नेकपा अध्यक्षको फरक सोफा, नेताभित्र पस्न नसकेको गणतान्त्रिक चेत

नेकपा अध्यक्षको फरक सोफा, नेताभित्र पस्न नसकेको गणतान्त्रिक चेत

अमेरिकाका सोह्रौँ राष्ट्रपति थिए– अब्राहम लिङ्कन । लिङ्कन त्यही रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनिएका थिए, जुन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प (४५औं राष्ट्रपति) ले जितेका हुन् । 

अमेरिकी समाज दासताको जञ्जिरमा जकडिएको थियो । लिङ्कन दासप्रथा अन्त्य गर्ने घोषणासहित राष्ट्रपति निर्वाचनमा होमिएका थिए । उत्तरी भेगको भारी समर्थनमा सन् १८६० को चुनावमा उनी राष्ट्रपति चुनिए । 

तीन वर्षपछि सन् १८६३ को नयाँ वर्षका दिन अमेरिकामा दासमोचनको घोषणा पनि गरे । त्यसविरुद्ध अप्रिल १२ मा गृहयुद्धको घोषणा भयो । जुन तीन वर्ष चल्यो । उनको हत्या हुनुभन्दा केही दिनअघि मात्र सन् १८६५ मा गृहयुद्ध पनि अन्त्य गरेको घोषणा गर्न सफल भएका थिए । 

लिङ्कनले गृहयुद्धताकाको नैतिक, संवैधानिक र राजनीतिक संकटका बेला देशको सफल नेतृत्व गरे । अमेरिकी अर्थव्यवस्थाको आधुनिकीकरण गरे ।  संघीयतालाई संरक्षण र सुदृढ पारे । प्रतिबद्धताअनुरुप दासताको अन्त्य पनि गरे तर दुर्भाव्य ! युद्ध अन्त्यको केही दिनपछि वासिंगटन डिसीस्थित फोर्ड थिएटरमा नाटक हेरिरहेका बेला दासप्रथा समर्थक कलाकार जोन विल्क्स बुथले उनीमाथि गोली हाने । भोलिपल्ट उनको मृत्यु भयो ।

लिङ्कनले भौतिक रुपमा संसार छाडेको १५६ वर्ष लागेको छ । संसारमा उनलाई सम्झने नयाँ पुस्ता जन्मेका जन्मेकै छन् । लिङ्कन र ट्रम्पका बीच अमेरिकामै अरु २८ जना राष्ट्रपति भइसके । एक–दुईबाहेक अरुलाई अहिलेको संसारले खासै सम्झँदैन । 

उल्लेख गर्न चाहेको खास विषय लिङ्कनको त्यो कुर्सीको हो, जुन ‘रेड चेयर’ मा बसेर जीवनको अन्तिम घडीमा नाटक हेरेका थिए उनले । लिङ्कनको उक्त कुर्सी अहिले अमेरिकाको मिसिगनस्थित डियरबोर्नको हेनरीफोर्ड म्युजियममा राखिएको छ । पाँच वर्षअघि अन्तर्राष्ट्रिय समाचार संस्था एपीले संप्रेषण गरेको समाचार अनुसार, उक्त सङ्ग्रहालयमा सबैभन्दा आकर्षण त्यही कुर्सीमा छ । त्यहाँ आउने दर्शक कुर्सी हेर्न झुम्मिन्छन् । 

‘सत्ताको सिंहासन’ का लागि द्वन्द्व हुन्छ । यो विश्वव्यापी शास्वत सत्य हो । नेपालमा भने पार्टीका बैठकदेखि सार्वजनिक समारोहका को सोफामा बस्ने, कसलाई गद्दावाल कुर्सी र कसलाई काठको कुर्सी भन्नेजस्ता आसनमा समेत विवाद, टीका–टिप्पणी भइरहने गर्छन् । 

पछिल्लोपटक आसनको विषय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा विवादित बनेको छ । नेकपा स्थायी कमिटीका तीन वटा बैठक बसे । सोफा र कुर्सी आकर्षक मुद्दा बनेको छ । विषय उठेपछि सचिवालय सदस्य बस्ने मञ्चका आसन तीनै दिन फरक–फरक बनाउनुपरेको छ । 

