लिभरपुलले तीन दशकपछि लिग जित्दा पारसकाे मन प्रशन्न

शीर्ष लिगको उपाधिका लागि लिभरपुलको ३० वर्षको पर्खाई समाप्त भएको छ। लिभरपुलले यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्ने पक्का भएको छ। अहिले संसारभर रहेको यसका समर्थकहरु खुसी मनाइरहेका छन्।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल ७ खेल अगावै च्याम्पियन बनेको हो। लिभरपुलले समग्रमा १९ औँ पटक लिगको उपाधि जितेको हो। तर यो उपाधि सन् १९८९-९० को सिजनपछि पहिलो उपाधि हो।

लिभरपुलका धेरै खेलाडीले म्यानचेस्टर सिटीको खेलपछि उपाधि पक्का भएको खुशीयाली मनाएका छन्। यस्तै एनफिल्डमा जम्मा भएका लिभरपुलका समर्थकले पनि उपाधि जितेको खुशीयाली मनाएका छन्। त्यही लिभरपुलका फ्यान हुन नेपाली क्रिकेटर पारस खड्का।

नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान पारस खड्काले पनि आफ्नो प्रिय क्लबले तीन दशकपछि उपाधि जितेको खुसी मनाएका छन्। पारसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा लिभरपुलको जर्सी लगाएर खिचेको फोटोमा सामाजिक सञजालमा पोष्ट गर्दै ३० वर्षको प्रतिक्षा सकिएको बताएका छन्।

‘हामी लिभरपुल फुटबल क्लबको लागि आज ३० वर्षको प्रतिक्षा अन्त्य भएको छ। यो यात्रा अनौठो रह्यो र आशा छ आउने दिनमा अझै निरन्तर हुनेछ,’ पारसले फेसबुकमा लेखेका छन्,‘नेपाल फुटबलको होमबाट हामी फुटबलको उत्कृष्ट क्षण आउने दिनमा मनाउनेछौँ र ऐतिहासिक क्षण जस्तै खुसी मनाउनेछौँ।’

प्रकाशित मिति: : 2020-06-26 13:02:19

प्रतिकृया दिनुहोस्