निरन्तर ५६ घण्टा ड्यूटी गरेँ, कहिल्यै थाकिनँ, बिरामीको सेवा गर्न रमाइलो लाग्छ (भिडियो)

परिवारको साथ पाएपछि ३५ वर्षदेखि नर्सिङ्ग पेशामा निरन्तर छु

विगत ३५ वर्षदेखि नर्सिङ पेशामा कार्यरत यशोधरा श्रेष्ठ पछिल्लो १६ वर्षदेखि वीरगन्जको नारायणी अस्पतालमा कार्यरत छिन्।

बिरामीको सेवालाई आफ्नो पहिलो कर्तब्य सम्झने यशोधरा आज पनि सुरूको दिन जस्तै मिठो मुस्कान र हँसिलो अनुहारका साथ रोगीको उपचारमा दिनरात खट्छिन्। उनको बुझाईमा बेरामीको सेवा र देखभाल गर्नु नै सबैभन्दा राम्रो सामाजिक कार्य हो। समाजसेवामा रूची भएकी उनलाई आफ्नो पेशाबाट पूर्ण सन्तुष्ट छन्। आगामी दिनमा पनि यही पेशालाई निरन्तरता दिने उनको चाहना छ।

१९ वर्षको उमेरमै नर्सिङ्ग क्षेत्रमा क्षेत्रमा प्रवेश गरेकी यशोधरा अहिले नारायणी अस्पतालको आइसीयु इन्चार्जको रूपमा कार्यरत छिन्। उनको निगरानीमा ५ जना नर्स छिन्।

५० वर्षको उमेरमा पनि उनमा भर्खरको युवति जस्तै फूर्ति छ। नर्सिङ्ग पेशामा निकै चुनौति भए पनि काम र बिरामीको सेवादेखि कहिल्लै पछि नहटेको उनी बताउँछिन्।

नारायणी अस्पतालमा बिरामीको अत्याधिक चाप भए पनि कर्मचारीको दरबन्दी न्यून रहेको उनले बताइन्।

‘पाटन अस्पतालमा काम गर्दा नर्सको अभाव थिएन। तर नारायणी अस्पतालमा कर्मचारी अभावका कारण धेरै दुःख पाएका छौं। यहाँ बिरामीको चाप अधिक हुन्छ। तर कर्मचारी संख्या कम भएर काम गर्न गाह्रो हुन्छ’, उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्।

इन्चार्जको रूपमा जिम्मेवारी पाएपछि छठ पर्वमा आफ्नो कक्षमा निरन्तर ५६ घण्टासम्म एक्लैले सेवा दिएको थुप्रै  घटनाहरू छन्। ‘सेवा भाव भएर होला कति घण्टा ड्यूटी गरेँ भन्ने नै थाहा हुन्न। कहिल्यै थाकेको महशुस भएन’, उनले भनिन्।

दिनरात अस्पतालमा मै समय दिएपछि घरमा बच्चाहरूले ममी अब त घर आउनु न! भनेर हैरान बनाउँथे। तर पनि उनको पहिलो प्राथमिकतामा बिरामीकै सेवा पर्थ्यो।

‘आईसीयु जस्तो ठाउँमा बिरामीलाई छोडेर म कसरी घर जान्थेँ, बिरामीको मायाले म एक्लै उनीहरूलाई छोडेर घर जादिनथेँ। बिरामी पनि मलाई परिवारका सदस्य जस्तै लाग्छन्,’ उनले भनिन्।

परिवार र श्रीमानको साथ नपाएको भए यति लामोसमयसम्म नर्सिङ पेशालाई निरन्तरता दिन कठिन हुने उनको भनाई छ।

नेवार समुदायकी यशोधरालाई तराईका जिल्लामा काम गर्न सहज थिएन। तराईको भाषा र यहाँको रहन सहन बुझ्न उनलाई धेरै कठिन भयो। काठमाडौंबाट वीरगन्ज आउँदा यहाँको भोजपुरी भाषा नबुझेर बिरामी र कुरूवासँग कुरा गर्न  एकदमै गाह्रो भएको उनले बताइन्।

‘अस्पतालमा भएका बिरामीको हालखबर सोध्नेदेखि लिएर सुरूमा के कुरा गर्ने त्यसको लागि स्थानीय भाषा बुझ्ने अस्पतालका डाक्टरसँग कागजमा लेखाएर जान्थेँ’, विगत सम्झदै उनले भनिन्, ‘अहिले पनि धेरै राम्रोसँग बोल्न नजाने पनि गाउँका बिरामीलाई बुझाउने तरिकाले कुरा गर्न आउँछ। पहिले जस्तो अब समस्या छैन।’

अहिले नारायणी अस्पताललाई सरकारले जेनरल अस्पतालबाट कोरोना उपचारको अस्पताल बनाएदेखि सिमित नर्समात्र अस्पतालमा खटिएका छन्।

वीरगन्जमा कोरोना संक्रमित भेटिएपछि सुरूको केही हप्ता उनले पीपीई सेट लगाएर काम गरिन्। बिरामीको संख्या कम भएपछि विगत एक सातादेदि उनी घरमै छन्। तर संक्रमित संख्या बढ्दै गएकाले ड्युटीमा जाने तयारीमा छन्।

