लकडाउन जारी छ, उपत्यका बाहिर पठाउने निर्णय भएकाे छैन: उपप्रधानमन्त्री पोखरेल

बिएल संवाददाता

काठमाडाै‌ं

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले दुई दिनका लागि काठमाडौंबाट उपत्यका छाडेर बाहिर जान चाहनेलाई खुल्ला गर्ने निर्णय नगरेको बताएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र आफूबीच छलफल भएपनि कुनै निर्णय नभएको उनले बताएका हुन्।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन्।

‘उपत्यकामा अड्केर बसेका व्यक्तिलाई गन्तव्यमा पुग्न दिनेकि भन्ने केही साथिहरुले बिचार ल्यानु भएकाे  हो,’ बिएल नेपाली सेवासँग उनले भने,‘ हामीले कुनै निर्णय गर्न मिल्दैन।’

उपप्रधानमन्त्री पोखरेलले कोभिड–१९ राेकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिकाे बैठक हिजाे र आज नबसेकाे जानकारी दिए। ‘बैठक बसेका छैनाैं र हामीले कुनै कार्यबिधि बनाएका छैनाैं। धेरै जनता उपत्यकमै छन्, तर अध्यान गरेर निर्देशिका नबनाइ बाहिर पठाउन सकिँदैन,’ उनले भने।

उपप्रधानमन्त्री पोखरेलले सरकारद्वारा जारी लकडाउन कायमै रहेको पनि जानकारी दिए। उनले भने,‘लकडाउन भनेकाे लकडाउन नै हाे, याे जारी नै छ। अतिआवश्यक बाहेक अन्य सवारी साधन चलाउन पाइदैन। हामीले छोटो र लामाे दुरीमा यातायात चलाउन दिने भनेर कुनै निर्णय गरेका छैनौं।’ उनले अनुमति बिना कुनै सवारी चलाए कारबाही गरिने पनि जानकारी गराए।

यता मन्त्री नेम्‍वाङले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको बताए। 

उनले भने,‘हामीसँग पर्याप्त स्रोत र साधन छैन। तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन।तयारी पूरा गरेपछि मात्रै हामी निर्णय सार्वजनिक गर्छौं।’

यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए। तर यसबारे छलफल भएपनि निर्णय चाहिँ  'कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर' (सीसीएमसी) ले निर्णय गर्नेछ। 

'धेरै मान्छे अड्केर बसेका छन्, उनीहरुलाई कसरी जान दिने भन्नेबारे उच्चस्तरीय समितिमा छलफल भएकाे हाे, निर्णय चाहिँ उच्चस्तरीय समितिमा भएकाे छैन', समितिका सदस्य शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले  भने, 'कसरी जान दिने वा लैजाने भन्ने  निर्णय सीसीएमसीले  टु‌गाे लगाउने छ।'

 

प्रकाशित मिति: : 2020-04-09 18:07:37

प्रतिकृया दिनुहोस्