एक कप चिया नखाई बालबालिका लक्षित चार महिने रेडियो कक्षा (भिडियो)

 स्वयंसेवा –३ 

भर्खर जुँगाका रेखी बसेका छन्। गेटअप हेर्दा पुरै सहरीया छ। कपाल कोरियन छ। बोलीको लवजमा अंग्रेजीपन छ। स्वभाव अंग्रेजी गीत सुन्ने र हिन्दी सिनेमा हेर्न मन पराउने छ। जसलाई आफ्नै माटोको माया लाग्छ।

०००

यसरी माटोको माया मान्ने केटा हुन्, जुम्ला तिला गाउँपालिका-३ कुडारीका अमरनाथ योगी। उनी हाल अशोक नमुना प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षक छन्। अघिल्लो वर्षसम्म स्तर खस्केर रसातलमा पुगेको उक्त विद्यालय यो वर्ष हराबरा छ।

विद्यालय यसरी हराबरा हुनुमा विद्यालय व्यवस्थापन समितिको इच्छा शक्ति र थपिएका उनी जस्ता सिर्जनशील शिक्षकहरुको महत्वपूर्ण देन छ।

अघिल्लो साल मात्र, चार जना विद्यार्थी थिए। ती पनि निकै कम आम्दानी भएका अभिभावकका छोराछोरी। हाल भने अशोक नमूनामा आर्थिक अवस्था राम्रो भएकाका छोराछोरी पनि अध्ययन गरिरहेहको छन्। गनेर भन्दा एक सय असी जना विद्यार्थी छन्। अब विद्यालय सबै जातको फूलबारी भएको छ।

यही शैक्षिक सत्रदेखि पढाउन सुरू गरेका अमरनाथले मात्र दुई महिना पढाएका थिए, संसारभर कोरोना भाइरसको त्रासले विद्यालय बन्द भए।

भर्खर सुरू गरेको निजी स्रोतको जागिरवाल उनी कामविहीन भए। विद्यालय निकै राम्रो हुन आँटेको थियो। विद्यार्थी टाँठा हुन लागेका थिए। अभिभावकको प्रतिक्रिया एक पछि अर्को गरेर राम्रो आइरहेको थियो। उत्साह ‘दिन दुई गुणा, रात चौगुणा’ बढिरहेको थियो। ठिक त्यही बेला विद्यालय बन्द भयो।

अमरको उत्साहमा ब्रेक लाग्यो। यसरी रोकिएको यात्रा कहिले सुचारू हुने हो यकिन नै भएन। मनमा आशंकायुक्त प्रश्न थियो, यात्रा ब्रेक लागेको लाग्यै हुने पो हो कि? एक साता त उनको जिउ झर्‍याङ झर्‍याङ गर्दै बित्यो।

सुरूमा धेरै मान्छेलाई लकडाउन दुई साताभन्दा बढी नजाला भन्ने लागेको थियो। कोरोना लागे, नलागेको थाहा पाउन दुई हप्ता लाग्छ भन्ने थियो। संक्रमण देखिएका जति उपचारमा खटिएपछि विस्तारै ठिक होला भन्ने थियो। तर परिणाम सोचेको भन्दा विपरित निस्कियो। अब त खुल्छ होला भन्दा भन्दौ खुल्ने सम्भावना निश्चित भएन। 

०००

लकडाउनले विद्यालय सञ्चालनलाई असम्भव बनाइदियो। विद्यार्थी अभिभावक बीच स्थापित भएको सुमधुर सम्बन्ध टुटिसकेको थियो। विद्यार्थी, शिक्षक र अभिभावक तीनै पक्षको सम्बन्ध नभएपछि विद्यालय, विद्यालय जस्तो भएन। भएका शिक्षकको खासै काम थिएन।

‘सँधै यस्तै पो हुने हो कि भन्ने पीर लागेको बेला केही त गर्नैपर्छ जस्तो लाग्यो,’ अमरले भने, ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, हामी बसेर विद्यार्थी र अभिभावकसँग जोडिने वैकल्पिक उपायको खोजी गर्‍यौं।’

त्यही बीचमा उपाय निस्कियो, ‘बालबालिकालई लक्षित गरी रेडियोमार्फत कक्षा सञ्चालन गर्ने।’ विद्यालयले रेडियो खुला आकाशसँग समन्वय गर्‍यो। त्यसपछि सुरू भयो रेडियो कार्यक्रम ‘सुनापढी’। रेडियोमा कार्यक्रम सञ्चालनबारे थोरै अनुभव भएका अमर नै थिए।

