कोरोना नियन्त्रणमा चुक्दै कर्णालीः तयारी कम, फूर्ति बढी, स्थिति भयाभह बन्न सक्ने

कोरोना नियन्त्रणमा चुक्दै कर्णालीः तयारी कम, फूर्ति बढी, स्थिति भयाभह बन्न सक्ने

कर्णालीमा ढिलो गरी भए पनि कोरोनाको आगमन डरलाग्दो भयो। देशभर संक्रमितको ग्राफ बढिरहेको बेला कर्णाली पनि आफ्नो कोटा पुरा गर्ने म्याराथनमा छ।

विज्ञका अनुसार ठ्याक्कै यही कारण नभए पनि चीनको सी फुड मार्केटमा भाइरस म्यूटेसन भएर कोभिड –१९ बनेको र फैलिएको हो। तर चीनको वुहानमा बाहेक अन्य ठाउँमा आफैं बनेर फैलिएको छैन। यो संक्रमित व्यक्तिसँग सम्पर्कका कारण फैलिने हो।

नेपालमा पहिलो चरणमा तेस्रो मुलकबाट आउनेमा कोरोना संक्रमण देखिएको भए पनि दोस्रो चरणमा भारतबाट आउनेहरूमा संक्रमण देखिएको र फैलिएको हो।

कर्णालीमा पहिलो पकट जुम्लाको क्यारेन्टाइनमा खटिएका सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भयो। यससँगै संक्रमण तेस्रो पक्षमा पनि फैलियो। यस विषमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर निरेश थापा भन्छन्, ‘क्वारेन्टाइनको व्यवस्था कस्तो छ, त्यसले पनि प्रभाव पार्छ। त्यसलाई पनि ख्याल गर्नुपर्छ। व्यक्तिगत दुरी पनि कायम गर्न नसकिए जस्तो लाग्छ।’

मापदण्ड पुरा नगरी बनाइएका क्यारेन्टाइनहरुमा बाहिरबाट आउने मान्छेलाई राख्दा संक्रमण थप फैलनसक्ने बताउँछन्, अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्यूट फर बायोमेडिकल साइन्समा कार्यरत मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जिवाणु वैज्ञानिक सुदीप खड्का।

सुरक्षाका दृष्टिले सबैभन्दा संवेदनशील मानिने चौथो तह (बायोसेफ्टी लेभल –४) को प्रयोगशालामा काम गनर्ने उनी इभोला भाइरसको औषधि पत्ता लगाउने टोलीका सदस्य पनि हुन्।

उनले केही दिन अगाडि अनलाइनखबरसँगको एउटा अन्तर्वातामा भनेका थिए, कुनै मापदण्ड पूरा नगरी स्थानीय तहले बनाएका वार्डहरु धेरै जोखिमयुक्त हुन्छन्। यस्तो महामारीको बेला आइसोलेसन वा क्यारेन्टाइनमा बस्दा एउटा कोठामा एक जना मात्र बस्नुपर्छ। नत्र एकजना संक्रमित भेटिए भने अरु सबैलाई सर्ने सम्भावना उच्च हुन्छ। मापदण्ड नपुर्‍याई बनाएका वार्डहरु संक्रमण फैलाउने माध्यम बन्न सक्छन्।’

प्रदेश सरकारका अनुसार कर्णालीमा हालसम्म २९ हजार ३७ बेड क्षमताका दुई सय २७ क्वारेन्टाइन् सञ्चालनमा छन्। जहाँ राखिएका मान्छेहरुले सास्ती बेहोरिरहेका छन्।

क्यारेन्टाइन व्यवस्थापनमा कमजोरी

सुरक्षित भनिएका क्यारेन्टाइनहरुबाटै बढी जोखिम रहेका कारण संक्रमण फैलने डर बढेको छ। कर्णालीको प्रशासन, स्थानीय तह र प्रदेश सरकार समेतले बनाएका क्यारेन्टाइनहरु निकै कमसल रहेको त्यहाँ बस्नेहरुले बताइरहेका छन्।

