हरेक दिन आजको २४ घण्टा म धुम्रपान सेवन गर्दिनँ, आजैबाट त्याग गर्छु भन्ने प्रण लिऔं

सन् १९८७ देखिनै ३१ मे मा विश्व धुम्रपान दिवस मनाउँदै आएका छौं। विश्वभरका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर यसबाट हुनसक्ने जटिलता न्यूनिकरण गर्ने, धुम्रपानको खपत कम गर्न पोलिसी बनाउने र समाजमा धुम्रपान सम्बन्धी जनचेतना कार्यक्रम गर्ने तथा चुरोट, गाँजा, हुक्का, विडीलगाएतका धुँवाजन्य उपभोगका वस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा संसारभर जनजागरण फैलाउने गरिन्छ।

नेपाल टोबाको फ्याक्टुसिट २०१८ ले गरेको अनुसन्धान अनुसार नेपालमा प्रत्येक वर्ष २७,१३७ जनाको मृत्यु सूर्तिजन्य पदार्थको सेवनले हुन्छ। मृत्युदरको १४.९ प्रतिशत सूर्तिजन्य पदार्थ सेवन र त्यसबाट हुने रोगको कारणले गर्दा भएको पाइएको छ। जसमा ५० प्रतिशत पुरूष छन् भने ९ प्रतिशत महिला।

‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर सूर्तिजन्य पदार्थको खोलमा लेखे पनि संसारभर हरेक मिनेटमा १ करोड चुरोट बिक्री भएको पाइएको छ। सूर्तिमा ४ हजार किसिमका रसायनिक पदार्थहरू हुन्छन् जसले हाम्रो स्वास्थ्यलाई नराम्रो प्रभाव पार्नेगर्छ।

सूर्तिमा धेरै मात्रमा निकोटिन रसायन हुन्छ, जसलाई नेपालमा चुरोट, बिँडी, ककेड, हुक्का तथा गाँजाका रुपमा प्रयोग गरिन्छ। यसमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्वनमनोअक्साइडले मानिसको रगत र मस्तिष्कमा समेत नराम्रो प्रभाव पर्ने गर्छ।

धुम्रपान सेवनले लाग्ने रोगहरु 

मुटुको रोग लाग्ने, दम, खोकी, ब्रोडकाइटिस, फोक्सोको क्यानसर हुने,मस्तिकघात, उच्चरक्तचाप,गिँजा र दाँतमा समस्या आउनु, गर्भावस्थामा सेवन गर्‍यो भने त्यसले गर्भको बच्चा कमजोर र अपाङ्ग जन्मिनु, बच्चाको वृद्धि विकासमा असर पार्नु, काम गर्ने क्षमता कम हुँदै जानु हुन्।

धुम्रपानबाट हुन सक्ने यी रोगहरु आफूले प्रत्यक्ष धुम्रपान सेवनबाट मात्र हुन्छ भन्ने छैन, यदि हामी अप्रत्यक्ष रूपमा धुम्रपानको धुवासँग सम्पर्कमा भएका छौं भने हामीलाई पनि हुन सक्छ। यसबाट विषेश गरी फोक्सोको क्यान्सर हुने सम्भावना २० देखि ३० प्रतिशत हुन्छ। यसमा बालबालिकाहरु प्रभावित भएको हुन्छन्।

धम्रपान र बच्चामा पर्ने असरहरु

प्रत्यक्ष रूपमा गरिने र अप्रत्यक्ष रुपमा गरिने धुम्रपानको धुँवाले बच्चालाई धेरै असर गरेको हुन्छ। गर्भावस्थामा धुम्रपान गर्नेले गर्भमा भएको बच्चालाई पनि उतिने असर गरेको हुन्छ। चुरोटमा हुने निकोटिन र कार्वनमोनोअक्साइड र अन्य क्यान्सर गराउने विषादीहरु रक्तसञ्चारको माध्यमबाट गर्भमा हुँर्कदै गरेको बच्चाको शरीरमा पुगेर बच्चालाई असर पार्छ।