अमरले रेडियोबाट पढाउने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीले हरेक दिन एउटा बाल कथा सुनाउने गरी कार्यक्रमको खाका तयार भयो। अमरसँग विगतमा रेडियोमा काम गरेको अनुभव पनि थियो।

उनी आइएस्सी पढ्ने बेलादेखि मिडियाप्रति आकर्षित थिए। रेडियो कार्यक्रम प्रस्तोता बन्ने लक्ष्य थियो। त्यही अनुसार नेपालगन्जको बागेश्वरी एफ.एममा रेडियो तालिम पनि लिए। पछि नेपालगन्जकै रेडियो भेरी एफ.एममा काम गर्ने अवसर पनि मिलेको थियो तर नागरिकता नभएको कारण काम फुत्कियो। 

उनी बिएस्सी पढ्न काठमाडौं गएको बेला गुड न्युज एमएममा काम गर्ने अवसर मिल्यो। उनले एक वर्ष काम गरे। त्यही अनुभव हाल उनले काम गरिरहेको विद्यालयले रेडियो कक्षा सञ्चालन गरेको बेला काम लाग्यो। ‘सानैदेखिको रूचिको विषय, त्यसमाथि अनुभव थपिएको थियो। विद्यालयले आग्रह गर्दा नाई भन्ने कुरै थिएन,’ उनले भने।

काठमाडौंमा क्याम्पस तहको अध्ययन गर्दा गर्दै एक वर्ष गुड सेफर्ड विद्यालयमा पढाउनेका काम गरे। तर उनलाई काठमाडौं बस्न मन लागेन। ‘त्यसपछि केही गर्न सकियो भने आफ्नै गाउँठाउँमा गरौंला भनेर जुम्ला फर्किएँ,’ उनले बिएल नेपाली सेवासँग भने, ‘जुम्लामा निजी शिक्षण संस्थामा काम गर्ने अवसर मिल्यो। सायद माटोको माया यसरी नै गर्नुपर्ने थियो होला।’

उनले एसिया इन्टरनेशनल र सेन्ट पल जस्ता निजी विद्यालयमा लामो समय काम गरे। त्यसपछि सरकारी विद्यालय अशोक नमुनामा निजी स्रोतको शिक्षक भएर अध्यापन गराउन थालेको केही समयमै विद्यालय बन्द भयो। केही गर्नु पर्छ भनेर विग्रेको विद्यालय अशोक नमुनामा आएका उनले केही गर्नै पाएनन्। तर रेडियो कार्यक्रम सुनापढी मार्फत कक्षा सञ्चालन गर्दा, उनको अनुभव र ऊर्जाले राम्रै काम गर्‍यो।  

अनि सुरू भयो बालबालिका लक्षित रेडियाे कार्यक्रम। सरकारले दोस्रो पटक लकडाउन घोषणा गर्दा उनीहरुले पहिलो पटक रेडियो कक्षा सञ्चालन गरेका थिए।

‘हाम्रा विद्यार्थी र अभिभावकसँग नियमित सम्पर्क भइराखोस् भनि रेडियो कक्षाबारे सोचेका हौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीले भने, ‘अमरनाथ सरको पढाउने र रेडियोमा बोल्ने दुबै काममा राम्रो अनुभव भएकै कारण यो सम्भव भयो।’

रेडियो कक्षा हरेक दिन चल्यो। प्ले ग्रुपदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरी पढाउन थालियो। विभिन्न विषयको ज्ञानलाई रोचक ढंगले रेडियोबाट प्रसारण गर्न थालियो।

रेडियो कक्षाका सामग्री, विज्ञान, अंग्रेजी, गणित जस्ता विषयको आधाभूत जानकारी गराउने खालका थिए। जसले गर्दा लामो समय विद्यालय शिक्षाबाट विमुख भएका विद्यार्थीलाई विषयवस्तुको स्मरण गरिराख्न सहज हुने थियो। हरेक दिन फरक–फरक खालको बालकथा प्रस्तूत गरिन्थ्यो भने बाँकी रहेको समय बालबालिकाको फोन लिएर उनीहरुका रचना बाचन गराउने गरिएको थियो। जसले गर्दा बालबालिकाहरु सिकाइ प्रक्रियामा आफ्नो पनि प्रत्यक्ष सहभागिता रहेको महशुस गर्थे।

रेडियोबाट पढाउने कार्यक्रम भएको हुनाले अशोक नमुनाका विद्यार्थीले मात्र लाभ लिएनन्। रेडियो सुनिने ठाउँसम्मका विद्यार्थीहरुले पनि लाभ लिए। ‘जुम्लाको सिँजा दराका विद्यार्थी बाहेक सबै क्षेत्रका विद्यार्थीले कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाए। उनीहरुले आफ्ना रचना वाचन गरे र आफ्नो मनमा अध्ययन सम्बन्धि भएका जिज्ञासा र अलमलहरु सोधे,’ अमरले भने, ‘हामीले उनीहरुको भोक मेटाउने र अमलमल क्लियर गराउने कोशिस गर्‍यौं।’

