स्विट्जरल्याण्डका पूरै नाका बन्द, दाेस्राे विश्वयुद्धपछि सेना मैदानमा उत्रियाे (भिडियाे)

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

स्विट्जरल्याण्डमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघीय सरकारले २५ मार्च मध्यरातबाट लागू हुने गरी सबै सिमानाकाहरु 
बन्द गरेको छ। 

१० हजार ५ सय संक्रमित रहेको स्विसमा १ सय ४३ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन्। नयाँ नियमअनुसार सिन्जेन भिसा भएका पनि स्विट्जरल्याण्ड प्रवेश गर्न पाउने छैनन् । यसअघि युरोपका फ्रान्स,जर्मनी,पोर्चुगल लगायत अरु मुलुकका नागरिक, जाेसँग सिन्जेन भिसा छ, उसलाई निर्बाध आवतजावतको सुबिधा थियो।

अब स्विस नागरिक, स्विट्जरल्याण्डमा कानूनी रुपमा बैध तरीकाले बसिरहेका र पेशागत कारण सिमाना नजिक बसेर स्विसको काम गर्ने अनुमति भएकालाई मात्र सिमानामा प्रवेश दिइनेछ । अन्य सिन्जेन मुलुकको बस्ने कागत भएर प्रवेश गरी स्विट्जरल्याण्डमा बसिरहेकालाई पनि फिर्ता पठाइनेछ । 

स्विस अस्पतालहरु यतिबेला कोरोनाका बिरामीले भरिभराउ छन् । भएका अस्पतालको पूर्ण उपयोग गर्दै छिमेकी मुलुक फ्रान्सका 
कोरोना संक्रमितलाई पनि ल्याएर स्विस अस्पतालले उपचार गराइरहेकाे छ। अस्पताल, नीजि नर्सिँङ होममा बिरामीहरु भेट्न बन्देज 
लगाइएको छ। 

सेनाको स्वास्थ्य विभागको बटालियन बिरामीको उपचारमा खटिएको छ भने सैन्य तालिम लिएका स्विस नागरिकलाई कुनै पनि बेला 
सरकारले कोरोनाविरुद्धको मोर्चामा खटाउन सक्ने भनी तम्तयार रहन सूचित गरिएको छ। स्विट्जरल्याण्डमा नागरिकले कम्तिमा 
दुई वर्ष सैन्य तालिम लिन अनिवार्य कानूनी प्रावधान छ। 

दोश्रो विश्वयुद्धपछि सेना मैदानमा खटिएको यो पहिलो अवसर हो । कोरोना संक्रमितलाई अस्पताल लैजाने र आवश्यक उपचार गर्ने 
काममा खटिएका ४५ सेनामा कोरोना भाइरस देखिएपछि स्थिति झन् जटिल बन्दै गइरहेको छ। 

संघीय सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई विमान पठाएर देशमा बोलाएको छ । सबैलाई घरमा बस्न आव्हान गरिएको छ। 
कार्यालयहरु बन्द छन् । खानेकुरा र औषधीबाहेक सबै पसल बन्द गरिएको छ । ५ भन्दा धेरैलाई जम्मा हुन दिइएको छैन। 

पार्कमा निश्चित दूरी कायम गरेर शारिरीक व्यायाम गर्न दिइएको छ । पसलमा पनि दूरी बनाएर किनमेल गरेको देखिन्छ । तर 
मानिसहरु डरका कारण बाहिर निस्किएका छैनन् । अति जरुरी बाहेक मानिसहरु घरभित्रै छन्। 

सेना खटियो भेन्टिलेटर बनाउन

स्विस सेनाका प्राविधिक व्यक्ति दिनरात नभनी भेन्टिलेटर बनाउन खटिएका छन् । कोरोना संक्रमित व्यक्तिलाई सास फेर्न अप्ठेरो 
हुने भएकोले भेन्टिलेटरबाट श्वास प्रश्वास गराउनुपर्ने हुन्छ। विशेष परिस्थितिमा बाहेक प्रयोग नहुने भेन्टिलेटर स्विस अस्पतालमा 
७ सय ५० वटा छन् । त्यस बाहेक सेनासँग भएको गरी हजारको हाराहारीमा छ ।

महामारीको बेला हजार निकै कम संख्या हो । त्यसैले  ज्यूरिखमा रहेको भेन्टिलेटर बनाउने काममा सेना खटिएको छ । यस अघि महिनाको १ सय ६० वटासम्म तयार हुन्थ्यो । अहिले त्यसलाई तेब्बर पार्ने योजना छ । तर भेन्टिलेटरको लागि चाहिने सानातिना सामान चीनबाट आउने र पर्याप्त स्टक नहुँदा अप्ठेरो भइरहेको सेनाले बताएको छ । 

स्विट्जरल्याण्ड,जर्मनी,बेलायत,अमेरिका र चीनमा बढि तयार हुने भेन्टिलेटर तयार पार्ने काम निकै खर्चिलो हुन्छ । 

नेपालीहरु सुरक्षित

झण्डै एक हजारको हाराहारीमा स्विट्जरल्याण्डमा रहेका नेपाली अहिलेसम्म सुरक्षित छन् । जेनेभाको कुटनीतिक समुदायका कर्मचारी घरमै 
बसेर काम गरिरहेका छन् । संयुक्त राष्ट्र संघलगायत कुटनीतिक कार्यालयमा पनि कोरोना लाग्नेको संख्या उल्लेख्य छ तर अहिलेसम्म 
नेपालीहरु जोगिएका छन् । बढि प्रभावित मध्येको भू कान्तोनको लौजानमा रहेका नेपाली विद्यार्थी र अन्यको अवस्था पनि राम्रै छ । कसैमा संक्रमण देखिएको छैन ।

जेनेभामा रहेको नेपाली दूतावासले अप्ठेरोमा परेको बेला सहयोग गर्न चौबिसै घण्टा उपलब्ध रहेको जनाउँदै काउन्सिलर कुमार राईको नेतृत्वमा टिम नै बनाएको छ । राजदूत मणिप्रसाद भट्टराईले नेपालीको बारेमा जानकारी दिँदै अहिलेसम्म इटालीमा रहेका नेपाली पनि सकुशल रहेको बताए । स्विस सरकारले निकै ढिलो कोरोनाविरुद्ध सक्रियता देखाएको भनी आम नागरिकले आलोचना गरेका छन् ।

 

प्रकाशित मिति: : 2020-03-26 21:46:06

प्रतिकृया दिनुहोस्