मुगु सदरमुकाम गमगडीस्थित महाकाली नमुना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले खानपीनको समस्या रहेको गुनासो गरेका छन्। भारत तथा नेपालका विभिन्न स्थानबाट आएका ३ महिला र १७ पुरुष गरी २० जना मध्ये छायाँनाथ नगरपालिका १ की दुर्गा मल्लले भनिन्, ‘धमिलो खानेपानी पिउनुपरेको छ। धुलो र बालुवा भएको कोठामा म्याटमा सुत्नु परेको छ। चर्पी र बाथरुम समेत छैन। यस्तो ठाउँमा बस्दा आफ्नो स्वास्थ्य र सुरक्षित अवस्थामा घर फर्किन सकिने हो होइन भन्ने चिन्ता लागेको छ।’

उनीसँगै क्यारेन्टाइनमा बसेका छायानाथ रारा नगरपालिका-१२ का सागर परियारको गुनासो पनि  उस्तै छ, ‘सुरुका दुई दिन भोकभोकै बस्नुपर्‍यो। पछि घरबाटै खाना ल्याएर खाने गरेको छु।’

क्यारेन्टाइनमा बस्नु भनेको सम्भावित जोखिम टार्नु हो। तर दैलेखका क्यारेन्टाइनका मान्छेलाई पशुतुल्य नै  बनाइयो। भैंसी राख्ने गोठमासम्म राखिएको तथा क्यारेन्टाइनमा विभेद समेत भएको स्थानीय रण बहादुर विकले बिएल नेपाली सेवालाई जाकारी दिए।

‘ठाटीकाँध गाउँपालिकाले यहाँ भएको क्यारेन्टाइनमा भारतको मुम्बइ र उत्तराखण्डबाट आएकालाई व्यवस्थित रुपमा राखेको छ भने कैलाली जिल्लाबाट आएका सबैलाई एकै कोठामा राखेको छ। कोठामा ओछ्यान सल्लाको कुसुम छ। खानपिनमा पनि त्यस्तै विभेद छ। बिहान चिया छैन। नुहाउन पानी छैन। सबैलाई एकै ठाउँमा भेडा हुले जसरी हुलेको छ,’ उनले भने।

दैलेखमै आइतबार मात्रै आरडिटी पोजेटिभ आएका दुई जनालाई भैरवी गाउँपालीका –३ मा भैँसी बान्ने गोठ नजिक राखियो। कोरोना भाइरस संक्रमणको आशंकामा नारायण नगरपालिका स्थित नारायण क्याम्पसको क्यारेन्टाइनमा राखिएका व्यक्तिहरु सामाजिक दुरीलाई कुन चराको नाम जस्तो गरी सोमबार सामूहिक नाराबाजीमा उत्रिए। क्यारेन्टाइन छलेर एक जना सुगरका बिरामी दैलेखको जिल्ला अस्पतालमा जाँच गर्न पुगे।

यसरी कर्णालीमा रहेका क्यारेन्टाइनको व्यवस्थापनमा भएको लापरबाहीले भयाभह स्थिति आयो। सुर्खेत स्थित प्रदेश अस्पतालका एक चिकित्सकले नाम नबताउने शर्तमा भने, ‘भएका क्यारेन्टाइन भरिभराउ छन्। दैनिक तीनदेखि चार हजारसम्म मानिस भारतबाट भित्रिएका छन्। उनीहरुलाई नाकामा रोक्न सकिएको छैन। उनीहरुमध्ये कम्तिमा ४० प्रतिशतमा संक्रमण भएको आशंका छ। क्यारेन्टाइनको अभावमा उनीहरुलाई घर पठाइएको छ। समुदाय स्तरमा पनि संक्रमण फैलिसक्यो। संक्रमण हाम्रो नियन्त्रण भन्दा बाहिर जान थालिसक्यो। केन्द्र सरकारले हस्तक्षप नगरे संक्रमणले भयावह रुप लिने निश्चित छ। हामीसँग भएका क्यारेन्टाइन पनि सुरक्षित छैनन्।’

