मङ्गलबार, १६ सेप्टेम्बर २०२५

भारतीय मिडियाको खण्डन गर्दै सेनाले भन्यो- नेपाल सरकारको निर्देशन पालना गर्न कटिवद्ध छौं

News Image
• • •

नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न संगठन कटिवद्ध रहेको जनाएको छ।

भारतीय दुई वटा सञ्चार माध्यमले लेखेका खबरको खण्डन गर्ने क्रममा बिहीबार राति विज्ञप्ति जारी गरेको हो।

नेपाली र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तिमा भारतीय हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित खबरको खण्डन गर्दै भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ।’

हिन्दुस्तानटाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्कस्, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार दिएको थियो।

दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित देखिन्छन्।

सेनाले ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यसप्रकारका अफवाहहरूमा विश्वास नगर्न’ अनुरोध गरेको छ।

‘नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौं’, विज्ञप्तीमा भनिएको छ।

सेनाले आगामी दिनहरूमा समेत यस प्रकारका अफवाह फैलाउने प्रयासहरू हुन सक्ने भएकाले सचेत रहन सजग गराएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!