बगाइएको कर्णाली

कविता :

यो छोटो जिन्दगीको,
लामो धागो र केही थान प्रहरका
कुरुस बोकेर काँपिरहेको मेरो कर्णालीलाई
सुइटर बुन्न भनी म कुनै बेला शहर पसेको हुँ !

तर देख्दै छु -
यी शहरका रहरहरु प
देखेरै होला सायद यो प्रहर पनि
घटघट घटघट जहर पिउन तम्तयार छ ।

तिम्रा
सातामा बदलिने नाताहरु
र पैसामा साटिने बैंसहरु
बताइदेउ ए! शहर
के मेरा कर्णालीका बिकृती भन्दा बढी
सभ्य देखिन्छन र ?

पाखा सर्दा छोरीले
छोएको नखाने बाबूलाई
शहर तिमीले
अशिक्षित घोषणा गरिदियौ,
के आज समाज अगाडि देखाउन सक्छौ
ए ! सर्टिफिकेट,
कि आफ्नै छाेरी बलात्कार गर्ने शहरीया बाउ
कत्तिको शिक्षित थियो भनेर।

फुक्नेले फुकिदिए
कर्णालीमा चरम भोकमरी छ भनेर
तर कहिल्यै तिमीले खेल्यौ -
मार्सी फल्ने खेतका रोपाइँमा
भुरल्ली कानमा राखी कोठिका खेलहरु !

कर्णालीमा सम्भावना
र अबसर छैन भन्नेहरुले -
देख्यौ कहिल्यै
रारा तालमा पौडिरहेका चहकिला डलरहरुलाई !

कहिल्यै पुगेनन् उज्यालो मैनबत्ति बनेर
कर्णाली शिक्षित छैन भन्नेहरु !

फेरि कहिल्यै फर्केनन
कर्णाली झुल्काउन भनेर
मिरमिरेमा सपना बोकाएर
शहर पठाएका सुर्यहरु !

आज म एक अञ्जुली भरी
मेरो कर्णाली लिएर
अबेरसम्म सुमसुम्याइरहेछु !
र लागिरहेछ-
कर्णाली स्वतन्त्र रुपमा बग्न पाएकै रहेनछ !

अझै पनि
यहाँ विभिन्न शीर्षकमा
बगाइएको छ मेरो कर्णालीलाई ।

प्रकाशित मिति: May 16, 2020 17:26:15

प्रतिक्रिया दिनुहोस