नेपालका असल शुभेच्छुक थिए, इरफान खान

दीप सुवेदी

काठमाडाैं

सन् २०१५ मा ६१ औं फिल्मफेयर अवार्ड वितरणको बेला बलिउडका ‘किङ खान’ अर्थात शाहरुख खान स्टेजमा उभिएर आफूले अभिनय गर्ने कमर्सियल चलचित्रको विषयमा ठूलै गुड्डी हाकिरहेका थिए। यत्तिकैमा दर्शकदीर्घामा रहेका इरफान खान आफ्नो सिटबाट जुरुक्क उठेँ र शाहरुखलाई उनकै शब्द जालमा उल्झाए। 

यति बेला शाहरुखले इरफानसँग एउटा प्रश्न सोधेका थिए, ‘तिमीलाई पनि कहिले काही फिल्ममा ‘लो एंगल’ बाट इन्ट्री गर्न मन लाग्छ होला नि। ठिसूम ठिसूम गर्न मन लाग्ला नि। कहिले काही दृश्यलाई ‘कमर्सियल’ बनाउने इच्छा होला नि!’

बलिउडका ‘किङ खान’ काे यो प्रश्न पुरा हुन नपाउँदै इरफानले आफ्नो चिरपरिचित अन्दाजमा उत्तर दिए, ‘धेरै नै। यसमा पैसा धेरै पाइन्छ। मिहिनेत कम गर्दा पनि हुन्छ।’

इरफानको यही अन्दाजबाट प्रभावित उनका लाखौं समर्थक आज स्तब्ध छन्। सबै प्रकारको भूमिका निर्वाह गर्ने क्षमता भएका बलिउडमा गन्तीका केही कलाकारमध्येका एक उनै इरफानले ५४ वर्षको उमेरमा आफ्नौ भौतिक शरीर बुधबार परित्याग गरे। 

उनको अस्वभाविक निधनले बलिउड मात्र होइन, सिंगो कला अनुरागीहरू स्तब्ध छन्। नेपाल र नेपालीप्रति ठूलो आदर र सहानभूति राख्ने उनै कलाकारको निधनपछि सोशल मिडिया फेसबुक, ट्वीटर र इन्स्टाग्राम यति बेला नेपालीहरूको कमेन्ट र फोटोले भरिएको छ। 

उनलाई श्रद्धाञ्जली दिँदै गर्दा हजारौं नेपालीको समेत आँखा रसाएका छन्। उनी छोटो समयका लागि कला क्षेत्रमा उदाए तर दमदार प्रस्तुतिका कारण लामो समय अभिनय क्षेत्रमा जिवित रहने छन्। 

भनिन्छ–बलिउडमा जम्नका लागि ‘गडफादर’ चाहिन्छ। बलिउडमा उनको परिवारको मात्र होइन, टाढाको साइनो पर्ने आफन्तको पनि सम्बन्ध थिएन। तर, उनले बलिउडमा प्रवेश गरेको छोटो समयमा आफ्नो सशक्त र सजीव अभिनयको दमले आफ्नो बेग्लै स्थान मात्र बनाएनन्, कैयौं विभूषण र उपनामले सिर्जित पनि छन्। 

त्यसैले आज सारा बलिउड रोइरहेको छ। 

उनको निधनको खबर सुनेर बलिउडका हस्ती अनुपम खेर डाँको छोडेर रोए। सताब्दीका महानायक अमिताभ बच्चनले ट्वीट गरे–‘इरफानको निधनको खबर भर्खरै प्राप्त भयो। यसले मलाई उद्धेलित र दुःख पुर्याएको छ। एक अविश्वसनीय प्रतिभा। महान सहयोगी। सिनेमाको दुनियाँका जबरदस्त योगदानकर्ता। ठूलो स्थान खाली बनाएर उनी छिट्टै हामीसँग बिदा भए।’

 तस्बिर: द काठमाण्डु पाेष्ट, सन् २०११

पछिल्लो समय इरफान एकदमै कम मानिसमा देखापर्ने ‘न्युरोएन्डोक्राइन ट्युमर’ बाट गुज्रिएका थिए। उनले यसको उपचार अमेरिकामा समेत गराए। उनको जीवनरक्षाका लागि लाखौं फ्यानले भगवानसँग प्रार्थना गर्दै आइरहेका थिए। 

काँचको दुनियाँबाट ८० एमएमको ठूलो पर्दासम्म आइपुगेको उनको फिल्मी करिअर उत्तिकै फिल्मी छ। उनले चाणक्य, भारत एक खोज, सारा जहाँ हमारा, बनेगी अभी बात, चन्द्रकान्ता र श्रीकान्त जस्ता उत्कृष्ट टेलिशृंखलामा सजीव अभिनय गरेका थिए। 

थिएटरबाट कमर्सियल फिल्मको दुनियाँमा पाइला टेक्दा उनको शारीरिक बनोट तथा अनुहार हेरेर मजाक उडाउने धेरै थिए। तर, ‘पानसिंह तोमर’ जस्तो औसत कहानी भएको फिल्ममा आफ्नो जीवन्त अभिनय प्रस्तुत गरेर समाजमा रहेको विकृति र बिसंगतीलाई उजागर गरेका इरफान यसपछि सबैको चहेता बनेका थिए। 

