाने बेलामा पिँढीमा बसेर खान्छु र सूत्ने बेलामा पनि भर्‍याङमुनि सुत्छु। घर भित्र पस्न दिँदैनन्।’

सीता रसाइली (नाम परिवर्तन) १ वर्ष पहिले माथिल्लो जातसँग विवाह गरेकोले उनलाई घरमानै भित्रिन दिएनन्। उनी भन्छिन्,‘मलाई जात ढाँटेर विवाह गरेको हो। यो सानो जातकी रहिछ यसलाई घरमा राख्नु हुन्न गाँउमा बस्यो भने हाम्रा इष्ट मित्र समेत रूष्ट हुन्छन्, त्यो पतिले पनि छाड्यो मलाई अहिले मर्नु न बाँच्नु भएको छ।’

माथिका आवाजले पीडा बोलेको छ जहाँ धनि र गरिब, सानो जात ठूलो जात, पानी चल्ने र नचल्ने विभिन्न कुरालाई उजागर गरेको छ। राज्यले छुवाछुतलाई कानुनी रूपमा अपराध माने पनि हाम्रो गाँउ घरमा यस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन्।

जातीय भेदभाव तथा छुवाछुत ऐन बने पनि सबै तह र तप्कालाई समेट्न सकिरहेको छैन्। आफ्नै जातिमा समेत छुत अछुतको संज्ञा पाउनुले पनि जातीय मुद्दाहरु ओझेलमा परिरहेका छन् विभिन्न अधिकारकर्मी, समाजसेवी पनि राजनीतिको खोल ओढ्नाले गरिब, असाहय, असक्त जाति प्रतिको भेदभाव भने रोकिएको छैन। झन झन भुसको आगो सरी सल्किरहेको छ। सबै उत्पीडित जातीहरु अब एकै ढिक्का हुनु पर्ने बेला आएको छ।

दलित , जनजाति, सीमान्तकृत पनि राष्ट्रका सम्पत्ति हुन् उनीहरुलाई सामाजिक चेतनामा अभिवृद्धि , सीप रोजगार अवसरमा समानता, सामाजिक सद्भाव र समान अवस्था सिर्जना गर्नु जरूरी छ।

प्रकाशित मिति: : 2020-03-22 03:11:04

प्रतिकृया दिनुहोस्