कोरोना जस्तो महामारीको समयमा पनि नर्सको पहिले जस्तै जिम्मेवारी छ। यसबाट पछि हटन् नमिल्ने उनले बताइन्। ‘अस्पतालमा कार्यरत चिकित्सक नर्सलगायत अन्य कर्मचारीलाई संक्रमणबाट जोगिन राम्रो व्यवस्था मिलाइएकाले म र मेरो परीवार ढुक्क छौ।  हामी आफू पनि ड्यूटीमा जाँदा पूर्वतयारीका साथ जाने भएकाले कोरोनाको संक्रमण देखि डराउनुपर्ने स्थिति छैन।’

नर्सिङ्ग पेशामा प्रवेश

वि.स.२०२५ सालमा काभ्रेको धुलिखेलमा जन्मिएकी यशोधराले एसएलसीपछि मामाको चाहना अनुसार नर्सिङ अध्ययन गरिन्।

२०४४ सालमा उनले पहिलो पटक पाटन अस्पतालबाट बिरामीको सेवा गर्ने मौका पाईन्। पाटन अस्पतालमा काम गर्दै गर्दा उनले विवाह गरिन्। विवाह पश्चात नै उनी पहिलो पटक  वीरगन्ज आउने मौका पाईन्।

श्रीमान् पेशाले औषधिका सुपरीवेक्षण हुन्। घर काठमाडौं भए पनि काम विशेषले वीरगन्ज बस्नु परेको थियो।

वीरगन्ज आएपछि ५ वर्षको अवधिमा २ छोरीकी आमा बनिन्। सन्तान हुर्किएपछि घर बस्नुभन्दा फेरि कामलाई निरन्तरतता दिने सोच बनाइन्। त्यो समयमा वीरगन्जमा अहिले जत्तिको चारैतिर अस्पताल पनि थिएनन्। नारायणी अस्पताल सरकारी भएकाले भन्ने बित्तिकै त्यहाँ काम पाउन गाह्रो थियो।

निरन्तरको प्रयास पछि यशोधराले अस्पतालको समिति मार्फत अन्तर्वाता दिने मौका पाईन्। ४ जनाको आवेदनमा उनको पनि नाम निस्कियो। यसरी २०६१ सालदेखि निरन्तर उनी बारा, पर्सा, रौतहटलगायत तराईका बिरामीलाई सेवा दिँदै आइरहेकी छन्।

नर्सिङ पेशामा आएको परिवर्तन 

पहिले नर्सहरूलाई एकदम नराम्रो नजरले हेरिन्थ्यो। नर्स भएकै कारण बाटोमा केटाहरूले जिस्काउने घटनाहरूसमेत हुन्थे। कतिपय समुदायमा छोरीलाई नर्स बनाए बिग्रिन्छन् भन्ने सोच्थे। तर समय अनुसार मानिसको सोचमा यो पेशाप्रति सकारात्मक परिवर्तन आएको छ।

‘आफू त पहाडी, झन नेवार समुदायको भएकाले यस्तो समस्याको समाना नगरे पनि अरूको भनाई र अवस्था हेरेर बुझिन्थ्यो’, उनले भनिन्, ‘गाउँघरमा अझै शिक्षाको अभावले केही समस्या भए पनि शहर बजारमा यस्तो समस्या पूर्ण रूपमा अन्त्य भएको छ।’

आफू काम गर्न आउँदा नारायणी अस्पतालमा मधेसी समुदायका एक दुई जना मात्र सिनियर नर्स देखेकी उनले अहिले अधिकांश नर्सहरू मधेसी र मुस्लीम छन्।

‘सहजै राम्रो सेवा र सुविधामा जागीर पाउने भएकाले पनि तराईका मानिसहरू पछिल्लो समय छोरीलाई नर्स बनाउन चाहन्छन्। वीरगन्ज मै कति धेरै नर्सिङ्ग कलेजहरू खुलेका छन्। अब पहिला जस्तो अवस्था छैन भन्ने कुराको प्रमाण हो यो’, उनले भनिन्।

सरकारबाट पाईने सेवा र सुविधा पनि राम्रै छ जसकारण अब अभिभावक पनि अवसरको खोजीमा छोरीलाई नर्स पढाउन चाहने उनले बताइन्।

नर्सिङ पेशामा महिला नै किन?

पुरूषको भन्दा महिलाहरूको मन दयालु, बोली नम्र र पीडा बढी बुझ्ने हुन्छ। आमा दिदी बहिनी श्रीमतीको रूपमा घरपरिवारको जिम्मेवारी बुझ्दै आएकाले महिलाहरूमा बिरामीको समस्या पनि बढी बुझ्ने र आफ्नोपनको भावना हुने भएकाले नर्सिङ पेशामा महिला नै बढी हुने गरेको उनले बताइन्।

मानिसलाई रोगले समातेपछि धेरै जनाको परिवारका सदस्यले पनि स्याहार्न घिन मान्छन्। तर नर्सको नजरमा सबै बिरामी बराबर भएकाले यस्तो कुनै अफ्ठेरो नहुने उनले बताइन्।

‘मेरो मनमा कहिल्लै बिरामीको दिशा-पिसाब, रगत देखेर घिन भावना आएन। नर्सको सिकाईमै भनिन्छ बिरामीसँग घृणा गर्नु हुँदैन’, उनले भनिन्, ‘हरेक नर्सको व्यवहार समान नभए पनि बिरामीलाई आफ्नो जस्तै मानेर देखभाल गरे सेवा भावना आफैं गर्न मन हुन्छ।’

प्रकाशित मिति: May 17, 2020 23:09:24

प्रतिक्रिया दिनुहोस