हनिमुनमा व्यस्त वन्यजीवन

हनिमुनमा व्यस्त वन्यजीवन

जता ततै कोरोनाका समाचार मात्र छन्। मुलूक पुरै ‘लकडाउन’  छ। तर सम्पदाको धनी यो देशमा कोरोना त्रासबाहेक अरु पनि केहि भइरहेकाे छ, खासगरी वन्यजीवनमा। कञ्चनजंघादेखि कञ्चनपुरसम्म मुलूकका विभिन्न निकुञ्ज,आरक्ष र संरक्षित वन क्षेत्र मात्र हैन हरेक सामुदायिक वनमा अहिले वसन्त फक्रेको छ।

लालीगुराँससँगै कयौं फूल फूलेका छन्। नयाँ पालुवा आएको छ। जंगली फलफूलको कमी छैन।वन्यजन्तु र पन्छीलाई खाने कुराको अभाव छैन। हो, यो पन्छी र अधिकांश वन्यजन्तुको प्रणयाम हो। मुलूकका वन्यजन्तु र पन्छीहरु अहिले ‘हनिमुन मुड’ मा छन्।

‘लकडाउन’ ले मानिस घरभित्र थुनिएकाे बेला वन्यजीवनमा भने चहलपहल छ। सामान्य दिनभन्दा उनीहरु स्वतन्त्र छन् र मानववस्ती नजिकसम्म स्वतन्त्र र निस्फिक्री पुगिरहेका छन् ।

वन्यजन्तु र पन्छीहरु पनि शायद सोचिरहेका होलान्, मान्छेहरु अचेल कता गए? देखिन छाडे त।

कञ्चनपुरको शुक्लाफाँटा एशियाकै सबैभन्दा बढी झुण्डमा रहने बाह्रसिंगेको बासस्थान हाे। चैतको महिना बाह्रसिंगे हेर्ने सबै भन्दा उत्तम समय मान्दछन् वन्यजन्तु विज्ञ। यो उनीहरुको प्रणयाम पनि हो। बाह्रसिंगेको सबैभन्दा ठूलो मानिने शुक्लाफाँटामा उनीहरु प्रेम विचरण गर्दै गरेकाे हेर्ने मानिसको अभाव छ।

थाकेका गाईबस्तुको उपचारमा खटिँदै आएका र शुक्लाफाँटामा गाईडको भुमिका निर्वाह गर्ने युवा बिष्णु पनेरु भन्छन्–‘अहिले वन्यजीवन स्वतन्त्र छ। कहिले बाघ नदेखिने सुडाको चौधर नदीवारी पनि बाघ देखिन थालेको छ।’

शुक्लाफाँटा सानो क्षेत्रफलमा बढी बाघ रहेको विश्वको एक मात्र स्थान हो । पछिल्लो गणना अनुसार यहाँ १६ वटा पाटे बाघ छन्।

बाह्रसिंगेको अहिले प्रणयाम हो, यो लज्जालु वन्यजन्तु मानिसबाट तर्सिन्छ। फागुन चैत र बैशाख यसकाे लिला हेर्ने समय भएको वार्डेन लक्ष्मण पौडेल बताउँछन्। ‘लकडाउनका कारण निकुञ्जमा मानिस नभएपछि बाह्रसिंगे निस्फिक्री छन्’, उनले भने ।

शुक्लाफाँटा सानो भएपनि यहाँ २२ सय ४३ बाह्रसिंगे,१७ गैंडा,१ सय २० भन्दा बढी कृष्णसार छन्।

मुलूकमा तराईको सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अनन्त बरालको अनुभव भने फरक छ। ‘मान्छेहरु जंगल भित्र गएपछि वन्यजन्तु बहिर निस्कने हो तर मान्छे नै नगएपछि वन्यजीव बाहिर निस्केका छैनन्। भित्रै रमाएका छन्’, उनले भने–‘यो बाघको प्रणयको सबैभन्दा राम्रो समय हो। कुनै अप्रिय घटना सुनिएको छैन। अधिकांश वन्यजन्तु र पन्छीको प्रणयामका बेला शान्तिको अवस्था भएको यो पहिलो विरलै अवसर पनि हो ।’

बर्दियामा ८७ वटा बाघ, ३७ वटा गैंडा र १ सयभन्द बढी हात्ती बस्छन्। प्रति बर्गमिटर ७७ वटा बाघका आहारा प्रजातिको बसोबास पनि यही छ।

वन्यजीवनलाई चलाउनु हुँदैन। प्राकृतिक रुपमा चल्न दिनु पर्ने मान्छन्, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु विद् बाबुराम लामिछाने। ‘अहिले वन्य जीवनमा मानवीय र सवारी साधनको ध्वनी प्रदुषण छैन। त्यसैले पनि वन्यजीवन शान्त छ। उनीहरुलाई मानवीय अनुपस्थितिसँग बानी पर्न समय लाग्ला’, उनले भने।

चितवन मुलूकमा सबै भन्दा बढी ९३ बाघको बासस्थान हो । मानवीय र सवारी साधनको अनुपस्थितिका बेला कोषले वन्यजन्तुको राजमार्गमा हुने चहलपहल बारे अध्ययन सुरु गरेको छ। ‘चितवनको वरण्डाभार जैविक मार्गमा १२ वटा र बर्दियाको पूर्वपश्चिम राजमार्गमा १२ वटा क्यामेरा राखी मानवीय अनुपस्थितिमा वन्यजन्तुको आवतजावत बारे अध्ययन सुरु गरेका छौं। हेरौं परिणाम के आउछ’, लामिछाने भन्छन्। मुलूकमा मानवीय र यान्त्रिक अनुपस्थितिमा वन्य जीवनको ‘मुभमेण्ट’ बारे हुन लागेको यो पहिलो अध्ययन हो।

याे पनि:

महावीर पुनलाई देशभरिका अस्पतालमा कोरोना उपचार बुथ बनाउन भ्याई-नभ्याई, नयाँ भेन्टिलेटर बन्दै, बिग्रेका मर्मत हुँदै

नेपालीलाई ‘बीसीजी’ले कोरोनाबाट जोगाएको हुनसक्ने अमेरिकी अध्ययनको निष्कर्ष

यी हुन् बेलायतमा अलपत्र परेका १९ नेपाली डाक्टर

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे लेख्छन्- चीनले बनायो कोरोनाविरुद्धको खोप, अर्बौंको संख्यामा वितरण गर्ने तयारी


 

प्रकाशित मिति: Apr 06, 2020 08:11:34

प्रतिक्रिया दिनुहोस