चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग

चार महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि स्वघोषणा फारमसहित आवेदन मागेको हो।

अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन  तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्पतिमा २० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन  तथा प्रवर्द्धनमा निरन्तर रुपमा काम गरेको हुनुपर्नेछ।

अभिनेता भुवन केसी र हालका बोर्डको सदस्य निर्देशक दयाराम दाहालमध्ये एक बोर्ड अध्यक्ष हुने आँकलन गरिन्छ। उनीहरू दुबै सत्तारूढ नेकपाका सदस्य रहेको बताइन्छ। सत्तारूढ दलसँगै साइनो रहेका निर्देशक केपी पाठक र अभिनेता नवल खड्का नेकपा सत्तामा हुँदा यो पदका सदावहार प्रत्यासी हुन्। तर, अर्कै गुटका भएकाले उनीहरूको सम्भावना कम छ। त्यही थाहा पाएर उनीहरूले आफ्नो अभिव्यक्ति बाहिर ल्याएका छैनन्। चर्चामा रहेका नाममध्ये अभिनेता राजेश हमाल र निर्देशक आकाश अधिकारीले बोर्ड अध्यक्षमा रुचि नरहेको बताइसकेका छन्। 

अध्यक्ष पदको प्रत्यासी र सम्भावनबारे केही समयअघि अभिनेता राजेश हमालले हाललाई बोर्डमा रहेर काम गरिरहेको मान्छेको नियुक्त गरिनु उचित रहेको औंल्याएका थिए। उनको जवाफ निर्देशक दयाराम दाहालको पक्षमा थियो । तर, अभिनेता भुवन केसी पनि आफू अध्यक्ष पदमा रहेर नेपाली चलचित्र उद्योगका निम्ति केही गर्न सक्षम रहेको बताउँदै आएका छन्। 

कोराना महामारीका रूपमा रहेको कोभिड–१९को प्रभावका बीच नेपाली चलचित्र क्षेत्रको अभिभावक संस्था विकास बोर्डको अध्यक्ष चाहेको र बोर्डले खस्कदो नेपाली चलचित्र उद्योगका निम्ति सही कदम चाल्नुपर्ने धारण सरोकारवालाले राख्दै आएका छन् । सोहीअनुसार सरकारले अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।

चलचित्र विकास बोर्ड चार महिनादेखि नेतृत्वविहीनछ। तत्कालीन अध्यक्ष केशव भट्टराईको गतवर्ष २९ मंसिरमा हृदयाघातका कारण निधन भएपछि बोर्ड अध्यक्षविहीन बनेको हो।

प्रकाशित मिति: : 2020-04-28 15:10:04

प्रतिकृया दिनुहोस्