कार्यक्रम चार महिना निरन्तर संञ्चालन भयो। यो अवधिमा रेडियो सुन्ने बालबालिकाको संख्या पनि ह्वात्तै बढेको रेडियोका स्टेशन म्यानेजर रतन नेपालीलाई लागेको छ। ‘हामीले बालबालिका केन्द्रित साप्ताहिक कार्यक्रम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘तर पढाउने कार्यक्रम नै थिएन। अशोक नमुनासँगको सहकार्य पछि भएको कार्यक्रकले रेडियो सुन्ने र लाभ लिनेको संख्या बढेको हामीले विभिन्न ठाउँबाट जानकारी पायौं।’

रेडियो कक्षाको अर्को महत्वपूर्ण उपलब्धि भनेको विद्यार्थीका उत्कृष्ट रचनाहरुको संकलन हो। ‘उनीहरुले वाचन गरेका उत्कृष्ट रचनाहरु संकलन गरिएको छ,’ अमरले भने, ‘विद्यालयमा कुरा भइरहेको छ। हामी संकलित रचनाहरुको एउटा पुस्तक प्रकाशन गर्ने तयारीमा छौं।’

यसरी वाचन गरिएका रचनाहरुको मूल्यांकन गरी पुरस्कार वितरण पनि गरियो। पुरस्कारको व्यवस्था होटल खड्का जीले गरिदिएको थियो।

रेडियोबाट पढाउन थालेपछि विद्यार्थीहरुले अमरसँग नियमित सम्पर्क गर्न थाले। अभिभावक पनि उनीसँग सम्पर्क गरिरहन्थे। हाल कार्यक्रम रोकिएको छ। सुनापढी चलिरहेकै बेलामा सामुदायिक सूचना नेटवर्कको रेडियो कक्षा प्रसारण हुन थालेपछि कार्यक्रम रोकिएको अमरले बताए।

यही बेला विद्यार्थी र अभिभावक उनलाई फोन गरेर कार्यक्रम किन रोकियो भनेर सोधिरहन्छन्। हामीलाई पढाउनु पर्‍यो भनिरहन्छन्। ‘अब कार्यक्रम रोकियो भन्छु। उनीहरु केही निराश हुन्छन्। छिटो विद्यालय लागेको भए विद्यार्थीलाई पढाउनु हुन्थ्यो,’ उनले भने, ‘अब त विद्यार्थीहरुको याद पनि आउन थालिसक्यो।’

सुरूदेखि रेडियोमार्फत कक्षा सञ्चानल गर्दा उनले एक पैसा लिएनन्। न उनलाई विद्यालयले दियो नत रेडियोले नै। उनले पैसाको आश गरेका पनि थिएनन्। ‘पैसा त के एक गिलास चियाको पनि आश थिएन,’ उनले भने, ‘दूरीका हिसाबले टाढा रहेका विद्यार्थीसँग नियमित सम्पर्कमा रहन पाएँ, यही मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो।’

यसरी स्वयंसेवी भएर कार्यक्रम सञ्चालन गर्दा उनलाई व्यक्तिगत रुपमा एउटा फाइदा भयो। उनले राम्ररी पढाएका हुनाले उनी नगरपालिकाले सञ्चालन गरेको रेडियो कक्षा कार्यक्रममा छनोट भए। कक्षा रेडियो नारी आवाजबाट सञ्चालन गरिएको थियो। त्यसबेला उनले पारिश्रमिक पनि पाए।

समग्रमा उनको प्रभाव राम्रो रह्यो। उनले गरेको सेवा भावनाबाट उनलाई औधि सन्तुष्टि मिलेको छ। उनी आफ्नो मन चंगा भएको भन्छन्। ‘आफ्नै माटोमा आफ्नाहरुको लागि केही गर्ने सोच यसरी पनि पुरा हुँदो रहेछ,’ उनले भने, ‘विद्यार्थीले के सिकेका छन्, त्यो आउँदा दिनहरुमा देखिएला।’ 

यो पनि हेर्नुहोस्

हिमालमा मधेसी न्यानो 

बाइक एम्बुलेन्स बनाएर बिरामी बोक्ने केटो- हरेक बिरामीमा आमाको अनुहार देख्छु (भिडियो)

प्रकाशित मिति: Jul 08, 2020 07:38:59

प्रतिक्रिया दिनुहोस