उनी यो फिल्ममा अभिनय गर्नुअघि बलिउडबाट अवकाश लिन चाहन्थे। भन्ने गर्थे–‘सधै एकैनासको फिल्ममा अभिनय गर्दागर्दा म थाकिसकेको छु।’

तर, यो फिल्मको प्रस्ताव आएपछि उनी हल्लिएका थिए। भारतमा एउटा सामान्य अभिनेताले लिने पारिश्रमिक बराबर ४ करोडमा निर्माण भएको यो फिल्मले सय करोडभन्दा बढी कमाईं गर्यो। जसले भारतीय चलचित्र उद्योगको पुरानो धङधङ्गीलाई केही हदसम्म चुनौती दिन सफल रह्यो। उनको यो फिल्मको सफलताले बलिउडका ख्याती प्राप्त नायकहरूलाई समेत परम्परागत अभिनयबाट माथि उठ्न प्रेरणा दियो।  न कुनै मार्केटिङ, न कुनै हल्लाखल्ला बिना यो चलचित्रले सबैको मन छोयो। सँगै उनको पनि। यस अघिसम्म बलिउडमा उनको परिचय प्रायः खलनायकको थियो। यसपछि सबैकुरा परिवर्तन भयो। 

इरफानले कुनै बेला अन्तर्वार्तामा भनेका थिए, ‘धेरै अभिनेत्री मसँग काम गर्न रुचाउँदैन्थे। उनीहरुलाई लाग्थ्यो–मसँग फिल्म खेल्यो भने उनीहरूको करिअर बर्बाद हुन्छ।’ तर ‘पानसिंह तोमर’पछि इरफानसँग काम गर्ने अभिनेत्रीको भीड लाग्यो। एक प्रकारले भन्नुपर्दा हानथाप नै सुरु भयो। खलनायकको रूपमा आफ्नो करिअर सुरु गरेका इरफानले ऐश्वर्या राय बच्चनसँग पनि काम गर्ने मौका पाए।

अनुहारलाई सबैभन्दा बढी प्राथमिकता दिने बलिउडमा उनले सुरुवाती दिनमा सधै मार खाए। उनी हिरोको सपना बोकेर निर्माता–निर्देशक कहाँ जान्थे। उनको अभिनय कलाको तारिफ त हुन्थ्यो तर, उनको अनुहार हेरेपछि निर्माता–निर्देशकले उनलाई खलनायकको भूमिका भिडाउँथे। उनी कहिले काहीँ आफ्नै अनुहारप्रति ठट्टा गर्थे– के मेरो अनुहार खलनायक जस्तै छ?’

इरफानको अंग्रेजी बलिउडका अन्य कलाकारभन्दा औसत थियो। तर, उनी पछिल्लो दशकमा हलिउडमा सबैभन्दा बढी काम गर्ने भारतीय कलाकार बने। उनले ‘द नेमसेक’, ‘द दार्जीलिङ लिमिटेड’, ‘स्लमडग मिलिनियर’, ‘लाइफ अफ पाई’, ‘आइ लभ यू’, ‘द अमेजिङ स्पाइडरम्यान’, जुरासिक वर्ल्ड’ र ‘इन्फर्नो’ जस्ता बलिउडका सशक्त फिल्ममा अभिनय गरे। ‘स्लमडग मिलिनियर’ ले त ओस्कार अवार्ड नै जित्यो। 

तस्बिर: THT,सन् २०११

मुस्लिम परिवारमा जन्मिए पनि उनी धार्मिक कट्टरताको विरोधी थिए। उनी धर्मलाई मानवतासँग जोडेर हेर्थे। त्यसैले त उनले ‘जय हनुमान’ टेलिशृंखलामा बाल्मीकिको भूमिका निर्वाह गरे। हिन्दु धर्मसँग सम्बन्धित टेलिशृंखलामा अभिनय गरेको आरोपमा उनी मुस्लिम धर्म गुरुको आलोचनाको शिकार पनि बने। उनको जन्म पठानको घरमा भए पनि उनी शाकाहारी थिए। त्यसैले उनको बुवा भन्ने गर्थे, ‘पठानको घरमा ब्राम्हण जन्मियो।’

केही वर्षअघि नेपाल आउने क्रममा उनले बरिष्ठ सिनेपत्रकार तथा फिल्म निर्देशक दीपेन्द्र लामालाई एउटा अन्तर्वार्ता दिएका थिए। जसमा उनले भनेका थिए, ‘नेपालीहरू नम्र स्वभावका छन्। अनुहार पनि राम्रो छ। नेपालीहरू यति आकर्षक छन् भन्ने मैले अनुमान गरेको थिइन।’ सायद यो उनले आफूप्रति नै गरेको ब्यंग थियो। 

नेपालका चर्चित नाट्य अभिनेता तथा निर्देशक सुनील पोखरेलका यी समकक्षी सन् १९८४–८७ सम्म नयाँ दिल्लीको ‘नेशनल स्कुल अफ ड्रामा’ मासँगै अध्ययनरत थिए। त्यति बेला सुनील निर्देशनको विधार्थी थिए भने इरफान अभिनय सिक्दै थिए। उनको निधनले हामी नेपालीले पनि एउटा असल शुभेच्छुक गुमाएका छौं।

प्रकाशित मिति: : 2020-04-29 16:09:00

प्रतिकृया दिनुहोस्