कोरोनाको चाल - जनताको काल

कोरोनाको चाल - जनताको काल

चीनबाट हावाको बेगसरि बतासिएको कोरोनाको आगमनले मान्छेको होस हराएको छ। कोरोनाले महामारीको रूप लिएर भौंतारिँदै पीडा जगाएको देशहरू मध्ये थाइल्याण्डका जनता लगभग ६ सय बिरामी परेको खबर छ। ९० प्रतिशत जनता डराइरहेका छन्।

लाखौं बर्मेलीको व्यवसायको दिगो जग बसाइदिएको थाइल्याण्डलाई कोरोनाले ढल्पलाउँदा बर्मेली व्यवसायीहरू पुनः नसोचेको बेला बसाइँ सर्नुपरेको छ। देशका नेता कार्यकर्तादेखि सबै जनताको गिदी खाएको छ, कोरोनाले।

जनताहरू ‘भोलि म एक्लै कसरी बाँच्ने’ भन्ने नसोचेर सँगसँगै मर्न डराएको झैँ पनि लाग्दैछ। रोगको विकृति सुन्दामा जति डरलाग्दो छ। वास्तवमा त्यति भयानक भने पटक्कै छैन।

मान्छे काल आएपछि को मर्दैन र? यो त मात्र एउटा बहाना हो। कोरोना ग्रसित मानिस २ प्रतिशत मात्र मरेको कुरामा विज्ञानले भन्दैछ-यो रोगले मान्छेलाई अलिक दिन पछारे पनि सबैको ज्यान लिँदैन। जो पहिल्यै शिथील र रोगी छ त्यस्ता व्यक्तिलाई निहुँ परेको जत्ति मात्र सम्झौं।

तर मान्छेको मनमा डरको मात्रा यसरी थुप्रियो कि! भन्छन् नि! ‘बनको बाघले खाओस् कि नखाओस् मनका बाघले खाइसक्यो।’

मान्छेले मर्नेबारे नौला सपना बुन्न लागेको छन्। मान्छे सोच्छ रोगदेखि भाग्नु कहाँ भाग्नु। जोगिएर धेरैसम्म कहाँ बाँचिएला। यसले एकपछि अर्को देश गर्दै सारा विश्वलाई पछ्याएको। भागेर जान त पृथ्वी जस्तै अर्को लोक पनि त हुनुपर्‍यो नि। जहाँ भुगोलको झैँ सरसुविधा हुने।

डर पोतिएका जनताहरू मुखुण्डो लगाएर भने जति स्वास लिन नपाई निसासिएर मर्ने हुन् कि कतै। यदि निसासिएरै मरे भने पनि कोरोना नै हो भनी सबैले ठम्याउने छन्।

मान्छे अरूबेला जसरी जीवनयापन गरे पनि मर्ने बेलामा भगवानको शरण खोज्दो रै’छ। आजका सबै धर्मावलम्बीले आ-आफ्ना ढंगले पूजापाठ गरिरहेका छन् भने हिन्दूहरू हवन गरेर कोरोनादेखि टाढा रहने प्रयासमा आफ्नै भवन भित्र बसेर समाचार हेरेर बसिरहेका छन्।

‘बिहानको हाछ्यूँ बेलुकीको हाई’ भन्थे बूढापाकाले। आज एक स्वास्थ्य मान्छेले बिहानै हाछ्यूँ गरेमा स्वास्थ्य चौकी गई जाँच गर्नुपर्ने सम्भावना रहेको छ। कतिखेरै कुनै व्यक्तिको हाछ्यूँदेखि हरेक मान्छे तर्सन्छन्।

अब कोरोनाले एक-एक गरी क-कसलाई सिध्याउने हो कुन्नी? कसैलाई थाहा छैंन। यति धेरै जनता एकैचोटि मरे भने परलोकमा अटाउँलान् कि नाइँ। यमराजका अगाडि लाम लागेर बाटोसम्म खाली छैन होला। यस्तै अनेक कुराको महासागरमा डुबुल्किँदैछ मान्छे।

कोही सोच्दैछ, यो बेला मर्नुको एउटा फाइदा अवश्य छ। यमराजले पापपुण्यको जाँच लिन नभ्याएर सबै स्वर्ग पुगिन्छ होला भनेर।

२२ मार्चबाट हरेक ठाउँ, पसल बजार बन्द गर्ने,  यातायातका साधन रोकिने आदेश भएको छ, हरेक देशमा।  सडक सुनसान छ। एउटा कुरा आश्चर्य लाग्दो छ। चिडियाखानामा पशु थुनेर बहादुरी ठहरिएको मान्छे आज आफू थुनिएको छ। पशुहरू बाहिरिन पाएका छन्।

कताकता मनमा लाग्दैछ। अबोध पशुको दवाव गर्नाले मिलेको दुश्परिणाम त हैन यो? समुद्रमा पनि जहाज नचलेदेखि पानी भित्रका जीव बढा आनन्दले रमाएका छन्। बाहिरसम्म निस्कँदै लुकामारी खेलिरहेका छन्। अब  हामी  घरभित्रै मरिने होकि कुन्नी। ठूलो सोचाइमा पो परियो त!

भट्टराई बर्माकी हुन्। हाल थाइल्याण्डमा छन्।

प्रकाशित मिति: Mar 24, 2020 14:04:36

प्रतिक्रिया दिनुहोस

सबै