कम्युनिजमलाई व्यवहारमा प्रयोग गर्ने अग्रणी विद्वान थिए– भ्लादिमिर इलिच लेनिन । जारशाहलाई परास्त गरी रुसमा कम्युनिष्ट शासन स्थापना गर्ने त्यहाँका पहिलो राष्ट्रपति पनि उनै हुन् । संसारका कम्युनिष्टका गुरु उनैको नामबाट ‘लेनिनवाद’ बनेको हो । 

क्रान्तिकालमा बोल्सेभिक पार्टीका नेता उनी ग्रामीण भेगमा थिए । भुइँमा बसेर लेख्थे– क्रान्तिकारी दर्शन । त्यहाँ नेकपाका वर्तमान सचिवालयका नेताले विवाद गरेजस्तो कुर्सी–टेबल वा सोफा पाउने कुरै थिएन । लेख्दालेख्दै लेनिनको ढाड दुख्ने भयो । स्थानीय किसानले पिर्कामा बसेर लेख्न सजिलो होस् भनेर काठकै चिर्पटबाट सानो टेबल बनाइदिएका थिए । उनले ‘लेनिनवाद’ का कयौँ दर्शन त्यही पिर्कामा बसेर लेखेका थिए ।

राजा र रैतीको आसन !

नेपालमा भने आसनका आधारमा को ठूलो वा सानो भनेर चिनाइने चलन छ । ०६३ सालभन्दा अघि राजतन्त्र छँदा दरबारमा राजासँग दर्शनभेटका लागि जाँदा राजालाई लचकदार कौच र नेतालाई कमसल आसनको व्यवस्था हुन्थ्यो । अझ तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग नेपाल टेलिभिजनका लागि अन्तर्वार्ता लिने अग्रज पत्रकार (स्व.) दुर्गानाथ शर्मा बसेको काठको कुर्सी सबैको आँखा बिझाएको थियो । 

राजतन्त्र छँदा राजाको दर्शनभेटका लागि जाने नेतालाई पनि ‘रैती’ कै व्यवहार हुन्थ्यो– आसनमा । प्रजातन्त्रपछि ‘प्रजा’ र ‘रैती’ फेरिएर कानूनी रुपमा ‘नागरिक’ बने तर व्यवहारमा आसन फेरिएन । राजा लचकदार कौचमा बसेर ‘दर्शनभेट’ दिँदा समेत दर्शनार्थीलाई दिने आसन चाहिँ काठको कुर्सी हुन्थ्यो । बैठक कक्षका सारा सोफा खाली हुन्थे । यस्तो लाग्थ्यो– मिल्ने भए काठको पिर्का दिन्थे होलान् । 

गणतन्त्रपछि राजाका बन्धुखलकको चौतारिया र साहेबज्यूजस्ता पद समाप्त भइसकेको छ । राजतन्त्र रहँदा राजाका सात पुस्ताभित्रका चौतारिया र साहेबज्यूहरुका पनि जनताका नजरमा राजा नै बन्न खोज्थे । बक्स्योस् र राजासाहेबको सम्बोधन खोज्ने ती ‘बाबुसाहेब’ का घरमा भेट्घाटका लागि जाने मान्छेलाई बसाइने आसनको भेद रोचक हुन्थ्यो । कसलाई कति भित्रसम्म लैजाने वा नलाने गरी आसन राखिएका हुन्थ्यो ।

 मधेशी समाजमा त यो अझ चर्कै छ । ‘गिरहत’ खाट वा कुर्सीमा बस्दा उनीहरुका हरुवाचरुवा अर्को कुर्सी खाली भए पनि त्यसमा बस्न पाउँदैनन् । उनीहरु बिनाआसनको भुइँमा टुक्रुक्क बस्छन् । सामन्तवाद सबैभन्दा बढी रहेको मधेशमा यो कायमै छ । मधेश केन्द्रित दलसँग एकता गरेरका पूर्वप्रधानमन्त्री  डा. बाबुराम  भट्टराई संसद्काे दोस्राे कुर्सीमा सारिएका छन् । उपेन्द्र यादव र महन्थ ठाकुर अग्रआसनमा बस्छन् । जुन अशाेभनीय छ । नेपालमाथि भारतले नाकाबन्दी गरेको बेला भारतको बिहार राज्यका नेता पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवसमक्ष मधेश केन्द्रित दलका नेताहरुको सामूहिक भेटको तस्विरले पनि त्यसबेला ठूलै चर्चा पाएको थियो । 

