फ्रान्समा मृतकको संख्या बढ्दो, एकै दिन १,४२७ को निधन

अनुराधा पौडेल

पेरिस, फ्रान्स

बितेका २४ घन्टामा फ्रान्समा एक हजार चार सय २७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणपछिको यो नै आजसम्मको सबैभन्दा ठुलो मृत्यु संख्या हो।

चिकित्सकले फ्रान्समा मृतकहरुको संख्या अझै बढ्न सक्ने चेतावनी दिइरहेका छन्। मृतकको संख्या यसरी उकालो लाग्नुको कारण बृद्राश्रममा कोरोना भाइरसको संक्रमण भएर बताइएको छ।

फ्रान्सको स्वास्थ्य सेवा बिभागका निर्देशक जेरोम सालोमले मंगलबार साँझ दिएको तथ्यांक अनुसार आजसम्म फ्रान्समा एक लाख नौ हजार ६९ जना कोरोना भाइरस संक्रमित भएका छन् भने १० हजार तीन सय २८ को मृत्यु भैसकेको छ। यतिबेला फ्रान्समा ३० हजार कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। जसमध्ये ७ हजार १ शय ३१ संक्रमित या त गहन उपचार कक्षमा छन् या त भेन्टिलेटरमा छन्। कोरोना संक्रमण भएयता १९ हजार ३ शय ३७ जनाको सफल उपचार भएको छ।

वृद्धवृद्धाको संख्यालाई मात्र हेर्ने हो भने  आजसम्म ३० हजार नौ सय दुई वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीनहजार दुई सय ३७ को वृद्राश्रममा मृत्यु भएको छ। आउँदा केही दिनमा मृतकको संख्या अझै बढ्ने प्रक्षेपण गरिएको छ ।

फ्रान्समा एकपछि अर्को गरेर नयाँ नयाँ परीक्षण मात्र शुरु गरिएका छैनन्, नयाँ नयाँ नियम पनि लागु गरिएका छन् । जे जसरी भए पनि कोरोना भाइरस संक्रणबाट कसरी कमभन्दा कम प्रभावित हुने त्यसतर्फ सरकारले ध्यान केन्द्रित गरेको छ।

छुट्टीमा घुम्न नजान अनुरोध :
फ्रान्सका यातायात सचिव जँ बाप्तिस्त देजाब्रीले मंगलबार फ्रान्सेलीलाई बच्चाहरुको शैक्षिक छुट्टी हुने गर्मीका दुई महिना जुलाइ र अगष्टमा घुम्न जाने योजना रद्द गर्न फ्रान्सेली नागरिकलाई अनुरोध गरेका छन्।

मंगलबार बीएफएम टेलिभिजनसँगको वार्तामा उनले भने, ‘कोरोना भाइरसले फ्रान्समा अन्यौलता थपेको छ। यसको अन्त्य कसरी हुन्छ र कुन तरिकाले हुन्छ केहीभन्न सकिने अबस्था छैन। कुन समयमा लकडाउन खुल्छ र कुन तरिकाले खुल्छ त्यो पनि निश्चित छैन ।‘

लकडाउन खुल्ने अन्यौलता :
फ्रान्सको बैज्ञानिक सल्लाहकार परिषदका अध्यक्ष जँ फ्रन्स्वा देल्फ्रेजीले फ्रान्समा लक डाउन कम्तीमा पनि अप्रिलको अन्त्यसम्म लैजानुपर्ने माग गरेका छन्। फ्रान्सका प्रधानमन्त्री एडवार्ड फीलिप भने लकडाउन कहिले खोल्ने भन्ने कुरा हतारमा निर्णय गर्न नहुने बताउँछन्। राष्ट्रिय सभाका सांसदहरुको जवाफ दिदै उनले भने , ‘संक्रमणको दर घट्यो भन्दैमा लकडाउन खोल्दा मानिसहरु एकैपटक बाहिर निस्कने र झन धेरै संक्रमित हुन गई त्यसले जटिलता थप्ने अबस्था आउँछ ।‘

