भरियाको भोक देख्दा पग्लियो श्रेष्ठ दम्पतीको मन (भिडियाे)

काठमाडौं नयाँबानेश्वरका इञ्जिनीयर मङ्गलाल श्रेष्ठले आइतबार बिहानै आफ्नो फेसबुक वालमा स्ट्याटस लेखे, ‘कोरोना भाइरसको महामारीले गर्दा दिनभरि कमाई बिहान बेलुका हातमुख जोड्ने गरेका दैनिक मजदुरी गर्ने, नाङ्लो पसले इत्यादि काम गर्दै आएका अति नै विपन्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका लागि प्रतिपरिवार रू. छ हजारका दरले जम्मा करिब तीन लाख रुपैया पचास परिवारलाई सहयोग गर्ने इच्छा भएकोले सम्बन्धित घरबेटीको सिफारिश र नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित आएमा २०७६ चैत १० देखि सहयोग सुरु गर्ने निर्णय गरेको छु ।’

फेसबुक वालमा उक्त स्ट्याटस लेखेको करिब पाँच घण्टापछि उनको कार्यालय जीओईसी नेपाल (प्रा.) लि, नयाँ बानेश्वर पुग्दा उनकी पत्नी रुक्मिणी फोन रिसिभ गर्न व्यस्त थिइन् । करिब ४० कल फोन आइसकेको उनले बताइन् । उनलाई मजदुरी सहयोगका लागि सिफारिश गर्ने र सहयोगको अपेक्षा गर्नेको फोन आइरहेको थियो । पति–पत्नी दुबै मिलेर विवरण संकलन गर्दै थिए ।

इञ्जिनीयर मङ्गलाल श्रेष्ठ २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सार्वजनिक ठाउँबाट कसरी रकम वितरण गर्ने भन्ने चिन्तामा थिए । ‘एक परिवारलाई जम्मा ६ हजार रुपैयाँ सहयोग गर्ने हो । त्यसैले गाडी चढेर मेरो घर खोज्दै आऊ भन्नु हुँदैन’, श्रेष्ठले भने, ‘दैनिक काम गरेर छाक टार्नेलाई एक महिनासम्म दुई छाक एक–एक सय सहयोग होस् भनेर ।’

को हुन् श्रेष्ठ

४९ वर्षीय श्रेष्ठ काभ्रेको दाप्चाका स्थायी बासिन्दा हुन् । पहिलाको खनालथोक गाउँपालिका वार्ड नम्वर ७ हो । हाल नमोबुद्ध नगरपालिका वडा नम्बर १० पर्छ । अहिले नयाँ बानेश्वरमा आफ्नै घर बनाएका छन् । त्यसैमा जीओईसी नेपाल (प्रा.) लि नाम गरेको इञ्जिनीयरिङ कन्सल्ट्यान्सी चलाएका छन् ।

उनले दाप्चाकै कृष्ण माविबाट १० कक्षासम्म पढेका हुन् । त्यहीँबाट एसएलसी गरे । ‘बिहान स्कुल जाँदा डेढ घन्टा र बेलुकी डेढ घन्टा हिँडेर फर्कन्थे, १० कक्षासम्म पढ्दा’, उनले वाल्यकालको दुःख सम्झे, ‘म वाल्यकालमा गाउँबाट साह्रै दुःख पाएर आएको मान्छे हुँ । घरको आर्थिक अवस्था कमजोरै थियो । त्यो अवस्थाबाट गुज्रेर आएको हुनाले दुःख देख्दा मेरो मन छुन्छ ।’ 

 

पुल्चोकस्थित इञ्जिनीयरिङ कलेजबाट बीई र मास्टर्स गरे उनले । ‘अहिले बाटो, पुलको सर्भे, डिजाइनसम्बन्धी काम गर्छु । कन्सल्ट्यान्सी चलाइरहेको छु’, उनले भने, ‘अहिले पनि म दिनमा १८ घन्टा खट्छु । प्राइभेट काम गर्न गाह्रो छ ।’

इन्द्रचोकका भरिया देख्दा पग्लियो मन

हिजो शनिबार । काठमाडौंमा घुम्न निस्केका थिएँ– श्रेष्ठ दम्पती । उनीहरू असन–इन्द्रचोक गएका थिए । असनमा काम नपाएर हातमा नाम्लो लिएर भरिया बसिरहेका थिए । बेलुका ५ जति बजेको थियो । भरियाहरू आपसमा कुरा गर्दै थिए, ‘अब त खान पनि नपाइने दिन आउने भयो। दिनभरि केही काम पाइएन ।’

यो सुन्दा मङ्गलाललाई नमिठो लाग्यो । उनको मन छोयो । सोधे, रामेछाप घर भएका दाजुभाइ रहेछन् । ‘हामीले दुई पैसा कमाएका छौँ भने केही सहयोग गर्न सके उहाँको पनि भोक टथ्र्यो । यो सोचाइ आयो’, उनले भने । 

घर आएपछि रातभरि सोचे– कसरी सहयोग गरौँ भनेर । ‘आइतबार बिहानै पहिला सोचेँ– काठमाडौंबाट बाहिर जाने गाडीमा मारामार छ, दुई–चार वटा बसको भाडा तिरिदिएर उहाँहरूलाई पठाउने हो कि !’, उनले सुनाए, ‘दुई–चार ठाउँमा बसवालालाई पनि फोन गरेँ– म पैसा दिन्छु । बसबाट सुरक्षित तरिकाले लगिदिनुस् ।’

बसले नमानेपछि गरिबलाई सहयोग

कम्तिमा दुईटा बस पूर्वतिर, दुइटा बस पश्चिमतिर लगिदिन पाए हुन्थ्यो भन्ने लागेको उनले बताए । ‘बसवालाहरूले सक्ने लक्षण देखाउनु भएन । यस्तो छ, नियम हुन्छ भन्ने जवाफ पाएँ’, मङ्गलालले भने ।  

त्यसपछि उनको मनमा हिजो देखेको भरियालाई सघाउने आयो । उनले भने, मेरो मनमा हिजोको सोचाइ थियो । सागसिस्नु खाँदा दुईसयले दुई छाक खान पुग्छ । त्यो हिसाबले एक महिनामा छ हजार सहयोग गर्ने विचार गरेँ । तीन लाख छुट्याउँदा ५० जनाको पेट एक महिना पाल्न सक्छु कि भनेर सोचेँ । कुनै योजना नै नबनाई कसैसँग सल्लाह नगरी बुढाबुढी सल्लाह गरी बिहानै फेसबुकमा लेखेको हुँ ।’

छेउमा बसिरहेकी मङ्गलालकी पत्नीले भनिन्, ‘जति भए पनि मान्छेलाई पुग्दैन ।  त्यसैले केही पैसा आपतका बेलामा सघाउन पाए सन्तुष्टि मिल्छ ।’ 

प्रकाशित मिति: : 2020-03-23 06:23:32

प्रतिकृया दिनुहोस्