सन्दीपले सीपीएल जमैका तलावाजबाट खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन्।

सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो। सन्दीपले आफ्नो न्यूनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका थिए।

यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक  महँगो मूल्य हो।  

सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो।

सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्। उनले सन् २०१८ मा सीपीएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए।

दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए। उनले कुल ८ विकेट लिए। सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो। 

सीपीएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ। यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ। 

सीपीएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो। हरेक टिमले अधिकतम ५ खेलाडी अनुबन्ध गर्न पाउनेछन्।

अष्ट्रेलियाका क्रिस लिनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सले अनुबन्ध गरेको छ। अफगानिस्तानका रशिद खान र काइस अहमदले बार्बाडोस ट्राइडेन्ट्स र गुयाना एमेजन वारियर्सबाट खेल्ने छन्। दक्षिण अफ्रिकी राइली रुसोलाई सेन्ट लुसिया जुक्सले अनुबन्ध गरेको छ।

अन्य विदेशी खेलाडीमा न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्टले ट्रीनबेगो नाइट राइडर्सबाट खेल्नेछन्। दक्षिण अफ्रिकी स्पिनर तबरेज शाम्शीले जमैका तलाहवजबाट खेल्नेछन्। यता अफ्रीकाकै एनरिक नोर्टजेले जुक्स र रासी भान डर डुसेनले प्याट्रीयट्सबाट खेल्नेछन्।

प्रकाशित मिति: : 2020-07-07 05:35:53

प्रतिकृया दिनुहोस्