तयारी कम, फूर्ति बढी

केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल मात्रै नभई कर्णाली प्रदेशका मन्त्रीहरुले पनि क्यारेन्टाइन व्यवस्थित र सुरक्षित भएको घोषणा गरे। प्रदेशका मन्त्रीहरुले कर्णालीलाई ‘ग्रिन जोन’ मा राख्ने मात्रै नभई कोरोना मुक्त घोषणा गर्नुपर्ने समेत बताए। यही पृष्ठभूमिमा क्यारेन्टाइनमा  बसेकाले आफ्नो खानपिन र बसाइ अस्वस्थ तथा असुरक्षित भएपछि नाराबाजी गरे।

कर्णाली प्राविधिक शिक्षालय जुम्ला स्थित एकिकृत क्यारेन्टाइनमा संक्रमण भएका र नभएकालाई एकै ठाउँमा राखेको, उनीहरुको लागि शौचालय, धारो तथा बस्ने कोठा समेत एउटै भएपछि संक्रमणको खतरा बढेको त्यहाँ  खटिएका  स्वास्थ्यकर्मी उत्तम देवकोटाले बताए। क्यारेन्टाइनमा रहेका १९ जना मानिसहरूमा पोजेटिभ देखिए पनि दुई दिन पछि मात्र प्रतिष्ठानमा सारियो।

भारतबाट आफ्ना नागरिक कष्टपूर्ण तरिकाले गाउँ प्रवेश गरेको यथार्थलाई जिम्मेवार निकायले उपेक्षा गर्दै उनीहरुलाई राख्न क्यारेन्टाइनको ठोस गृहकार्य नगरेको स्थानीयको दुखेसो छ। आइतबार भारतबाट आएर जुम्ला बसपार्कमा झरेका ४२ जना नागरिकलाई जिल्लाका पालिका र स्थानीय प्रशासन समेत बसेर निर्णय गरेको एकिकृत क्यारेन्टाइनमा राख्नलाई स्थानीय सरकार र प्रशासन असफल भएपछि आफूहरुलाई उपेक्षा गरेको भन्दै उनीहरु सिधै घर हानिए।

चन्दननाथ १० की पुनि सार्कीले बिएल नेपाली सेवालाई भनिन्, ‘अस्ति आएका पाँच जनाले गाउँका सबैलाई छोइदिए। वडाले अवेर गरी उनीहरुलाई क्यारेन्टाइनमा राख्यो।’

जुम्लामा बाहिरबाट आउनेलाई क्यारेन्टाइनमा राख्न अदालतमा रिट हाल्ने र खारेज हुने स्थितिसम्म आयो। चन्दननाथ नगरपालिका भित्रको सार्वजनिक संरचना सामुदायिक विद्यालय, क्याम्पस लगायतका भवन क्यारेन्टाइन बनाउन खोज्दा।

लुलो सरकारी क्षमता

कर्णाली प्रदेशसभाका सदस्यहरूले कोरोना भाइरस कोभिड–१९ प्रतिकार्यमा पर्याप्त समय हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगर्दा कर्णाली थप जोखिम तर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरे।

प्रदेशसभा बैठकमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकार काम कम र हल्ला बढी गर्न लागेको आरोप लगाए। ‘कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुन लाग्दा समेत सरकार सुतिरहेको छ। समयमै आवश्यक तयारी नगर्दा कर्णाली थप जोखिमतर्फ धकेलियो,’ उनले भने।

तर प्रदेश सरकार आफ्नो कुनै गल्ती नभएको बताउँछ। सांसदहरुको प्रश्नको जवाफ दिदै सामाजिक विकास मन्त्री दल रावलले भारतबाट नागरिक आउने क्रम बढेकाले कोरोनाको जोखिम बढे पनि थुप्रै चुनौतीका बीच कोरोना नियन्त्रणमा प्रयत्न जारी राखिएको बताए।

‘भारतबाट नागरिक आफ्नो ठाउँमा आउन थालेपछि कोरोना संक्रमणसँगै आयो। सरकार रोकथाम, नियन्त्रण र उपचारमा लागि परेको छ,’ उनले भने, ‘यसका लागि सिङ्गो सरकार, सदन र नागरिकको सहयोग आवश्यक छ। हामीले आँकलन गरे भन्दा पनि बढी नागरिक भित्रिए पछि हाम्रो क्षमताले नभ्याएको हो।’