हिडडुल र खेलकुदमा प्रतिबन्ध :
पेरिस महानगरपालिका र पेरिसका प्रमुख जिल्ला अधिकारीले मंगलबार एक नयाँ नियम निकालेका छन्। बुधबारदेखि लागू हुने यो नयाँ नियम अनुसार पेरिसवासीहरु बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म जगिँग, साइक्लिँग,दौड या अन्य खालको हिडडुल गर्न पाउने छैनन ।

नियम उल्लंघन :
फ्रान्सका राष्ट्रपति एमानुएल माख्रोँल मंगलबार पेरिस नजिकैको कोरोना संक्रमित शहर पताँ पुगे। त्यहाँ उनलाई भेट्न सयौँ नागरिक सडकमा ओर्ले। उनीहरुले न त मास्क लगाएका थिए न त फ्रान्सेली सरकारले कम्तीमा दुईजनाबीचच एक मिटर दुरी कायम गर्नुपर्ने सामाजिक दूरीको नियमनै पालना गरे। 

राष्ट्रपतिसँग हात मिलाउन खोजेका नागरिकलाई रोक्दै राष्ट्रपति स्वयँले एक मिटर दुरी कायम गर्नुहोस भनी बारबार नमस्कार गर्दै अनुरोध गरेका थिए। नागरिक सम्वादपछि राष्ट्रपति स्वास्थ्यकर्मीहरुको एक केन्द्रको निरीक्षणमा पुगेका थिए जहाँ उनले निहुरेर नमस्कार गरेको दृ्श्य आकर्षक देखिन्थ्यो।

सबैका लागि मास्क अनिवार्य :
स्वास्थ्यकर्मी र संक्रमणको जोखिममा परेकाले मात्र मास्क लगाउनुपर्ने बाँकि साधारण नागरिकले मास्क नलगाए पनि हुने भन्दै सरकारले नागरिक, संघ-संस्था, विश्वविद्यालय, उद्योग कलकारखाना जताततै बाँकि रहेका मास्क आफ्नो नियन्त्रणमा लियो र कयौँपटक नागरिकसँग अनुरोध पनि गर्यो र नागरिकले पनि धमाधम मास्क दिए। यतिबेल सहयोगदाताहरुले धमाधम मास्क सिलाउने र सरकारलाई दिने काम गरिरहेका छन्।

तर, विश्व स्वास्थ्य संगठनले भने सबै मानिसले मास्क लगाएमा कोरोना रोकथामलाई मद्दत पुग्छ भनेपछि सरकारलाई अप्ठेरो परेको छ। लकडाउनपछि पेरिस र निस शहरका नागरिकलाई नगरपालिकाले नै नि:शुल्क मास्क बितरण गर्ने निर्णय गरेका छन् ।

डाक्टरमा गाउन धोएर पुन: प्रयोग :
कोरोना संक्रमितलाई परीक्षण गर्न जाँदा डाक्टरले विशेष खालको सेतो बस्त्र (गाउन)  लगाउने गर्छन्। जसलाई पीपीई अर्थात ब्यक्तिगत सुरक्षा उपकरण पनि भनिन्छ। डाक्टरले पुन:  प्रयोग गरेका सेता तथा निला बस्त्रहरु संकलन गरिवरी अहिले बिशेष खालको मिसिनमा राखेर धुने र तिनलाई स्टेरिलाइज गरी पुन: प्रयोग गरिएको छ।

यसैगरी फ्रान्समा केही समयमै सुतीबाट बनेको धुन मिल्ने मास्क पनि बनाइदैछ। यस्तो मास्क नागरिकस्तर र अस्पतालमा अति जोखिमबाहेकका अन्य रोगका रोगी जाँच्दा प्रयोगमा ल्याइने छ।

प्रकाशित मिति: : 2020-04-08 03:20:00

प्रतिकृया दिनुहोस्