सत्तामा पुगेका मन्त्री र सल्लाहकारले आफूअघिका पदासीन बसेको कुर्सी नै बदलेका घटना पनि छन् । ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछिकी कृषिमन्त्री शैलजा आचार्यले आफूअघिको अन्तरिम सरकारका कम्युनिष्ट पार्टीका कृषिमन्त्री झलनाथ खनाल बसेको कुर्सी नै फेर्न लगाएर पदबहाली गरेको चर्चा त्यस बेला राजनीतिक वृत्तमा भएको थियो । 

रामचन्द्र पौडेल कांग्रेस संसदीय दलको नेता चुनिएपछि उनीसँग पराजित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसनकै कारण लामो समय संसद् बैठकमै गएनन् । तत्कालीन सभामुख सुवास नेम्वाङले यो अप्ठेरोको गाँठो फुकाइदिए । कांग्रेसको लहरमा एकछेउकाे आसनमा नेता पौडेल र अर्को छेउको कुर्सी देउवाका लागि तोकिदिए । त्यसपछि देउवा संसद् जान थालेका थिए ।

कम्युनिष्ट पार्टीमा कुर्सी चेत 

दरबार त ‘सामन्तवादको स्रोत’ नै भयो तर अहिले कम्युनिष्ट पार्टीका बैठकमा पनि को कुन स्तरको कुर्सीमा बस्ने भन्ने तय हुन्छ । नेकपा बैठकमा पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका लागि बेग्लै आसन हुन्छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि आसन फेरिइरहन्छ । प्रधानमन्त्रीसँग कुरो मिल्दा एउटा आसन हुन्छ । विवाद बढ्यो, आसन फेरिन्छ । 

सचिवालयको गत मंसीर ४ गतेको बैठकबाट ‘कार्यकारी’ भूमिका पाएपछि पनि उनी कुनै बैठकमा प्रधानमन्त्री ओलीसँगै जुम्ल्याहा उस्तै सोफामा बसेर बैठकको सहअध्यक्षता गर्न पाएका देखिन्छन् भने कहिले वरिष्ठ नेता माधवकुमार नेपालको छेउमा उनीजस्तै आसनमा । अध्यक्ष ओलीजस्तै आसनमा बस्दा उनी प्रफुल्ल देखिने र नेपालजस्तै आसनमा राखिदिँदा उनको मन खुम्चने गरेको नेकपा वृत्तमा बताइन्छ । नेपालछेउको आसनमा बसेको बैठकका समाचारमा पनि प्रचण्डनिकट ‘सञ्चारमाध्यम’ ओलीकै समान आसनमा बसेको फाइल फोटो छापिनु यही मानसिकताको परिणति हो ।

नेकपाको असार १० देखि बसेका तीनवटा बैठकमध्ये पहिलो दिनको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको लागि मञ्चमा सोफा थियो । अध्यक्षद्वयका दुईतिर राखिएका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका लागि कुर्सी थियो । कुर्सी अध्यक्षकै लाइनमा राखिएजस्तो देखिए पनि अलिकति पछाडि थियो । खनाल त कुर्सीमा चूपचाप बसे तर पार्टीभित्रका तेस्रो शक्तिशाली नेता नेपालले त्यसलाई पचाएनन् । कुर्सी अघि सार्न लगाएर बसे । सचिवालयका बाँकी पाँच जना सदस्यहरु चाहिँ उनीहरुभन्दा पछिल्लो लहरमा बसेका थिए । 

पहिलो दिन अर्थात् असार १० को बैठकमा नेपालले कुर्सी अघि सार्न लगाएर बसे । त्यसको दुई दिनपछि बसेको असार १२ को बैठकमा नेपाल पक्षकै नेता भीमबहादुर रावलले आसन व्यवस्थापनप्रति कडा विरोध जनाए । बैठककै बीचमा आसनमा हेरफेर गरी अध्यक्षसहित सबैलाई कुर्सीमा बस्ने व्यवस्था गरियो । सोफा हटाइयो । अनि यो चर्चाका विषय पनि भयो । तेस्रो दिनको आसन व्यवस्थापन गर्दा अध्यक्षसहित सबैलाई कुर्सीमा बसाइयो । (हेनुृस्  पहिलो र तेस्रो बैठकको तस्विर)