तर प्रदेशका अर्का एक मन्त्री भने मन्त्री रावलको उक्त विचारमा सहमत छैनन्। विद्यालय, सामुदायिक भवनलाई क्यारेन्टाइन बनाएका स्थानीय सरकारले संक्रमित र संक्रमण पुष्टि नभएकालाई एकै ठाउँमा राख्न बाध्य रहेको उनी बताउँछन्। ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित संक्रमित राखिएका क्वारिन्टनमा सयौंको संख्यामा संक्रमण पुष्टि नभएकालाई राखिएको छ। वास्तवमा संक्रमण फैलाउने माध्यम बनेका छन् क्यारेन्टाइन।’

कर्णाली प्रदेशको तथ्याङ्क अनुसार लकडाउन यता भारतबाट एक लाख ६९ हजार आठ सय ७५ जना भित्रिएका छन्। भारतबाट मानिस आएको दर हेर्दा कर्णालीमा मात्रै ८० देखि ९० हजारको पीसीआर      गर्नुपर्ने सरकारी अनुमान छ।

किट सकिदै, परीक्षण कठिन बन्दै

प्रदेश अस्पताल सुर्खेतमा रहेको एक र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रहेको एक पीसीआर मेसिनबाट हाल दैनिक तीन सयसम्म परीक्षण भइरहेको छ। सुर्खेतका फोकल पर्सन डा. केएन पौडेल भन्छन्, ‘हाम्रो क्षमता भन्दा बाहिर गएर परीक्षण गर्न असम्भव छ। परीक्षणका लागि अब केन्द्रले सहयोग गर्नुपर्छ। क्यारेन्टाइनमा जम्मा भएको स्वाब परीक्षण गर्न गाह्रो भएको छ।’

सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई कोरोना विशेष अस्पताल घोषणा गरेको छ। आफ्ना जिल्लाका संक्रमितलाई आफै राख्ने सरकारको नीतिका कारण स्रोतसाधन र जनशक्ति कम भएका विकट जिल्लाका अस्पताललाई संक्रमितको उपचारमा कठिनाई भएको छ। तथापी रुकुमको चौरझारीमा निर्मित कोरोना विशेष अस्पताल भने खाली छ। तर प्रदेश अस्पतालमा अब संक्रमित बढेमा भूँइमा उपचार गर्नु पर्ने स्थिति आउने सक्ने चिकित्सकहरु बताउँछन्।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रदेश अस्पताल गरी कर्णालीमा हाल पाँच सय ४० आइसोलेसन बेड छन्। तर संक्रमित बढ्लै जाने हो भने क्यारेन्टाइन या आइसोलेसनमा राख्न कठिन हुँदा ज्वरो आएकालाई अस्पताल राख्ने। बाँकी संक्रमितलाई घरमै जाउ भन्ने अवस्था आउन सक्छ,’ अस्पतालका एक चिकित्सकले भने।

आशा

केही समय अगाडि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले संकटको बेला खाली भएका होटल, रेष्टुरेण्ट, स्कुल कलेजहरुमा क्यारेन्टाइन बनाउन दिएर निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने लेखे।

तर हालसम्म पनि प्रदेशका ठूला व्यापारीहरु नबोलेको अवस्थामा डोल्पाको ठुलीभेरी नगरपालिका –३ का भिम न्यौपानेले क्यारेन्टाइन निर्माणका लागि आफ्नो घर निःशुल्क दिएका छन्। उनले वडा कार्यालयको अनुरोधमा दश वेडको क्यारेन्टाइन निर्माण गर्न मल्निे घर दिएका हुन।

‘देशमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा सार्वजनिक विद्यालयमा समेत क्यारेन्टाइन राखे भन्दै तोडफोड गरेका घटना बाहिरिरहेका बेला न्यौपानेले निसंकोच निःशुल्क घर दिएर स्थानीय सरकारलाई ठूलो सहयोग गर्नुभयो।’ वडा अध्यक्ष कर्ण न्यौपानेले भने।

प्रकाशित मिति: Jun 03, 2020 21:54:13

प्रतिक्रिया दिनुहोस