गर्भावस्तामा धुम्रपान सेवन गर्नाले बच्चाको मुटुको बनावट र मुटुको चालमा असर पार्छ।

बच्चाको शारीरिक र मानसिक विकासमा अवरोध हुन सक्छ र रोग प्रतिरोध क्षमतामा कमि हुन सक्छ, साथै बच्चा अपाङ्ग र सुस्त मनस्थितिको जन्मन सक्छ।

गर्भावस्थामा धुम्रपान गर्नाले गर्भपतन खतरा, कमतौल भएको बच्चा र समय अधिनै बच्चा जन्मने खतसहरु पनि हुनसक्छ।

धुम्रपान गर्नेमा मात्र नभइकन परिवारका अन्य सदस्यले धुम्रपान गरेमा गर्भमा रहेको बच्चाको स्वास्थ्यमा प्रभाव पर्नसक्छ।

बच्चा जन्मेर युवा अस्वथा लाग्दै गएपछि धुम्रपान नगर्ने व्यत्तिमा पनि फोक्सो सम्बन्धि गम्भीर समस्या देखिन्छ। यदि घरको अरू सदस्य वा अभिभावकले धुम्रपान सेवन नर्गुहुन्थ्यो भने किशोरावस्थामा प्रवेश गरे सँगै किशोर किशोरीहरू विभिन्न धुम्रपान र सूर्तिजन्य पर्दाथको कुलतमा फस्ने गर्छन्।

घरपरिवारको देखासिखीले गर्दा, साथीभाइको दबाब, सामाजिक सञ्जालमा गरिने प्रचार प्रसारले गर्दा मानसिक तनाव वा समस्या छ भने त्यसलाई कम गर्नहोस वा परिवारीक कलहले गर्दा होस वा वंशाणुगत कारणले गर्दा नै किन नहोस् युवाहरू धुम्रपान तर्फ आर्कसित हुन्छन्। जसको परिणामस्वरुप विभिन्न रोगको सिकार हुन जान्छ।

बालबालिका युवालाई धुम्रपानको लत लाग्न नदिन के गर्ने ?

सर्वप्रथम त धुम्रपानले हिरो होइन, जिरो बनाउँछ भन्ने कुरा युवालाई बुझाउन जरूरी छ, यसले हाम्रो शरीरलाई गर्ने नकारात्मक असरको बारेमा विभिन्न माध्यमबाट जानकारी दिनुपर्छ।

युवालाई नाई भन्ने शब्दको प्रयोग गर्न लगाउनुपर्छ, यदि कसैले धुम्रपानको लागि कर गर्दै छ वा उसको अगाडि गर्दै छ भने नाई म गर्दिनँ भन्न लगाउनुपर्छ।

धुम्रपान महङगो छ भन्ने कुरा बुझाउनुपर्छ, दिन दिनै धुम्रपान गर्नको लागि खर्च गरिने पैसा र धुम्रपानले गर्दा स्वास्थ्यमा समस्या आएपछि अर्थिक भारको बारेमा प्रस्ट पार्नुपर्छ।

परिवारको सदस्यले वा अभिभावकले बालबालिकालाई धुम्रपान खरिद गर्न नपठाउने साथै उनीहरूको अगाडि धुम्रपान सेवन नगर्ने गर्नुपर्छ।समाजको रितिरिवाजमा धुम्रपानको प्रयोग कम गर्ने।

धुम्रपानको आकर्षक विज्ञापनहरू कम गर्ने। आज ‘विश्व धुम्रपानरहित दिवस’ मा हामी सबै धुम्रपान सेवन गर्नेहरु २४ घण्टाको लागि धुम्रपान सेवन नगरौं र आफूमा हुने परिवर्तन महसुस गरौं। हरेक दिन आजको २४ घण्टा म धुम्रपान सेवन गर्दिनँ तथा आजैबाट त्याग गर्ने प्रण लिऔं।

डाक्टर गुप्ता नेपाल मेडिकल कलेज, विरगन्जका बरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ हुन्।

प्रकाशित मिति: : 2020-05-31 16:50:00

प्रतिकृया दिनुहोस्