यही हो विधिको शासन ?

सुशीला कार्की

विधिको शासनको सरल अर्थ हो– कानुनद्वारा हुने शासन। कानुनद्वारा हुने शासनमा कुनै पनि व्यक्ति वा सरकार कानुनभन्दा माथि हुन सक्दैन। विधिको शासन कायम हुन निम्न विषय आवश्यक छ— कानुनी सर्वोच्चता, कानुन उपयोगमा स्वच्छता र पारदर्शिता, कानुनी हकको सुनिश्चितता, नीतिनिर्माणमा जनसहभागिता, शक्तिपृथकीकरण सिद्धान्तको पालना, कानुनप्रति उत्तरदायी सरकार, सार्वजनिक हितको निम्ति जिम्मेदार प्रशासन अनि सक्षम स्थानीय तह आदि। यी विषय असल शासनका तत्तव पनि हुन्। विधिको शासन कायम भएको मानिन शासकले स्वेच्छाचारी र विभेदपूर्ण कानुन आफूखुसी निर्माण गरी जनताउपर जबर्जस्ती लाद्न मिल्दैन। पुरानो युगमा राजाको मुखबाट निस्केका वाणी नै कानुन मानिन्थ्यो। हब्स, लक, रुसोले शासक राजाको सम्प्रभुसत्ताको कुरा उठाएका छन्। तर, आधुनिक युगमा आएर कानुन बनाउने पद्धतिमा नै परिवर्तन आएको छ।

अहिले जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा विधानसभाबाट बहुमतका आधारमा कानुन निर्माण गरी पारित गरिन्छ। जुन मुलुकमा अहिले पनि निरंकुश शासक वा सरकार छ त्यहाँ तिनै निरंकुश शासकद्वारा निर्मित कानुनको घोषणा आज पनि हुने गरेको पाइन्छ। तर, जहाँ प्रजातन्त्र वा लोकतन्त्र छ त्यहाँको कानुन निर्माण जनताद्वारा निर्वाचित प्रतिनिधिबाट नै हुने गरेको छ। तथापि सरकारका तीनै अंगले कानुनले निर्देशित गरेको सीमाभित्र रहेर काम गर्नुपर्ने हुन्छ। मुलुकको संविधानद्वारा प्रदत्ता अधिकारभन्दा बाहिर गएर सरकार होस् वा आम नागरिक कसैले पनि गैरकानुनी कार्य गर्न मिल्दैन। सरकारको सीमित अधिकारको अवधारणा भन्नाले संविधानले सरकारलाई जे–जति काम गर्न भनी अधिकारको सीमा तोकिदिएको हुन्छ, त्यसैको परिधिभित्र बसेर काम गर्नुपर्ने सिद्धान्तलाई अमेरिकाले पालना गर्दै आएको उदाहारण हामी पाउँछौं।

प्रकाशित मिति: : 2020-05-10 11:32:59

प्रतिकृया दिनुहोस्