बुधबार, १३ अगस्ट २०२५

प्रशान्त महासागरमा अमेरिकी प्रभाव रोक्न चीन आक्रामक, किरबातीमा दूतावास

News Image
• • •

चीनले आफ्नो आक्रामक नीतिलाई पुनः सुचारु गरेको छ। उसले कोरोना महामारीको बीच प्रशान्त महासागरमा रहेको अस्ट्रेलियाबाट प्रभावित देश किरबातीमा आफ्नो दूतावास स्थापना गरेको छ। 

प्रशान्त महासागरमा चीनलाई रोक्न अमेरिकासँग मिलेर काम गरिरहेको अस्ट्रेलिया बेइजिङको यो नयाँ कदमबाट सशंकित भएको छ। किरबातीका हालका राष्ट्रपति टेनेटी ममाउ बेइजिङ समर्थक मानिन्छन्। उनको यो दोस्रो कार्यकाल हो भने हालैको चुनावमा उनले जित हात पारेका थिए। 

किरबातीलाई अस्ट्रेलियाले सबैभन्दा बढी आर्थिक सहयोग गर्दै आइरहेको छ। प्रशान्त महासागरमा आफ्नो प्रभाव बढाउने उद्देश्य अनुरुप चीनले किरबातीमा दूतावास खोलेको हो। 

३३ वटा टापु मिलेर बनेको किरबातीमा यसअघि अस्ट्रेलिया, न्युजिल्याण्ड र क्युबाको मात्र दूतावास थियो। पहिले यो ताईवानसँग नजिक थियो तर बेइजिङले यहाँ आफ्नो उपस्थिति जनाएपछि ताईवानको प्रभाव कम हुने आङ्कलन गरिएको छ। 

गत जनवरीमा किरवातीका राष्ट्रपति टेनेटीले बेइजिङको ग्रेट हलमा चिनियँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका थिए। 

किरबाती चीनको लागि रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। किरबाती प्रशान्त महासागरमा एसिया र अमेरिकालाई जोड्ने ठाउँको रूपमा पनि परिचित छ। समुन्द्रको बाटो हुँदै व्यापार गर्न यो ठाउँ निकै महत्वपूर्ण छ। 

प्रशान्त महासागरमा हालसम्म अमेरिकाको उपस्थिति बलियो मानिन्छ। चीन अब अमेरिकालाई चुनौति दिन चाहन्छ। निकट भविष्यमा चीनले यो स्थानमा सैनिक अड्डा पनि बनाउने आशंका वाइट हाउसले गरेको छ। 
किरबातीलाई २०११–२०१७ को बीचमा अस्ट्रेलियाले ६ दशमलव २६ अर्ब डलरको आर्थिक सहयोग गरिसकेको छ। चीनले १४ वर्षदेखि किरबातीमा आफ्नो उपस्थिति जनाउन चाहेको थियो। सन् २००६ मा तत्कालिन चिनियाँ राष्ट्रपति बेन जियाबाओ किरबाती गएका थिए। उनले त्यति बेला आर्थिक प्याकेजको घोषणा गरेका थिए। किरबातीको जिडिपी ३३ दशमलव ७७ बिलियन डलर छ। 

कोरोना महामारीमा चीनले यो देशलाई निकै सहयोग गरिसकेको छ। भिडियो कन्फ्रेन्समार्फत चीनले किरबातीका मेडिकल स्टाफलाई ट्रेनिङ समेत दिएको थियो। यस्तै, मेडिकल सामाग्री पठाएको थियो। यहाँ कोरोनाको ३ सय १२ संक्रमित देखिएका थिए, जसमा ७ जनाले ज्यान गुमाएका छन्। 

चीनले आफ्नो प्रभाव क्षेत्रमा रहेको देशमा दूतावास स्थापना गरेपछि अस्ट्रेलिया आक्रामक बन्ने अपेक्षा गरिएको छ। अस्ट्रेलियाले किरबाती लगायत यहाँ रहेका १० देशलाई ६ दशमलव ९ करोड डलरको आर्थिक सहयोगको प्याकेज घोषणा गर्ने र किरबातीमा अस्ट्रेलियाको दुई चर्चित टिभी सोको सुरुवात गर्ने बताएको छ। भाषिक रूपमा किरबातीको जनतालाई आफूसँग जोड्न टिभी सो सुरु गर्न लागिएको हो। 

चीनले जसरी हङकङ, मकाउ र ग्वाङडोङलाई जोड्न समुन्द्री बाटो निर्माण गरेको थियो, त्यही अवधारणा अन्तर्गत अस्ट्रेलिया र न्युजिल्याण्डले प्रशान्त महासागरमा रहेका १० देशलाई जोड्न समुन्द्री बाटोको निर्माण गर्ने बताएको छ। 

अस्ट्रेलियाले फिजी, समाओ र सोलमन आइसल्याण्डमा पनि ध्यान केन्द्रित गरिरहेको छ। यसका लागि अमेरिकाले विशेष सहयोग गरिरहेको छ। अस्ट्रेलिया र न्युजिल्याण्ड प्रशान्त महासागरमा चीनलाई रोक्न ‘गेटकिपर’ को भूमिका निर्वाह गरिरहेका छन्।

आइतबार, असार १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)