नेकपाका गत छ महिनाका बैठकमा प्रचण्डको आसन परिवर्तन रोचक देखिन्छ । यो प्रधानमन्त्री केपी ओलीकै आदेशमा त अवश्य हुँदैनहोला तर उनको सचिवालयका व्यवस्थापनले यस्ता कुरामा अनावश्यक चासो दिएको देखिन्छ । 

सचिवालयका कर्मचारीको कुर्सी व्यवस्थापनको व्यवहारबाट बेलाबखत प्रधानमन्त्री, कतिपय घटनामा संवैधानिक हैसियतको राष्ट्रप्रमुखको भूमिकामा रहने राष्ट्रपतिको पनि सामाजिक सञ्जालमा खिल्ली उडाइएका घटना प्रशस्त छ्रन ।

गत वर्षको दशैंको टीका लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरिरहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले उनी समक्ष घुँडा टेकेको तस्विर ‘भाइरल’ भएको थियो । 

ठीक एक वर्षअघि असार १४ गते काठमाडौंको कोटेश्वरमा वन मन्त्रालयले आयोजना गरेको ‘वृक्षारोपक्ष शुभारम्भ कार्यक्रम’ मा ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशीसमेत मन्त्रीहरुको लहरभन्दा अगाडि प्रधानमन्त्री ओली एक्लै सोफामा बसेको विषयको पनि ठूलो आलोचना भएको थियो ।

आलोचना भइरहन्छन् तर संविधानले सबै नेपालीलाई समान बनाइसकेको भन्ने चेत कसैमा छैन । लोकतन्त्रमा सबैभन्दा ठूला जनता हुन् भन्ने आधारभूत कुरो व्यवहारमा कसैले महसुस नगर्दाको समस्या हो यो । आलोचना बढिरहेको छ तर कुर्सी भेद पनि घटेको छैन । नेकपा बैठकमा कुर्सीभेदबारे आवाज उठाउने भीम रावल नै प्रमुख अतिथि भएका कार्यक्रममा उनी फरक सोफामा बसेको भेटियो भने आश्चर्य मान्नु पर्दैन ।

एकताका चलेको थियो– नेताहरुले आफूलाई वरिष्ठ देखाउन कार्यकर्ताबाट ठूल्ठूला माला ग्रहण गर्ने । घाँटीदेखि लगाएको मालाको चाङले आँखा छोपुञ्जेल लगाउने । कति किलोको मालाले अभिनन्दन गर्ने भन्नेमा सम्म नेताहरुबीच प्रतिस्पर्धा हुन्थ्यो । जुन तीव्र आलोचनापछि अहिले घटेको छ । 

देश गणतन्त्रमा छ । घाँसको डोको बोकेर  स्कुल पढेकी नेपालीकी एक जना छोरी विद्या भण्डारी राष्ट्रपति भएकी छिन् । उनलाई किन राजाले जस्तै बढी तामझाम गर्नुपर्‍यो र ? समाजले सादगी शैलीलाई समर्थन गर्छ भने उनको यात्रामा सडक नै सुनसान बनाउनु जरुरी पर्दैन । लचकदार कौचमा राखेर चाँदीको चम्चाले खुवाएर हुर्काएको ‘अभिजात वर्ग’ बाट आएका राजाकै नक्कल गर्ने सबै काम तत्काल बन्द गर्नुर्छ । ‘राजाको सेवा’ गर्दै आएकाले जानेकै त्यही छ, त्यही सेवा गर्छन् । यी विषय ‘सम्माननीयज्यू’ हरुलाई पहिला थाहा नहुन सक्छ तर जब देखिन्छ त्यसपछि बोध हुनु जरुरी छ । गल्ती दोहोरिनु हुँदैन । राष्ट्रपति विमानस्थल जाँदा सडक खाली वा हेलिकप्टरको व्यवस्था गदाए भद्दा मजाक भएको थियो । राजाजस्तै बग्गी चढेर संसद् जगई गाडीमै जाँदा सुहाएको छ । 

गणतन्त्र जनताले त्यतिबेला अनुभूत गर्छन्, जब छिमेकको घरमा बिजुलीको लाइन जाँदा सँगै राष्ट्रपति कार्यालय पनि अँध्यारो हुन्छ । बालुवाटार क्षेत्रमा खानेपानी नआउँदा त्यसै क्षेत्रका प्रधानमन्त्री, प्रधानन्यायाधीश वा सभामुखनिवासमा पनि त्यसको प्रभाव देखिन्छ । त्यसो भयो भने जनताका समस्याबारे राज्यका उच्च पदस्थले जानकार हुन्छन् । अनि छिटो समस्या हल हुनसक्छ ।   

आम नेपालीको बीचबाट आएको हलोकोदालो भोगेका व्यक्ति प्रधानमन्त्री हुनु तल्लो वर्गका लागि खुशीको कुरा हो । उनको ध्यान हिजो सँगै हलोजोत्ने किसानलाई प्राथमिकता दिनेमा केन्द्रित हुनुपर्छ । उनको सचिवालयको व्यवस्थापनको ध्यान त्यसमा सघाउनेमा हुनुपर्छ । उनको पार्टीको शीर्षनेतृत्वको ध्यान त्यसतर्फ हुनुपर्छ तर ठूलो कुर्सी कि सानो कुर्सी राख्ने वा त्यसमा हानाथाप गर्नका शक्ति खर्च भइरहेको छ ।  कुर्सी भेदका चर्चा कदम कदममा सुनिन्छ । बालुवाटारमा भएको सचिवालयमा गरिएको कुर्सी भेदको टिप्प्णी त गुटगत अन्तरको अभिव्यक्ति हो । 

जनताको पक्षमा काम नगर्ने हो भने जतिसुकै ठूलो र महंगो कौचमा बसे पनि त्यसको अर्थ हुँदैन । फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसकी पत्नी इमेल्डाको साथमा जति हजार जोर आधुनिक जुत्ता भए पनि उनलाई समाजले ‘ठूलीमान्छे’ भनेर स्मरण गरेको छैन । उनीहरु संसारमा कुकर्मी शासकका उदाहरण बन्दै आएका छन् । जुत्ता सिलाएर जीविकोपार्जन गर्ने श्रमजीवी पिताका पुत्र अब्राहम लिङ्कन अहिले पनि संसारभरिका विद्यालय शिक्षामै पढाइने आदर्श नाउँ बनेको छ । लिङ्कन मात्र होइन, हत्याको डेढ सय वर्षपछि पनि उनी बसेर अन्तिम क्षणमा नाटक हेरेको कुर्सी समेत श्रद्धाको विषय बनेको छ । 

यसको कारण उनी ठूलो कुर्सीमा बसेका कारण अवश्य भएको होइन, अमेरिकाबाट दासप्रथाको उन्मुलन र अर्थतन्त्रको आधुनिकीकरण गरेको परिणति हो । म कस्तो कुर्सीमा बस्न पाएँ, अध्यक्ष र वरिष्ठ नेता कस्तामा बसे ? प्रधानमन्त्री कस्तो कुर्सीमा बसाउने, अरुलाई कस्तो आसन राख्ने ? यसतर्फ बढी ध्यान केन्द्रित भएको छ । पछिल्लो समय नेकपाभित्रको ‘फरक सोफा’ विवाद  राजतन्त्रले छाडेकाे सामन्तवादकाे निरन्तरता हो । नेतृत्वमा गणतान्त्रिक चेत पस्न नसक्दाको परिणाम हो । पिर्कामा बसेर लेनिनले लेखेका सिद्धान्तका अनुयायी ‘लेनिनवादी’ भित्र लेनिनवादले बास नगर्दाको फल हो । आसन गौण हो । मुख्य विषय त्यो आसनमा बसेर गरिने निर्णय हो । अमर र स्मरणीय आसनले बनाउँदैन, जनहितमा निर्णय गर्ने हो भने त्यो नेता बसेको आसन समेत पुस्तैपुस्तासम्म श्रद्धेय हुनेछ, जसरी लिङ्कनको आसन हुनसकेको छ । 

प्रकाशित मिति: Jun 29, 2020 19:33:26

प्रतिक्रिया दिनुहोस

सबै